राजनीतिक खेमा र स्वार्थभन्दा माथि उठ्नै पर्छ



विश्व सौन्दर्यलाई एकै स्थानमा सजाएर राखेको विश्वको कुनै देश छ भने त्यो हो नेपाल। हिमाल, पहाड, उपत्यका, छाँगा, छहरा, नदी, तालतलैया सबै एकै स्थानमा अर्थात् एउटै मुलुकमा। कसैले सोचेर भन्दो हो– समुद्र छैन। संसार रच्नेवालाले सोचेर रचेका रहेछन्, किनकि सुनामीको खतरालाई नेपालभित्र नै राख्न चाहेनछन्।

तर फेरि पानीको अभावको कमी औँल्याऊलान् भन्ने सोचेर विश्वको दोस्रो जलस्रोतको मुलुक बनाउन भ्याएछन् रच्नेवालाले। नेपालको भूगोलले नेपाली सम्भाव्यताको कार्यलाई शिरोपर गरेको छ। शान्तिप्रिय सौन्दर्यको छहरा र पाखासँग वन्यजन्तुको रम्यता छ, पुष्प सुगन्धको अलौकिक सुवास छ।

हिमाल, पहाड, तराई र उपत्यकाका सौन्दर्य निधिलाई छातीमा सजाएर पर्यटन उद्योगको सम्भाव्यतालाई स्पष्ट सजाएको छ। यसै गरी प्राकृतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भाषिक, कलात्मक अभिव्यञ्जनामा विविधतालाई सजाएको नेपालसँग विश्व पर्यटन बजार आकर्षणको खूबी छ।

वातावरणीय सजावटदेखि वन र वन्यजन्तुको रक्षादेखि आयआर्जनका साथमा जलवायु परिवर्तनको न्यूनीकरणमा विशेष कदम चाल्ने नेपाली सम्भाव्यता प्रशस्तै छ। यसर्थ हरेक दिन पर्यटन उत्सव मनाउने क्षमतालाई शिरोधार्य गर्ने हाम्रो देश स्पष्ट नीति र योजनाको मार्गमा लम्कन नसक्दा पीडित छ। विडम्बना यति भएर पनि आजसम्म गरिबीको रेखामुनि दुःखित छ।

पर्यटनको विकासको सन्दर्भलाई गाँसेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस ‘नेपाल भ्रमण वर्ष २०२०’ का रुपमा मनाउने जोडतोडका साथ तयारी गरिरहेको छ। मन्त्री योगश भट्टराईले कार्यभार सम्हालेको छोटो समयमै १० लाखलाई रोजगारी दिलाउने परिकल्पनासहित एकबर्से कार्ययोजना तयारी पारी द्रुत गतिमा कार्यक्रमहरू गर्दै आइरहेको पाइन्छ।

मूलतः ज्येष्ठ नागरिकलाई हवाई यात्रामा छुट दिने, पर्यटन विकासमा ठोस कार्यक्रम गर्नेदेखि विदेशमा भ्रमण सफलताको अभ्यासमा विशेष पहल गरिरहेको देखिन्छ। यद्यपि पर्यटन विकासको कार्ययोजनाको क्रममा भ्रष्टाचारको सिकार बन्ने, बनाइने, आफ्ना कमजारीले आलोचित हुने कुनै कार्यप्रति पूर्वसचेतना र चनाखो हुनुपर्ने कुरामा पनि दुई मत हुनु बेकार छ।

यही भ्रमण वर्षमा नै भारतबाट ५ लाख र चीनबाट २० लाख नागरिक नेपालमा पर्यटकीय लक्ष्यका साथ आउने प्रक्षेपणले नेपालले पर्यटन विकास र नेपालीको छिमेकीलाई आफ्नै देशको प्रचार गर्ने अभिष्ट राखेको छ।

भ्रमण वर्षको सफलतासँग संघ, प्रदेश र स्थानीय तहको अपनत्व आवश्यक छ। सम्भाव्यता पहिचान र स्पष्ट योजनाको कार्यान्वयन झनै आवश्यक हुन्छ। सुरक्षा निकायदेखि राज्यका सबै नागरिकले पर्वका रुपमा लिन सक्नु आवश्यक छ।

यदि सबैले आ–आफ्नो क्षेत्रबाट कदम चलाउने, देश विकासमा सबैले जाँगर चलाउने हो भने नेपालले ठूलो आयआर्जनको जग बसाउन सक्छ। यदि राजनीतिक खेमा र स्वार्थ सबैमा हुने हो भने सबै सपना चकनाचुर नहोला भन्न सकिन्न।

नेपालमा राम्रो काम गर्नेको खाँचो छ। जनताले राजनीतिक वितृष्णाका कारण विभिन्न अवस्थामा विकल्पको परिकल्पना गर्नु सुशासन र समृद्धिको आभास हुन नसक्नु हो।

निगमको विकास र भ्रमण वर्ष २०२० लाई विश्वभर सञ्चार गर्नेदेखि त्रिभुवन विमानस्थलको सुधार गर्ने लगायतका पर्यटन मन्त्रालयका एकबर्से कार्ययोजनाले तोकेको समयावधिलाई सम्पन्न गरी निःस्वार्थ भावना प्रवाह गर्नुपर्छ। विश्वभरि डिजिटल मार्केटिङदेखि प्रचारप्रसार व्यापक बनाइनुपर्छ।

– सन्तोष जेशवाल, सिराहा।

प्रतिक्रिया दिनुहोस्