देशैभर हिउँदे झरीको प्रभाव



नेपाल समाचारपत्र, काठमाडौं।

पश्चिमी वायुको प्रभावले मुलुकभर हिमपात र वर्षा भएसँगै अधिकांश भेगको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ। बुधबार साँझदेखि भित्रिएको वायुको प्रभाव अझै यथावत् छ।

सुदूरपश्चिम, मध्यपश्चिमसहित पूर्वीपहाडी भेगमा आज आइतबार पनि हल्का हिमपातसहितको हिउँदे झरी दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘पूर्व र मध्य भेगको तुलनामा आइतबार पश्चिम र सुदूरपश्चिम क्षेत्रको मौसम केही बढी प्रभावित रहन्छ’, महाशाखाकी मौसमविद् मञ्जु वासीले शनिबार साँझ भन्नुभयो– ‘पश्चिमका पहाडी र हिमाली भेगमा हिमपात र अन्य ठाउँमा हल्का वर्षा हुनेछ।’

शुक्रबारको जस्तो भारी हिमपात र वर्षाको सम्भावना नरहेको उहाँले प्रस्ट्याउनुभयो। शनिबारको तुलनामा आज आइतबार काठमाडौं उपत्यका र आसपासका भेगको मौसम पनि प्रभावित बन्ने भएको छ।

महाशाखाले शनिबार विशेष बुलेटिन जारी गर्दै भोलि सोमबारदेखि भने मौसममा सुधार आउने जनाएको छ। यसपटक गत वर्षभन्दा एक महिनाअगावै वर्षा र हिमपात गराउने वायु नेपाल भित्रिएको हो।

गत वर्ष माघ पहिलो सातापछि मात्रै वर्षा र हिमपात गराउने प्रणाली नेपालमा आएको थियो। हिउँदेयाममा भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु–काश्मीर हुँदै सुदुरपश्चिमबाट नेपाल प्रवेश गर्छ।

सोही वायुको प्रभावले अहिले मुलुकभर वर्षा र हिमपात भएको हो। अन्यत्रको तुलनामा मध्य र सुदुर पश्चिमका उच्चभेगमा बाक्लो हिमपात भएको महाशाखाले पुष्टी गरेको छ।

हिउँदेयाममा पश्चिमी वायुको आंशिक प्रभाव तराईमा देखिन्छ भने सो भन्दा बढी पहाडमा र सबैभन्दा धेरै असर हिमाली भेगमा पर्ने गर्छ। शुक्रबार विहानदेखि शनिबार विहानसम्म कर्णाली प्रदेशको सुर्खेत र आसपासका भेगमा सबैभन्दा बढी ६९ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ।

डडेलधुरामा ६०, जुम्लामा ५५, दिपायलमा ५२, धनगढीमा ४७, नेपालगन्ज र पोखरामा ४०/४०, ताप्लेजुङमा ३६ र काठमाडौंमा ३३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। हिउँदेझरीको प्रभावले पदयात्रा र ग्रामिण भेगको यातायातसमेत प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्