गौतमबुद्ध विमानस्थल : भाका सार्दै आएको गौरवको आयोजना



ढुनबहादुर बुढाथोकी “संघर्ष”

एक्काइसौं शताब्दीमा हवाईजहाजमार्फत यात्रा गर्नु आमकुरा ठानिन्छ। वि.सं. २००६ मा निर्मित त्रिभुवन विमानस्थल नेपालको सबैभन्दा पुरानो विमानस्थल हो। वि.सं. २०२४ सालमा पहिलोपटक जेट अवतरण गरेको यो विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्ने अहिलेसम्मको एकमात्र विकल्पको रुपमा रही आएको छ।

तेस्रो मुलकबाट तराईको कुनै भूभागमा आवागमन गर्न गौतमबुद्ध विमानस्थल वरदान साबित हुने कुरामा दुईमत छैन। गौतमबुद्ध विमानस्थल निर्माण हुँदा तराईवासीलाई तेस्रो मुलुकमा आवागमन गर्न त्रिभुवन विमानस्थल उपयोग गर्ने बाध्यता टर्ने मात्र छैन, तराई क्षेत्रमा व्यापार व्यवसाय, उद्योगधन्दा, कलकारखाना प्रवद्र्धनमा समेत टेवा मिल्नेछ।

विश्वव्यापीरुपमा हवाई यातायातको विस्तार भइरहेको सन्दर्भमा यति लामो समयसम्म अन्तर्राष्ट्रिय उडान भर्ने वैकल्पिक विमानस्थल निर्माण गर्न किन सकिएन भन्ने प्रश्न अस्वाभाविक होइन। त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय उडानको लागि साँघुरो भएको कारण विकल्पको रुपमा निजगढ, पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सरकारले अगाडि बढाएको छ।

तथापि, ती मध्ये निजगढ विमानस्थलको कार्य ठोसरुपमा अगाडि बढेकै छैन। मोडालिटी चयन, वित्तीय व्यवस्थापन र मुआब्जा वितरणमै अलमल भएको छ। पोखरा विमानस्थल निर्माणको कार्य भने चिनियाँ इक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा अगाडि बढेको छ। गौतमबुद्ध विमानस्थलको कार्य भने अहिले लगभग अन्तिम चरणमा पुगेको छ।

तथापि तोकिएको समय सीमा भने २ वर्षपूर्व नै गुर्जिसकेको हो। गौतमबुद्घ विमानस्थल राजधानीबाट २ सय ९० किलोमिटर टाढा सिद्धार्थनगरमा अवस्थित छ। यो भगवान् गौतमबुद्घको जन्मस्थल लुम्बिनीवाट सबैभन्दा नजिकको विमानस्थल हो। र, लुम्बिनी पुग्ने सडकको छेउमै रहेको छ। वि.सं. २०१५ देखि शुरु भएको यो विमानस्थलमा जेट बस्न सक्ने बनाइएपछि महत्व अझ बढेको हो।

विमानस्थल समुद्र सतहदेखि १ सय ९ मिटर उचाइमा रहेको यो विमानस्थल त्रिभुवन विमानस्थलपश्चात्को दोस्रो विमानस्थल हो। अन्तर्राष्ट्रिय उडानका लागि त्रिभुवन विमानस्थलको विकल्पमा ६० वर्षपश्चात् अर्को विमानस्थल पूरा हुन लागेको हो। जहाँ एअरबस ए ३ सय ४० र बोइङ ७ सय ७७ ले उडान भर्न सक्नेछन्।

विमानस्थल कति विशाल हुने ? के–कस्तो आकारको के–कति विमान अवतरण गर्ने, यात्रीलाई के–कस्तो सुविधा उपलब्ध हुने भन्ने विमानस्थलको इन्जिनियरिङ पक्षसँग जोडिको कुरा हो। विमानस्थलको धावनमार्ग विस्तार गौतमबुद्ध विमानस्थलको सबैभन्दा आकर्षक पक्ष हो। जहाँ साबिकको ४५ वर्गकिलोमिटर धावन मार्गलाई स्तरोन्नति गरी १ सय ३५ वर्गकिलोमिटर पुर्याइएको छ।

यसका अलावा नयाँ संरचनाहरू पनि विमानस्थलका सबल पक्षहरू हुन। जहाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, एअरपोर्ट अप्रेसन, पथप्रदर्शन सामग्री जडान भएको छ। विमानस्थलमा अन्य संरचना पनि स्तरोन्नति गरिएको छ। जसमा रन वेको उचाइ १.२५ मिटर, लम्बाइ ३ हजार मिटर र चौडाइ ७० मिटर पुर्याइएको छ।

त्यस्तै सुुरक्षाको लागि लम्बाइतर्फ ३–३ सय मिटर र चौडाइतर्फ १५–१५ मिटर रन वे एन्ड सेफ्टी एरिया (रेसा) छोडिएको छ। आयोजना निर्माणको मुख्य जिम्मेवारी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले प्राप्त गरेको हो भने सहायक ठेक्काको कार्य स्वदेशी निर्माण व्यवसायीले पाएका छन्।

पहिलो चरणको कार्य पूरा भएकाले दोस्रो चरण (आईपीसी सेकेन्ड) को कार्य २०१९ डिसेम्बर ३१ पश्चात् शुरु गरिने बताइन्छ। पहिलो चरणको कार्य २०७७ पौष १५ सम्ममा पूरा गर्ने लक्ष्य तय गरिएको छ। दोस्रो चरणको कार्यको डीपीआर निर्माण गरी बोलपत्र आह्वान गरिनेछ। टर्मिनल भवन, एरोब्रिजलगायतका संरचना निर्माण गरिने दोस्रो चरणको आयोजना लागत १० अर्ब लाग्ने अनुमान छ।

दोस्रो चरणको आयोजनाका लागि पनि अहिलेको मुख्य लगानीकर्ता एसियाली विकास बैंकले तत्परता देखाएको छ। दोस्रो चरण पूरा भएमा प्रत्येक ४–५ मिनेटमा आन्तरिक उडान र प्रत्येक १५–२० मिनेटमा अन्तर्राष्ट्रिय उडान भर्ने बताइन्छ। आयोजनाको प्रारम्भिक लागत ६.२२ अर्ब तय भएको थियो। निर्धारित समय २ वर्ष पर धकेलिँदा यो लागत ६.८२ अर्ब पुगेको छ।

आयोजना एसियाली विकास बैंक, ओपेक फन्ड फर डेभलपमेन्ट र नागरिक उड्डयन प्राधिकरणको लगानीमा रहेको छ। भलै यो त्यति अचाक्ली वृद्धि भने होइन। कुल लगानीमा ४७.५ प्रतिशत हिस्सा रहेको एसियाली विकास बैंक यस आयोजनाको मुख्य लगानीकर्ता हो। एसियाली विकास बैंकको ४.७४ अर्ब लगानी रहेकोमा ४.२० अर्ब ऋण र ५४ करोड अनुदान हो।

गौतमबुद्ध विमानस्थल त्यति बृहत् आयोजना होइन। औसत तीन वर्षभित्र पूरा गर्न सकिने मझौला किसिमको हो। त्यसैले तीन वर्षभित्र पूरा गर्न सकिन्छ भन्ने प्रारम्भिक लक्ष्य तय गरिएको थियो। सो अनुरुप २०७४ पुस १६ सम्ममा पूरा गर्ने गरी २०७१ कार्तिक १३ मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले निर्माण सम्झौता गरेको थियो।

आयोजनाको शिलान्यास चौधौं आवधिक योजनाकालमै सम्पन्न गर्ने गरी २०७१ माघ १ मा भएको हो। २०७४ पुस १६ मा पूरा हुन नसकेको उक्त आयोजनाको निर्माण भाका पहिलोपटक २०७५ चैत्र मसान्तसम्म, दोस्रोपटक २०७६ असार १३ सम्म, तेस्रोपटक २०७६ भदौसम्म, चौथोपटक २०७६ असोज १० सम्म सारियो। हालको छैटौं भाका सारेर २०७६ पुस १५ गते पुर्याइएको छ।

गौतमबुद्ध विमानस्थल अन्य राष्ट्रिय गौरवका आयोजनाहरूजस्तै समस्यामा मुछिएको आयोजना हो। भलै यो आयोजनालाई २०७२ को भूकम्पले खासै असर गरेको भने थिएन। तर निर्माणस्थल तराईको रुपेन्देही जिल्लामा पर्ने भएकाले २०७२ को तराई–मधेस आन्दोलनबाट अछूतो रहन सम्भव नै थिएन।

अझ भन्नुपर्दा यो आयोजना राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये तराई–मधेसको आन्दोलनबाट सबैभन्दा अधिक प्रताडित बन्यो। यसका अवाला मुआब्जा विवाद, निर्माण सामग्रीको अभाव, मुख्य तथा सहायक ठेकेदारबीच रन वे तथा ट्याक्सी वे निर्माणमा सृजित विवाद, ३० लाखमाथिको मुआब्जा वितरणमा पूँजीगत लाभ करको समस्या आयोजनाले झेल्न पुग्यो।

यी समस्याको टुंगो लगाउन नसक्दा मुख्य लगानीकर्ता मानिने एसियाली विकास बैंकले केही समय ऋण तथा अनुदानसमेत बन्द गर्यो। यसै कारण आयोजना निर्धारित समयभन्दा २ वर्ष विलम्ब हुन पुगेको हो। आयोजनाको गरिमाको खातिर कार्य प्रगति अहं कुरा हो। परन्तु आयोजना पूरा भइसक्नुपर्ने अवधिसम्म अर्थात् २०७४।७५ सम्ममा अन्तर्राष्ट्रिय टर्मिनल भवन, अप्रेसन तथा कन्ट्रोल टावर, अग्नि तथा जीवनोद्धार भवन मात्र निर्माण हुन सक्यो।

जहाँ समष्टिगत भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ६६ प्रतिशत मात्र प्राप्त हुन सक्यो। उक्त अवधिसम्ममा रन वे, ट्यक्सी वे, एप्रोनको कार्य भने ३०.२० प्रतिशत मात्र हुन सक्यो। त्यस्तै डेडिकेटेट फिडर, घर–टहराको मूल्याङ्कन तथा मुआब्जा कार्य पूरा भएन। त्यस्तै, २०७५।७६ मा जग्गा अधिग्रहण, धावन मार्ग, ट्याक्सी मार्ग, टर्मिनल भवन निर्माण गरी विमानस्थल सञ्चालन गर्ने लक्ष्य तय गरिएकोमा ३ किलोमिटर धावनमार्ग सब बेस लेयर र बेस लेयर तयार भई कालोपत्रेको कार्य मात्र सम्पन्न हुन सक्यो।

अहिले ट्याक्सी वे, एप्रोन, प्रशासकीय भवन, धावनमार्ग, कन्ट्रोल टावरलगायतका भौतिक पूर्वाधारका संरचनाहरू तयार भइसकेका छन्। सञ्चार तथा विद्युतीय सामान जडान र परीक्षण भने भइसकेको छैन। हालसम्म ९० प्रतिशतभन्दा बढी कार्य सकिएको सन्दर्भमा २०७६ पुस १५ सम्ममा आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ।

भौतिक निर्माण, विद्युतीय तथा सञ्चार सामग्री जडान, परीक्षण कार्य सम्पन्नपश्चात् २०७७ असार १६ सम्ममा विधिवत्रुपमा विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य तय गरिएको छ। स्रोत विनियोजनको हकमा आ.व. २०७६।७७ मा पहिलो चरणको कार्य पूरा गरी अन्तर्राष्ट्रिय उडान गरिने लक्ष्यसहित ३ अर्ब ३४ करोड विनियोजन भएको छ।

विमानस्थल किन निर्माण गर्नुपर्छ, के–कस्तो लाभ राज्यले प्राप्त गर्दछ, बताइरहनुपर्ने कुरा होइन। कुनै आयोजना के–कति महत्वपूर्ण हो भन्ने कुराको श्रेणीकरण रातो किताबमा प्रस्टै गरिएको हुन्छ। गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकताका हिसाबले प्रथम, रणनीतिक स्तम्भका हिसाबले दोस्रो, जलवायु परिवर्तनका हिसाबले तेस्रो र दिगो विकासको लक्ष्यका हिसाबले नवौं स्थानमा रातो किताबले सूचीकृत आयोजना हो।

जहाँसम्म लाभको सवाल छ, यस विमानस्थलको अन्तर्राष्ट्रिय हवाई सम्बन्ध विस्तार हुँदै जानेछ। अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाई कम्बोडिया, म्यानमार, चीन, जापानबाट हवाई उडानका लागि आवेदन प्राप्त भइसक्नुले पनि उक्त कुराको दृष्टान्त दिन्छ।

तराई क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल नभएको परिप्रेक्ष्यमा तेस्रो मुलकबाट तराईको कुनै भूभागमा आवागमन गर्न गौतमबुद्ध विमानस्थल वरदान साबित हुने कुरामा दुईमत छैन। गौतमबुद्ध विमानस्थल निर्माण हुँदा तराईवासीलाई तेस्रो मुलुकमा आवागमन गर्न त्रिभुवन विमानस्थल उपयोग गर्ने बाध्यता टर्ने मात्र छैन, तराई क्षेत्रमा व्यापार व्यवसाय, उद्योगधन्दा, कलकारखाना प्रवद्र्धनमा समेत टेवा मिल्नेछ।

यसै पनि यस क्षेत्रमा सिमेन्ट, मदिरा, रासायनिक मललगायतका उद्योगहरू स्थापना भइसकेका छन्। लुम्बिनीलगायत तराई क्षेत्रमा पर्र्यटन आवागमन बढोत्तरी हुनेछ। आन्तरिक तथा बाह्य गरी दैनिक १५ हजारदेखि २५ हजार यात्रुले हवाई सेवा प्राप्त गर्नेछन्।

अन्ततोगत्वा यसको लाभ राज्यले र स्थानीय निकायले उठाउनेछ। यसै पनि हामी अहिले भिजिट नेपाल २०२० को संघारमा छौं। जहाँ २० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य हामीले तयार गरेका छौं। यसर्थ नेपाल भ्रमण वर्षको लक्ष्यलाई समेत विचार गरी आयोजना निर्माणकार्यमा निर्माण व्यवसायी, आयोजना पमुख र सरकार गम्भीर बन्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्