युवाको साथविना डा. केसीको आन्दोलनले उचाइ हासिल गर्ने थिएन



डा. जीवन क्षेत्री

नागरिक अभियन्ता डा. गोविन्द केसीको एक दशक लामो शान्तिपूर्ण आन्दोलनलाई यस उचाइमा पुर्याउन युवाको महत्वपूर्ण भूमिका रहेको छ। कतिले आफ्नो जागिर छोडेर आन्दोलनमा सक्रियता जनाए। २०६९ सालदेखि सुरु भएको यस आन्दोलनमा यस्ता थुप्रै पक्षहरू छन् जसको चर्चा हुनु आवश्यक छ। यही आवश्यकतापूर्तिका लागि बाग्लुङमा जन्मिएका, चितवनमा दशजोड दुई पढाइसकेर शिक्षा मन्त्रालयको छात्रवृत्तिमा चिकित्सा शास्त्र अध्ययन संस्थानबाट प्राप्त छात्रवृत्तिमा प्याथोलजीमा स्नाकोत्तर पूरा गरेका डा. जीवन क्षेत्री जो डा. केसीको आन्दोदनमा निरन्तर सक्रिय हुनुहुन्छ, सँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले लिनुभएको अन्तर्वार्ता:

कहिलेबाट कसरी डा.केसीको आन्दोलनमा सहभागी हुनुभयो ?

डा. केसीले जुन मुद्दा उठाउनुभयो त्यसलाई मैले पहिलादेखि अनुभूत गरिरहेको थिएँ। स्वास्थ्य शिक्षाका लागि भर्ना हुने विद्यार्थीदेखि नेतृत्वमा रहेका व्यक्तिको नियुक्तिमा दलीय भागबण्डा र पैसाको चलखेल देख्दादेख्दै पनि केही गर्न नसकेकोमा म गम्भीर रुपले हीनताबोधले ग्रस्त थिएँ।

डा. केसीको आन्दोलनमा सहभागी भएर ममा रहेको ‘मैले युवा नागरिक भएर पनि यस मुलुकका लागि केही गर्न सकिनँ’ भन्ने हीनताबोधको उपचार पाएँ।डा. केसीले दलीय भागबण्डा हैन बरिष्ठताका आधारमा अवसर देऊ भन्नुभएको न हो।

तेस्रो सत्याग्रहसम्म माग लगातार दोहोरियो। त्यसपछि उहाँले मागको दायरा फराकिलो बनाउँदै लानुभयो। त्यतिबेला म नजिक रहेर सरलाई चिन्ने र चिनाउने अभियानमा थिएँ।

उहाँले उठाएका विषयले क्रमशः अख्तियार, अदालत लगायतका मुद्दालाई सार्वजनिकीकरण गर्दैगयो। म २०६९ सालदेखि नै डा.केसीको सत्याग्रहमा सहभागी छु।

डा. केसीले आजसम्म १७ पटक खाना नखाएर शान्तिपूर्ण आन्दोलन गर्नुभएको छ, पहिलो आन्दोलनको पृष्ठभूमिका बारेमा धेरैलाई जानकारी छैन, केही बताइदिनुस् न !

२०६९ सालमा पहिलो सत्याग्रहको क्षण रोचक छ। यसअघि डा केसी त्रिवि शिक्षण अस्पतलमा सेवा गर्नुबाहेक देशभित्र र बाहिर मानवीय सेवा गर्ने स्वयंसेवीसमेत हुनुहुथ्यो। २०६७ सालमा आईओएममा एमबीबीएस, एमडीको पढाइ हुन्थ्यो।

अहिले बढेर एमसीएच शुरु भैसक्यो। २०६७ सम्म पुग्दा यसमा धेरै विकृति आइसकेको थियो। त्यतिबेला यसकै सुधारको माग राख्दै १९ दिने आन्दोलन भएको थियो शिक्षण अस्पतालको इतिहासमा आकस्मिक सेवा समेत बन्द भएको थियो।

डा. केसीले आमरण अनशन नै बस्नुपर्ने हदका त्रिवि मेडिकल शिक्षामा भएका भ्रष्टाचार, अनियमितताका केही झलक बताउनुस् न !

डा. केसीभन्दा पहिला आवासीय चिकित्सककहरूको अगुवाइमा आन्दोलन भएको थियो। विशेषज्ञ डाक्टर बनाउने प्रवेश परीक्षादेखि नै यति धेरै भद्रगोल र अनियमितता थियो कि त्यतिखेर बोरामा पैसालिएर घूस बाँड्ने प्रचलन थियो।

एउटा निश्चित ठाउँ थियो त्यहाँ बोरामा पैसा दिएर भाग लगाइन्थो। २०६७ मा उच्च पदस्थ व्यक्तिहरूमा पैसा बाँडफाँडमा विवाद भयो। त्यसपछि एक–अर्कोप्रति आरोप–प्रत्यारोप शुरु भयो र यो कुरा बाहिर आउन शुरु भयो।

त्यस विकृतिको विरोधमा विद्यार्थीले आन्दोलन गरे। आन्दोलनको मुख्य माग प्रवेश परीक्षा पारदर्शी हुनुपर्र्यो भन्ने थियो। १९ दिन आन्दोलन हुँदा पनि अन्तमा नेपाल सरकारले पूर्वसचिव जयराम गिरीको संयोजनकत्वमा छानबिन समिति बनायो। यसले मेडिकल कलेजको सम्बन्धन पाएका कलेजहरूको अवस्था कस्तो छ भनेर कारवाहीको सिफारिस सहितको प्रतिवेदन बुझायो।

प्रतिवेदनअनुसार दोषीलाई कारबाही भएन नि, हैन ?

कारवाही हुनु त कहाँ हो कहाँ २०६९ सालमा उनीहरूको पदावधि सकिएपछि दलीय भागबण्डा मिलाउन भनेर पुनः चार वर्षका लागि उनीहरलाई नै ल्याउने निश्चित भयो। त्ससपछि डा. केसीले पहिलो पटक सत्याग्रही आन्दोलन नै अँगाल्नुभयो।

यो आन्दोलन गर्ने डा.केसीले निकै लामो समयदेखि आफ्नो शरीरलाई खालीपेट बस्न बानी पार्ने अभ्यास गर्नुभएको थियो। उहाँको मुख्य माग दलीय भागबण्डाका आडमा हुने अनियमितता रोक, वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त गर भन्ने नै थियो। उहाँको पहिलो, दोस्रो र तेस्रो आन्दोलनको माग एउटै थियो। पहिलो आदोलनले परिष्ठताका आधारमा सम्बोधन गरियो।

डिन नियुक्त पनि भयो तर ६ हप्तामै पदावधि सकियो। पुनः भागबण्डाको स्थिति आयो। दलहरू पछि हट्न तयार नै थिएनन्। पुनः चलखेल शुरु भएपछि डा.केसीले दोस्रो र तेस्रो अनसन बस्नुपर्यो।

तेस्रो भन्दापछि उहाँले आन्दोलनको दायरा निकै फराकिलो बनाउनुभयो। उहाँ चिकित्सा शिक्षा प्रणालीमै खोट रहेछ यसलाई नीतिगत रुपमै मिलाउनुपर्ने रहेछ भनेर अघि बढ्नुभयो।

डा. केसीको पक्षमा समर्थक आउनुको एउटा कारण उहाँमा निहित त्याग हो, लोभलालच नगर्ने चरित्र हो, तपाईंजस्ता उहाँको निकट रहेर आन्दोलनलाई सघाउने सदस्यमा त्यो पक्ष कति बलियो छ ?

नैतिक रुपमा बलियो नभए यो आन्दोलन टिक्नै सक्दैन। मेरो आफ्नै कुरा गर्दा, मैले कुनै सरकारी संस्थामा काम गरेको भए भौतिक रुपमा आन्दोलनमा सहभागी हुन गाह्रो हुन्थ्यो। प्रश्न उठ्न सक्थ्यो।

सहयोगी ओमप्रकाश अर्याल पब्लिक चासोका बिषयमा मात्र मुद्दा लड्न थाल्नुभयो। उहाँको आर्थिक अवस्था नै डामाडोल भयो। यस्ता सहयोगीहरूको साथ र समर्थन पाएकै कारण डा.केसीको आन्दालन आम नागरिकको आन्दोलन हुनपुग्यो। नीतिगत परिवर्तनमा योगदान पुग्यो। राज्यलाई थप टाउको दुखाइको बिषय बन्यो।

आन्दोलनले क्रमशः विस्तारित स्वरुप ग्रहण गर्दै जाने अवस्था कसरी आयो ?

आठौं सत्याग्रहको समयमा चिकित्सा शिक्षामा मात्र सीमित नभै सर्वाजनिक बहस अगाडि बढ्यो। चिकित्सा शिक्षामा डा.केसीको आन्दोलन सबै तहमा पुग्यो। मिडियाले पनि उठाउन थाले र राज्यले पनि नोटिसमा लिन बाध्य भयो।

यो आन्दोलनले २०७१ सम्म पुग्दा धेरै फरक पार्यो। त्यसअघि प्रत्यक्ष नियमनकारी निकाय त्रिवि, केयू, नेपाल मेडिकल काउन्सिलमा केन्द्रित आन्दोलन व्यापक बन्यो। त्यसपछि आठौं अनसनको नयाँ कुरा भनेको अख्तियार र अदालत पनि हो।

राज्यका अन्य निकायहरूले दण्डहीनताको अन्त्य गर्नुपर्ने, दोषीहरूलाई दण्डित गर्नुपर्ने, सुशासन कार्य गर्नुपर्ने जिम्मेवारी बोके जुन निकाय थिए ती नकायमा भएका पदाधिकारीहरूले नै आफ्नो पदको दुरुपयोग गरेर आफ्नो निहित स्वार्थ पूरागर्ने र यताका दोषीहरूलाई साथ लिंदै निर्दोष मान्छेलाई तर्साउने, ब्ल्याकमेल गर्ने, अख्तियारको गतिबिविध २०७३ सालमा एकैपटक छरपष्ट आयो। अदालतको अवस्थालाई खोजपत्रकारिता केन्द्रले श्रृंखलाबद्ध रुपमा सार्वजनिक गर्यो।

काठमाडौं विश्व विद्यालय र त्रिभुवन विश्व विद्यालय स्वास्थ्य शिक्षामा सम्बन्धन बेच्ने कार्यमा प्रतिस्पद्र्धा गर्नथाले भनेर यहाँले लेख्नुभएको छ, यसलाई प्रष्ट पारिदिनुस् न !

काठमाडौ विश्व बिद्यालयले आफू स्वयम् मेडिकल शिक्षा दिन नसक्ने अवस्थामा रहेर पनि उसले कलेजहरूलाई यसको सम्बन्धन दिएर पैसा कमायो। त्रिभुवन विश्व विद्यालयमा पनि मेडिकल कलेजको सम्बन्धन बेचेर पैसा कमाउन पछि पर्नुहुन्न भन्ने प्रतिस्पद्र्धा जाग्यो।

यस बिकृतिको शुरुवात सन् २००० भन्दा पछिको कुरा हो। यसले बिक्रम संबत् २०६९ सम्म पुग्दा काठमाडौं भ्यालीमा मात्र आठ वटा मेडिकल कलेज पहिला नै भैसकेको, केहीमा बिरामीको चाप नपुगेर अत्यन्तै कमजोर भएको अवस्थामा थप १० वटा मेडिकल कलेज खुल्ने योजनामा र चार वटा खुल्ने संघारमै थिए। अन्य चार–पाँच वटाले मनसायपत्र लिएका थिए।

काठमाडौंका हरेक घुम्तीमा अस्पताल छन्, बिरामीहरू सबै मेडिकल कलेजमा जाँदैनन्। बिरामी नपुगेर बिद्यार्थीको सिकाइ अधुरो भएको छ। नेपालमा बर्षमा २ हजार डाक्टर बन्छन् गुणस्तरीयतातर्फ सरकारको ध्यान पुगेकै छैन।

डा.केसीले गुणस्तरीयता सहितको चिकित्सा शिक्षाको अभियान शुरु नगरेको भए अहिले सम्म काठमाडौभित्र चार वटाले एक सय पचास एक सय ५० बिद्यार्थी पढाउने अवस्था २०७० सालमै आइसक्ने थियो। कस्ता एमबीबीएस उत्पादन हुन्थे होलान् ? अहिले नै गुणस्तरीयतामा यति धेरै समस्या शुरु भएको छ।

डा. केसीको आन्दोलनमा तपाईंजस्ता व्यक्तिबाहेक संस्थाको पनि सहयोग देखिन्छ, यसको अवस्था के छ ?

डा.केसीको अभियानमा नेशनल रेजिडेन्ट डक्टर एशोसियसन (एनआडिए) आवासीय चिकित्सकहरूको संस्थाले साथ दिंदैआएका छन्। यसमा बिशेष गरी डा. बद्री रिजालले आफू अध्यक्ष भएदेखि अहिले सम्म निरन्तर भूमिका निर्वाह गर्दै आउँनुभएको छ।

उहाँका साथ धेरै आवासीय चिकित्सक, बुद्धिजीवी, बिद्यार्थी, नागरिक समाज, राजनीतिक दलहरू रहे। पछिल्लो समय मेरिट लिष्टमा भर्ना गर्ने बिषयको उठानसँगै माथेमा कार्यदलको प्रतिबेदनपछि अदालती ढोका ढकढक्याउने सम्मको अवस्था आयो।

त्यतिबेला कलेजहरूले मनपरी भर्ना गरिरहेका थिए। अदालती लडाइँ र वार्तामा अधिवक्ता ओमप्रकाश अर्याल धेरै जोडिएर आउनुभयो, निकै सकृय हुनुहुन्छ। युवा पुस्तामा सुमन आचार्य, बिषद् दाहाल, ई. प्रितम सुवेदी लगायत सक्रिय भएर लाग्नुभएको छ।

तपाईं युवा हुनुहुन्छ, युवाहरूले नै डा. केसीको आन्दोलनलाई साथ दिएको देखियो। मिडिया र सामाजिक सञ्जाललको सपोर्टको भूमिका कस्तो रह्यो ?

ओभरअल मिडियाको सपोर्ट राम्रो छ, अझ त्यसमा पनि अलि बढी इभेन्ट भएको वा अनशन चलेका बेला मिडियामा अत्यन्तै राम्रोसँग समेटिन्छ। अझै के भैदिए हुन्थ्यो भने, सहमति भएका कुरा कार्यान्वयन नभएको पनि त्यतिकै धेरै महत्वको बिषय हुन्छ।

निरन्तर रुपमा कभरेजको श्रृंखलालाई अघि बढाउन पाए कार्यान्वयनमा थप बल पुग्थ्योजस्तो लाग्छ। सोसियल मिडियाले आठौं सत्याग्रहमा निकै ठूलो भूमिका खेलेको पाइयो।

तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने बिषयमा सत्याग्रह गरिरहँदा लोकमानले अख्तियारको लेटरप्याडमा डा.केसीको मानसिक उपचार गराउनुपर्छ भनेर बिज्ञप्ति निकालेपछि लोकमानसिंह कार्कीमाथि सामाजिक संजालबाट कडा रुपमा नागरिक समाज खनियो।

त्यसको केही घण्टाभित्रै ‘मानसिक’ भन्ने शब्द हटाएर विज्ञप्ति नै सम्पादन गर्न पनि बाध्य भएका थिए। परम्परागत मिडियामा बोल्नलेख्न सक्नेको मात्र पहुँच भयो भन्ने छ। सामाजिक संजालले आन्दालनमा सर्वसाधारणको समेत पहुँच बनायो।

आन्दोलनका बेला यसलाई सबल बनाउन साथीहरूबीच कसरी सूचना सम्प्रेषण गर्नुहुन्थ्यो ?

गम्भीर मुद्दा भए भौतिक रुपमै बस्थ्यौ भने सामान्य अवस्थामा टेलिफोन वार्ताबाट पनि सन्देश पुर्याउने काम गथ्र्यौ।

सामाजिक संजाल, मिडिया शक्तिशाली त छनै त्यससलाई कति प्रयोग गर्न सकियो आन्दोलनका लागि ?

सामाजिक सञ्जाल सुविधाजनक पक्कै छ। सूचना पुग्नु र आन्दोलनमा मान्छे आउनुमा फरक छ। डाक्टर केसीलाई पागल भने, गोपाल पराजुलीले डा.केसीलाई पक्राउ गर्न आदेश दिए भनेपछि आम जनमानसका साथ मिडियाको ठूलो उपस्थिति भयो।

तथ्यमा तर्क गर्नुपर्दा संगठित हुन निकै गाह्रो हुन्छ। भावनात्मक विषयले मान्छेलाई धेरै छिटो छुन्छ। मानवीय भावनालाई धेरै मान्छेले स्वीकार्छ।

युवाहरूले साथ नदिएको भए डा.केसीको सत्याग्रह यो उच्चाइमा पुग्थ्यो कि पुग्दैन थियो ?

जो युवा हुनुहुन्न डा. केसीले उठाएका विषयले उहाँहरूलाई त्यति छुदैन। भावनात्मक समर्थन हुन्छ तर ५० माथिका व्यक्ति त्यतिधेरै बाहिर आउन चाहनुहुन्न। आजभन्दा पाँच–दशबर्ष पछि के हुन्छ भन्ने बिषयले प्रभाव पार्ने युवालाई नै हो।

अन्त्यमा, हुँदाखाँदाको जागिर छोडेर आन्दोलनमा लाग्दा परिवारले रोकेन ?

भाग्यवश, कक्षा १२ को अन्तिम परीक्षा दिनेबेलामा पनि मलाई डाक्टर बन्नुपर्छ र बन्न सकिन्छ भन्ने विश्वास थिएन। १२ कक्षाको परीक्षा दिएपछि चितवनबाट बाग्लुङ गएर बुबालाई एमबीबीएसको तयारीका लागि साथीहरू कोचिङ पढ्न काठमाडौं जाँदैछन्, म पनि जान पाए हुन्थ्यो भनें।

तर, अवस्था अनुकूल थिएन। दाइले सरकारी क्याम्पस पढ्नुभयो मैले प्राइभेटमा पढ्दा खेतै बेचेर पढेको हो। परिवारले धेरै कमाओस भन्ने थिएन।२०७१ सालमा स्नाकोत्तर सकेर नीजि मेडिकल कलेजमा जागिर खानथालेको ११ महिना भएको थियो सरको आन्दोलन शुरु हुनेभयो।

मुख्य एजेण्डा माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने थियो। त्यो भनेको १ सय ५० बाट १ सयमा सिट झार्ने र शुल्क झण्डै एक करोड पुर्याएकोलाई ३५ लाखमा झार्ने थियो।

कलेजको आम्दानी स्वाट्टै झर्ने थियो मलाई नैतिक संकट पर्यो मैले आफ्नो मूल्यलाई कायम गर्दै राजीनामा दिएँ। मेरो बुबा २४ घण्टाभित्रै मेरो निर्णयमा सहमत भइसक्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्