भ्रमण वर्ष सचिवालय र मिडिया सोसाइटीबीच समझदारी



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल मिडिया सोसाइटी र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको छ। समझदारी पत्रमा भ्रमण वर्ष २०२० सम्बन्धी कार्यक्रम तथा क्रियाकलापलाई नेपाल मिडिया सोसाइटीमा आबद्ध सञ्चार माध्यमले प्रकाशन र प्रसारण गर्ने सहमति भएको छ।नेपाल भ्रमण वर्ष २०२० उद्घाटनलगायत मुख्य कार्यक्रम सवै टेलिभिजनहरूले प्रत्यक्ष प्रसारण गर्ने पनि सम्झौता पत्रमा उल्लेख छ।

उक्त समझदारीमा कार्यक्रमको तयारी र पर्यटकीय गन्तव्यस्थलको वृद्धि गर्न भ्रमण वर्ष सचिवालयको समन्वयमा विशेष बाइट, रिपोर्ट तथा अन्तरवार्ता प्रकाशन प्रसारण गर्ने, नेपालको सकारात्मक छविलाई बाह्य देशमा स्थापित गराउने उद्देश्यका साथ आसन्न भ्रमण वर्ष २०२० पूर्व तयारीका साथै समष्टिगत विषयहरू समेटेर समाचार तथा विशेष रिपोर्ट प्रकाशन गरिने जनाइएको छ।

सञ्चार गृहलाई पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डबाट आवश्यक सामग्री तथा सूचना उपलब्ध गराउने पनि सहमति भएको छ।

भ्रमण वर्ष २०२० का सन्दर्भमा पर्यटकलाई आकर्षित गर्न टेम्पल स्टे, शिवशक्ति परिक्रमा, आध्यात्मिक ज्ञान हासिल गर्न नेपाल उपयुक्त स्थान भएको प्रचार प्रसार गर्ने, बाह्य र आन्तरिक दुवै पयर्टकलाई उतिकै महत्व दिइने भ्रमण वर्ष २०२० का संयोजक वैद्यले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्