हामीले सोचेअनुसारको परिणाम पायौं



बालगोपाल महर्जन
राष्ट्रिय प्रशिक्षक, एन्फा

भर्खरै नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक हुनुहुन्छ बालगोपाल महर्जन। महर्जनको यो प्रशिक्षकका रूपमा सागमा पहिलो स्वर्ण पनि हो। महर्जन स्वयं एक कुशल स्ट्राइकर हुनुहुन्थ्यो। उहाँ सन् १९९३ मा भएको छैटो सागमा फुटबलले स्वर्ण जित्दा खेलाडीका रूपमा हुनुहुन्थ्यो। त्यसपछि नेपाली टिम सन् १९९९ मा नेपालमै सम्पन्न आठौं सागमा भने घरेलु दर्शक र मैदानमा रजत पदकमै सीमित भएको थियो। त्यति बेला पनि उहाँ खेलाडी हुनुहुन्थ्यो। उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेप :

फुटबलमा स्वर्ण जित्दा कस्तो महसुस भयो ?

बयान गरेर साध्य नै भएन। १३औं दक्षिण एसियाली खेलकुद फुटबलमा यो मेरो प्रशिक्षकका रूपमा पहिलो स्वर्णसमेत हो। यस कारणले खुसी भएको होइन कि मैले नेपाललाई स्वर्ण दिलाउन सकें। यस कारण खुसी भएँ कि सन् १९९९ मा नेपालमै सम्पन्न आठौं सागमा हामीले स्वर्ण जित्न सकेका थिएनौं। त्यो पीडा थियो।

त्यति बेला आफ्नै घरेलु मैदानमा हामी रजत पदकमै सीमित हुनुपरेको थियो। २० वर्षपछि फेरि आफ्नै मैदानमा खेल्न पाउँदा स्वर्ण जित्नै पर्ने दबाब थियो र जितेर छाड्ने अठोट पनि थियो। खेलमा केही संघर्ष गर्नुपर्यो तर जित हात पार्यौं।

अन्ततः हामीले स्वर्ण जित्यौं। मैले २० वर्षअघि घरेलु मैदानमा जित्न नसकेको काम मेरा खेलाडीले गरेर देखाए। त्यसमा मलाई निकै खुसी भयो। मेरो खुसीको कुनै सीमाना नै छैन।

अहिले हेर्नुस् त दशरथ रंगशाला पनि नपुग्ने अवस्थामा छ। साग फाइनलमा १०/२० हजारको भीड रंगशालाले थेग्न सकेको थिएन। यसका लागि कम्तीमा ३०/४० हजार अट्ने भव्य रंगशाला अहिले आवश्यकता भइसकेको छ। यसले हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने अवस्थामा पुग्नेछ। यति गर्नका लागि राज्य त अगाडि बढ्नैपर्छ। चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दै छ भने फुटबलका लागि पनि अन्यत्र बनाउने कोशिस हुनुपर्छ। यो आवश्यक नै भइसकेको छ। अर्को मिनी रंगशाला पनि बन्नुपर्छ। अहिले काठमाडौंमा हेर्यो भने यस्ता रंगशाला बनाउने ठाउँ पनि छैन।

कतिको दबाब र चुनौती थियो त ?

योचाहिँ २० वर्षपछि घरेलु मैदानमा भएको साग फुटबल थियो। अर्को गत १२औं सागमा पनि नेपाली फुटबलले स्वर्ण जितेको थियो। त्यो हैसियतले उपाधिलाई सुरक्षित राख्नुपर्ने दबाब निकै थियो। ४/५ वर्षपछि घरेलु मैदानमा घरेलु दर्शकको चाप पनि धेरै देखें।

मलाई यो स्वर्ण जित्नैपर्ने चुनौती आइपर्यो। दर्शकलाई निरास पार्नु त भएन। यतिका दर्शक महँगो टिकट लिएर नेपालको खेल हेर्न आएका थिए। उनीहरू नेपाली खेलाडीलाई हरेक क्षणमा नेपाल नेपाल भन्दै प्रेरणा दिइरहेका थिए।

यसैले मैले स्वर्ण जित्नुबाहेक अर्को विकल्प नभएको ठानें। नभन्दै नेपालले स्वर्ण पनि जित्यो। र, उपाधि पनि सुरक्षित राखियो, यसमा एकदमै खुसी भएँ म। दबाब र चुनौतीबीच नै खेल्ने हो फुटबल भन्ने खेल।

युवा टिमलाई कसरी सफल बनाउनुभयो ?

४–४ महिनाको लामो समय तयारी भएको थियो। तयारी भनेर प्रशिक्षण मात्रै भएको थिएन। प्रशिक्षणसँगै अन्य कुरा पनि यसमा मिसिएका हुन्छन्। पहिले त खेलाडीलाई प्रशिक्षण गराउने वातावरण तयार गरें। प्रशिक्षणसँगै उनीहरूलाई व्यवस्थित गर्न, उत्प्रेरणा दिन, खानामा ध्यान दिन, मानसिकरूपमा तयार गर्नेजस्ता कुरा पर्छन्।

त्यस्तै अनुशासित बनाउने, सुविधा दिने जस्ता विषयले समेत टिम तयार गर्नुपरेको थियो। एउटा टिम सफल बनाउन यी विषयलाई ध्यान दिनुपर्छ। यसैले पनि हामी सफल भएको जस्तो लाग्छ। विगतमा पनि मैले अन्डर १६ टिम, अन्डर १९ टिम या राष्ट्रिय टिम को नेतृत्व लिँदा पनि यी कुरामा विशेष जोड दिएको थिएँ।

मैले यसलाई नै हरेक जिम्मेवारीमा निरन्तरता दिएको छु। अनुशासित भएर अहिलेको मेरो टिमले पनि खेलेको थियो। विपक्षीको रणनीति बुझेर जुन निर्देशन दिएको थिएँ त्यहीअनुसार पनि हाम्रा खेलाडीले खेले।

यही कारणले अपराजित रहँदै हामीले सागमा उपाधि जित्यौं। यसमा सबै सरोकारलाई धन्यवाद पनि दिन चाहन्छु। यो सफलता नेपाली फुटबलको नै हो।

हाम्रो सिनियर टिम रामै्र छ, त्यति नराम्रो पनि छैन। हामीले यो पनि विचार गर्नुपर्छ कि नेपालका प्रतिद्वन्द्वी कति बलिया छन् भनेर? उनीहरू कम छैनन्। यसैले हामै्र मैदानमा खेल्ने भए तापनि नतिजा ल्याउन खेलाडीले नै मेहनत गर्नुपर्छ। घरेलु मैदान भन्दैमा उनीहरूले नतिजा हाम्रो पक्षमा दिने त होइन।

केही मुख्य स्ट्राइकर गुमाएको अवस्थामा कसरी टिम बलियो बन्यो ?

त्यही नै ठूलो चुनौती थियो। राम्रा खेलाडी गुमेको अवस्थामा प्रशिक्षकले गर्नुपर्ने काम त्यही नै थियो। केमा कमी–कमजोरी थियो, त्यसलाई कुन रूपले लिने त्यो प्रशिक्षकको काम थियो। कुन खेलाडीलाई कुन ठाउँमा खेलाउने भन्ने पनि प्रशिक्षकमाथि चुनौती आउँछ।

मुख्य स्ट्राइकर नभएको अवस्थामा पनि मैले खेलाडीको स्थानलाई तलमाथि गरेर खेलाएँ। कुन खेलाडीलाई सही ठाउँमा खेलाउने भन्नेमा भन्दा पनि ती खेलाडीले त्यो पदपूर्ति गर्न सक्छ कि सक्दैन भन्ने पनि हुन्छ।

मलाई त्यही नै चुनौती बनेको थियो। मैले एक स्थानको खेलाडीलाई अर्को स्थानबाट खेलाउने जमर्को गरें। मेरो कोचिङको करियरमा यही अनुभवकै अनुसार खेलाएँ।

विगतमा पनि मैले खेलाडीलाई तलमाथि स्थान परिवर्तन गराएर खेलाएको थिएँ। त्यो सफल नै भएको छ, अहिले पनि सफल नै भइरहेको छ। त्यसमा म जे होस् खुसी र सन्तुष्ट छु।

यो टिमसँग भविष्यमा कस्तो आशा गर्न सकिन्छ ?

हुन त सबै मिडियाकर्मी, एन्फाका पदाधिकारी, फुटबल समर्थक, खेलकुद जगत्का हस्तीहरू र अन्य साथीबाट यो टिमका लागि सकारात्मक प्रतिक्रिया आएका छन्। मैले मात्रै महसुस गरेको होइनरहेछ सबैले यो टिम राम्रो भएको ठानेका रहेछन् भन्ने लागेको छ।

यसमा मलाई खुसी पनि लागेको छ। किनभने यसले म सफल छु भनेर पनि दर्शाएको छ। यसो भन्दैमा म यो टिममा सुधार गर्नुपर्दैन भन्न होइन। सुधार गर्नुपर्ने ठाउँमा गरिन्छ। यसलाई मैले मनन गरेको छुँ। यो टिममा पेस छ, टेक्निकली, ट्याक्टिकली, डेडिकेसन इफोर्ट, कम्युनिकेसन जस्ता सबै चिज रहको पाइएको सबैले प्रतिक्रिया दिइरहेका छन्।

यसका लागि फुटबलका शुभचिन्तकहरूलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूकै प्रतिक्रियाले हामी अगाडि बढ्ने हो। र, अबचाहिँ योभन्दा पनि माथि उकास्न आवश्यक छ।

यसका लागि के गर्नुपर्यो भने घरेलु लिग कम्तीमा ७–८ महिनाको हुनुपर्यो। चाहे यही टिम होस्, जुनियर टिम होस् या सिनियर टिम नै होस् त्यसका लागि घरेलु लिगको खाँचो छ। साथै जसरी सागका लागि सुविधाजनक तरिकाले प्रशिक्षण भयो त्यही तरिकाले भइरहनुपर्यो। मैले माथि भनेका ४/५ कुरालाई निरन्तरता दिनुपर्छ। यति गरियो भने कुनै पनि फुटबल टिम भविष्यमा राम्रो हुँदै जान्छ भन्ने मलाई लाग्छ।

अनि मैदान चाहिएन त ?

चाहियो नि। त्यो त आवश्यक नै हुन्। भन्नै पर्दा काठमाडौंमा फुटबल प्रशिक्षण गर्ने मैदान नै छैन। कहाँ गराउने ? यो समस्या छ। त्यसका लागि राज्यले पनि हेनुपर्छ भन्ने मलाई लाग्छ। सरकारले कम्मर कसेमा के हुँदैन भन्ने यसको ज्वलन्त उदाहरण भुटान र माल्दिभ्सलाई लिन सकिन्छ।

पहिले कस्तो थिए भुटान र माल्दिभ्स। अहिले भुटानमा १२ वटा जति मैदान छ। माल्दिभ्समा कम जनसंख्या भए पनि त्यहाँको सरकारले मिनी पिच बनाइदिएको छ। यो सागमै हेर्नुस् माल्दिभ्स र भुटानले कति राम्रो खेले। पूर्वाधार बने पो खेल अगाडि बढ्छ।

यसैले सरकारको तर्फबाट माल्दिभ्स र भुटानले गरेजस्तो मैदान बनाउने पहल गरिदिनुपर्छ। बजेट विनियोजन गरिदिनुपर्छ अनि फुटबल संघलाई सहयोग हुन जान्छ र संघलाई पनि मैदानमा लगानी गर्न सजिलो हुन्छ। यो गर्यो भने नेपाली फुटबल अझ राम्रो हुनेछ।

मैदानका लागि कसरी जानुपर्छ ?

कसरी जानुपर्छ भन्ने छँदै छ। एन्फाको तर्फबाट पनि राखेपको तर्फबाट पनि पहल भइरहको छ। हालै पनि संकटा क्लबले साँगामा त्यत्रो प्रशिक्षणकै लागि आफ्नो मैदान बनाएको छ। त्यो उद्घाटन पनि भइसकेको छ। पोखरामा ३ सय रोपनी जग्गामा प्रशिक्षण मैदान बनाउने काम भइरहेको छ।

रौतहटमा महिला फुटबलका लागि मैदान बनिरहेको छ।क्लबहरूलाई पनि यही किसिमले उपलब्ध गराइयो भने क्लब बलियो हुन्छन्। यसले राम्रा–राम्रा खेलाडी उत्पादन हुन्छन्। अहिले हेर्नुस् त दशरथ रंगशाला पनि नपुग्ने अवस्थामा छ। साग फाइनलमा १०/२० हजारको भीड रंगशालाले थेग्न सकेको थिएन।

यसका लागि कम्तीमा ३०/४० हजार अट्ने भव्य रंगशाला अहिले आवश्यकता भइसकेको छ। यसले हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने अवस्थामा पुग्नेछ। यति गर्नका लागि राज्य त अगाडि बढ्नैपर्छ।

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दै छ भने फुटबलका लागि पनि अन्यत्र बनाउने कोशिस हुनुपर्छ। यो आवश्यक नै भइसकेको छ। अर्को मिनी रंगशाला पनि बन्नुपर्छ। अहिले काठमाडौंमा हेर्यो भने यस्ता रंगशाला बनाउने ठाउँ पनि छैन।

सरकारबाट दिने पुरस्कारलाई के भन्नुहुन्छ ?

सरकारले दिएको पुरस्कार ठीकै छ। यसरी जितेकालाई वर्षौंसम्म खेल्नका लागि सुविधा, जागिर, भत्ताको पनि व्यवस्था गरिदिए राम्रो हुन्छ। यसले के हुन्छ भने खेलाडीको भविष्य राम्रो छ है भन्ने सन्देश पनि जानेछ।

सरकारले योग्यताअनुसार जागिर मिलाइदिने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। खेल्न सकेपछि खेलाडीको भविष्य त सुरक्षित हुन्छ कमसेकम। अर्को खेलाडीलाई प्रोत्साहन हुन्छ र उनीहरूले महसुस गर्नेछन् कि ओहो ! खेलेर पनि नेपालमा बाँच्न सकिन्छ।

लोकप्रिय खेल फुटबलमा स्वर्ण जितेर ५ लाख पाउँदा पुग्छ त ?

सरकारबाट स्वर्ण जित्ने टिमलाई ५ लाख दिइने घोषणा भयो। प्रत्येकले ५–५ लाख पाउने छन्। मैले पनि ५ लाख नै पाउँदै छु। यसो हेर्दा स्वर्ण जित्ने टिमलाई ५ लाख दिइएको छ। व्यक्तिगततर्फ रजत पदक जित्नेको भन्दा १ लाख कम भयो।

यसमा सरकारको ध्यानाकर्षण हुनुपर्दछ। नीतिगत तरिकाले सरकारले पुरस्कार रकम दिने घोषणा हुनुपर्छ जस्तो लाग्छ। व्यक्तिगतलाई धेरै राम्रो भएको देखिन्छ।

भलिबल, बास्केटबल, फुटबल यी लोकप्रिय खेल हुन्। दर्शक धेरै तान्ने खेल यिनै हुन्। तर, यसका लागि पुरस्कार अलि विचार पुर्याएर दिनुपर्ने हो। हामीले भनेका छौं, सरकारले यसमा विचार गर्छ भन्ने आशा गरौं।

फुटबलको क्रेज नेपालमा फेरि फर्केको हो ?

फर्केको भनेको के हो ? पहिलेदेखि नै फुटबलमा क्रेज छ। नेपाली दर्शकलाई फुटबल खेल नै मन पर्छ। यो त वैशाख १२ गते गएको भूकम्पले दशरथ रंगशाला जीर्ण बनाएपछि फुटबलमा क्रेज कम भएको देखिएको मात्रै हो।

सागमा त्यति महँगो टिकट किनेर दर्शक आएका थिए। अझ जितले सुनमा सुगन्ध थपिदिएको छ। फरक यति मात्र हो कि पहिले दर्शक अलि रिसाउँछन्, अहिले खेलाडीले बिगारे पनि दर्शक प्रेरणा दिने खालका छन्। भन्नैपर्दा अहिले दर्शक भलादमी भएका छन्। उनीहरू अनुशासित छन्।

सिनियर राष्ट्रिय टिमको प्रशिक्षक कहिले बन्नुहुने ?

सिनियर राष्ट्रिय टिम हेर्नका लागि म तयार छु। एन्फाले आग्रह गर्यो भने म उपलब्ध हुनेछु। प्रशिक्षक बन्नुभन्दा पनि मेरो सिद्धान्त भनेको राम्रो गर्दै जाने हो। मलाई सिनियर टिम नै हेर्नुपर्छ भन्ने पनि छैन। कथंकदाचित प्रशिक्षक बन्ने मौका पाएमा म सक्षम टिम तयार गर्न लाग्नेछु।

सिनियर टिमले विश्वकपका बाँकी तीन खेल खेल्दै छ। घरेलु मैदानमा नतिजा हाम्रो पक्षमा आउन सक्ने आशा गर्न सकिन्छ ?

हाम्रो सिनियर टिम रामै्र छ, त्यति नराम्रो पनि छैन। हामीले यो पनि विचार गर्नुपर्छ कि नेपालका प्रतिद्वन्द्वी कति बलिया छन् भनेर? उनीहरू कम छैनन्। यसैले हामै्र मैदानमा खेल्ने भए तापनि नतिजा ल्याउन खेलाडीले नै मेहनत गर्नुपर्छ।

घरेलु मैदान भन्दैमा उनीहरूले नतिजा हाम्रो पक्षमा दिने त होइन। हामीले नतिजा निकाल्न सक्नुपर्यो। यसका लागि टिम गेम खेल्न उत्प्रेरित गर्नुपर्छ। तर लाग्छ केही सकारात्मक नतिजा त निस्कन पनि सक्छ।

प्रतिक्रिया दिनुहोस्