दुई दुना एघार 



‘साग’ मा स्वर्ण सुन्दा नै कस्तो अचम्म– ‘मानौं, सागमा सुन, काउलीमा चाँदी र भान्टामा ताँबा’ तर सागप्रेमी धरहरालाई ‘सागमा स्वर्ण’ वाक्य असाध्य सुनिरहुँजस्तो लाग्छ। नेपालले सागमा ५१ वटा स्वर्ण पदक प्राप्त गरेको देखेर रायो, पालुँगो, तोरी, फापरआदिको साग मन पराउँदै आएकोमा धरहरा गर्व गर्छ।
खासगरी एउटा स्वर्णका लागि नौ लाख रुपियाँ सरकारले दिने कुराले त यो फुरुङ्गै भएको छ। पहिलो स्वर्ण जित्नुस् नौ लाख लिनुस्, दोस्रो जित्नुस् मात्र दुई लाखले चित्त बुझाउनुस्। किनभने एउटाभन्दा जति बढी स्वर्ण लिए पनि सरकारले दिने त्यही ११ लाखसम्म मात्र हो।

कसैले चार स्वर्ण जिते भन्दैमा नौ चौको छत्तीस दुनोटले काम गर्दैन। दुनोट फेल खान्छ स्वर्ण पदकका अगाडि। त्यसैले वर्तमान दुई तिहाईको सरकारका पालामा दुनोट पढ्ने हो भने– ‘एक एकान नौ, दुई एकान एघार, तीन एकान एघार, चार एकान एघार हुन्छ। पौडी नायिक गौरिका नेपालबाट यही दुनोट सिकेर घर फकिँदै छिन्। लण्डनबाट यही सिक्नलाई त उनी नेपाल आएकी ’

वास्तवमा गौरिका सरकारवादी रहीछिन्, पछि मात्र थाहा भयो। दुई तिहाई सरकारको उनले २५ लाख जोगाइदिइन्। आयशा र मण्डेकाजीले सात–सात लाख जोगाइदिए। यी सबै नै सरकारवादी रहेछन्– ‘एक–वटा मात्र स्वर्ण जितेर अरू कसैलाई त्यो स्वर्ण जित्ने अवसर दिएका भए विचरा सरकारको झ्याप्पै खर्च बढ्थ्यो, नयाँ दुनोट पनि सिक्न पाइने थिएन।’

प्रतिक्रिया दिनुहोस्