पीपीएल च्याम्पियनलाई २७ लाख



नेपाल समाचारपत्र, काठमाडौं।
पोखरामा यही मंसिर २८ गतेदेखि हुने नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा च्याम्पियन हुने टोलीले २७ लाख नगद पुरस्कार पाउने भएको छ। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सो पुरस्कार राशिको घोषणा गरेको हो।
आगामी पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दोस्रो हुने टोलीले १० लाख हात पार्नेछ। प्रतियोगितामा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
जसमा विराटनगर टाइटन्स, काठमाडौं गोल्डेन वारियर्स, धनगढी ब्लुज, चितवन राइनोज, बुटवल ब्लास्टर्स र पोखरा पल्टन रहेका छन्। पोखरा पल्टन गत संस्करणको विजेता टोली हो।
प्रतियोगितामा म्यान अफ द सिरिज, उत्कृष्ट ब्याटसम्यान र उत्कृष्ट बलर हुने ३ खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। जसलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभीएस मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधातर्फ मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र उदियमान खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइनेछ।
त्यस्तै प्रतियोगिताभरि प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिनेछ। जुन नेपाल टेलिकमले उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। प्रतियोगिताको पहिलो खेल डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनको सामना काठमाडौं गोल्डेन्ससँग हुनेछन्।

प्रतिक्रिया दिनुहोस्