सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप



इनरुवा । जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइ रहेका बाबालाई प्रहरीले आज जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।

आफूहरुले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन दिनको मात्र म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । थपिएको म्याद समाप्त भएपछि सिद्धबाबाको मिसिल अदालतमा बुझाइने प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

दुई पटक गरेर ११ दिनको म्याद अस्पतालमै गुजारेका सिद्धबाबालाई पछिल्लो पटक तीन दिन म्याद थप गरी पुनः विराट नर्सिङ होममै लगिएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले मिसिल बुझाएपछि कृष्णदास उपरको मुद्दामा थुनछेक बहस शुरु हुने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्