ग्रुप र इण्डिभिज्युलको लागि स्पेशल प्याकेज घोषणा गर्न सकिने छ



रमेश सिलवाल
सदस्य सचिव
राष्ट्रिय खेलकुद परिषद

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल परिषदमा आएका छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेर चर्चित बन्नुभएको छ। भर्खरै सम्पन्न १३औ दक्षिण एसियाली खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न उहांको ठूलो योगदान रहेको छ। राष्ट्रिय खेलकुद परिषदमा आएको साँढे चार महिनामा नै १३औं साग सफलतापूर्वक सम्पन्न गर्ने घोषणा गरेका उहांले उक्त घोषणालाई सार्थक पारेर नेपाली खेलकुदको इज्जत धान्न सफल हुनुभयो। १३ औं सागको विषयमा केन्दि«त रहेर सदस्य सचिव सिलवालसँग नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानीको सार संक्षेप:

कसरी सम्भव भयो छोटो अवधिको तयारीका बावजूद १३औं साग सफल ?
मेरो ध्यान नै साग गेम निर्धारित मितिमै गराउनेतिर थियो। त्यसको लागि पूर्वाधार निर्माणमा सुरुदेखि नै ध्यान दिएको थिएँ। सबैको साथ र सहयोगले हामीले सफल रुपमा १३औं साग सम्पन्न गर्यौ। यो हामी सबैको लागि खुसीको कुरा हो।

टिम ईभेन्टमा स्वर्ण जित्नेलाई जनही ५ लाख दिने भनेका छौं। यो रकम कम भयो भन्ने पनि कुरा सुनियो। फुटबलको कुरा गर्दा २३ जनालाई जनही ५ लाखको दरले दिँदा एक करोड १५ लाख हुन्छ। ग्रुप र ईण्डिभिज्युलको लागि स्पेशल प्याकेजपनि घोषणा गर्न सकिने छ।

छोटो समयमा पूर्वाधार कसरी ब्यवस्थापन गर्नुभयो ?

१३औ सागको लागि चाहिने आवश्यक पूर्वाधार निर्माणको लागि आफूले पहिलो पहलकदमी लिएको थिएँ। केही पूर्वाधार पहिल्यै बनिसकेका थिए। म आएपछि धेरै पूर्वाधार बनायौं।

पोखराको रंगशालाको सवालमा पनि मैले प्राकृतिक घांसमा जोड दिएँ। १६ हजार ५ सय दर्शक क्षमताको रंगशालाई विस्तार गरेर २० हजार क्षमताको बनाईयो। त्यहीअनुरुप काम गर्यौ। यो सागमा मात्रै हामीले १३ हजार सिट जडान गर्यौ। अबको तीन महिनाभित्र हामी यसलाई पूर्णता दिन्छौं।

साग तयारीमा के कस्तो समस्या आईपर्यो ?
वर्षाका कारण पूर्वाधार निर्माणमा केही ढिलाई भएको थियो। दशैं, तिहार थियो, त्यसले पनि केही असर गर्यो। यो बीचमा चिनियाँ राष्ट्रपति र बंगलादेशका राष्ट्रपतिको पनि भ्रमण भयो। त्यसले पनि पूर्वाधार निर्माणको काम १०–१२ दिन ढिला भयो।

प्रतियोगिता अगावै नेपालले ५० भन्दा बढी स्वर्ण जित्छ भन्नुभएको कुरा सत्य सावित हुँदा कस्तो लागिरहेको छ ?

मैले सागअघि नै नेपालले कम्तिमा पनि ५० स्वर्ण पदक जित्छ भनेर घोषणा गरेको थिएं। तर हामीले गरेको लक्ष्यमा आशंका गरियो, यो स्वभाविक पनि थियो। किनकी १२ औं सागमा नेपालले जम्मा तीन स्वर्ण जितेको थियो। यो पटक हामीले राम्रो तयारी गरेका थियौं।

खेलाडी, प्रशिक्षकलाई हामीले असार मसान्तबाट क्लोज्ड–क्याम्पमा राखेका थियौं। सागको लागि असोज ६ गतेमात्रै कार्यविधि प्राप्त भएपनि अन्य बजेट र ऋणमार्फत् प्रशिक्षणको कामलाई गति दिएका थियौं।

स्वर्ण ५० कट्यो, यो सफलताको आधार के हुन ?

खेलाडीहरू पनि उत्साहित थिए। विभिन्न २१ खेलको प्रशिक्षण विदेशमा गराएका थियौं। हामीले अभ्यास मात्रै गराएनौं, खेलाडीहरूलाई विभिन्न प्रतिस्पर्धामा समेत उतारेका थियौं।

एक खेलाडीले कम्तिमा पनि तीन प्रतिस्पर्धामा भाग लिएका थिए। नेपाली जनताको आर्शिवादको कारणले १३औं सागमा यो परिणाम हासिल गर्न सफल भएको हो।

उद्धघाटन र समापन समारोह भब्य थियो, कम समयका बावजूद कसरी सम्भव भयो ?

मिति नजिकीसक्दा पनि १३औं साग हुने की नहुने भनेर आम जनतामा चासो र कौतुहलता थियो। दशरथ रंगशाला निर्माणाधिन अवस्थामा नै थियो। हामीले सशस्त्र, नेपाली सेना, नेपाल प्रहरी र विभिन्न स्कुलमा तयारी गरेका थियौं। उद्घघाटन पनि राम्रै भयो। सागको व्यवस्थापनको सवालमा झिनामसिना अवस्थाबाहेक सबैमा सफल भएको मान्नुपर्छ।

छोटो अवधिमा खेलाडी तथा अफिसियलको बसोबास कसरी ब्यवस्थापन गर्नुभयो ?

खेलाडीहरूले यसअघिका प्रतियोगितामा होटलको बारेमा विभिन्न गुनासोहरू पोख्ने गरेका थिए। तर यो पटक भने कुनै गुनासो आएन। नेपाली खेलाडीहरूलाई हामीले चारतारे र पाँचतारे होटलमा राख्यौं। उनीहरू खुसी थिए। यसले खेलाडीमा पनि उच्च मनोवल थपिएको थियो। खेलाडीहरूलाई मोटिभेशनल क्लास गर्यौ। एन्टी डोपिङबारे क्लास दियौं।

विगतभन्दा यसपटक खेलाडी तयारीमा कस्तो भिन्नता थियो ?

यसपटक हामीले यसअघिका स्वर्ण, रजत, कास्य पदक विजेता नेपाली खेलाडीहरूसँग पनि प्रतिस्पर्धी खेलाडीहरूसँग अन्तरक्रिया गराएका थियौं। रोलमोडल खेलाडी र विज्ञहरूहरू र खेलाडीहरूबीच अनुभव आदानप्रदान गरायौं।

उनीहरूलाई गीत–संगीतको माध्यमबाट रिफ्रेश गरायौं। खेलाडीहरूको लागि डाईटिसियन र न्यूट्रिसियन पनि उपलब्ध गरायौं। खेलाडीहरूको लागि सन्तुलित भोजनको पनि व्यवस्थापन गर्यौ। साग समापन नहुञ्जेलसम्म कुनैपनि विवाद नआओस् भनेर कडा निर्देशन दिएकोले सबै एक भएर प्रतियोगिता सफल बनाउनतिर लागेका थिए।

सबै खेललाई समान रूपले नहेरेको भन्ने कुरामा कत्तिको सत्यता छ?

१३औं सागमा हासिल गरेको परीणाम नेपालको ईतिहासमै अहिलेसम्मकै सबैभन्दा राम्रो हो। यसलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनु पर्छ। हामीले सबै खेललाई उत्तिकै महत्व दियौं। प्रधानमन्त्री केपी शर्मा ओलीबाट खेलाडीहरूको लागि साग सकेको भोलिपल्टै नगद पुरस्कार पनि घोषणा गरियो।

जसअनुसार स्वर्ण जित्नेलाई ९ लाख, रजत पदक विजेतलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख दिने घोषणा भएको छ। टिम ईभेन्टमा स्वर्ण जित्नेलाई जनही ५ लाख दिने भनेका छौं। यो रकम कम भयो भन्ने पनि कुरा सुनियो।

फुटबलको कुरा गर्दा २३ जनालाई जनही ५ लाखको दरले दिँदा एक करोड १५ लाख हुन्छ। ग्रुप र ईण्डिभिज्युलको लागि स्पेशल प्याकेजपनि घोषणा गर्न सकिने छ। यसपटक सरकारले खेलाडीहरूको लागि घोषणा गरेको पुरस्कार विगतको भन्दा दोब्बर हो।

पुरस्कार राशि भविष्यमा बढ्ने सम्भावना छ ?

हामीले विगतको भन्दा दोब्बर पुरस्कार दिने घोषणा गरेका छौं। यसलाई कम भन्न मिल्दैन्। प्रधानमन्त्रीज्यूले पनि यो पुरस्कारलाई यत्तिकैमा सिमित गरिँदैन् भन्नुभएको छ। पुरस्कारको राशीलाई बढोत्तरी गर्ने भन्नुभएको छ। यो सुरुवात हो, अन्तिम होईन्। अब खेलाडीले पनि ध्यान दिनुपर्छ।

नेपाली खेलकुदको वृद्धिविकासका लागि कस्तो योजना रहेको छ ?

हामी योजनासहित अघि बढ्न लागेका छौं। उधमी, व्यवसायी, नेपाल उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ, बैंकर्स एशोसिएसन, प्याब्सन, एनप्याब्सन, हिसानसँग अब सहकार्य गरेर अघि बढ्छौं। बैंकहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदमा लगानी गर्नुपर्नेगरि प्रस्ताव गरेका छौं। उहाँहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ।

आगामी लक्ष्य के हो ?

अबको लक्ष्य भनेको १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्वकपसम्म रहेको छ। यसप्रति आफूहरू जिम्मेवार र गम्भिर भएर लाग्छौ। दक्षिण एशियाली खेलकुदमा त हामी पावर हासउको रुपमा उदायौं। अब एसियन गेम हुँदै विश्वकपसम्म हुनेछ। त्यहीअनुसारको प्रशिक्षण र तयारी गर्छौं।

खेल संघ र राखेपबीच कसरी समन्वय गर्ने योजना छ ?

नेपालमा भएका सबै संघ तथा संस्थाहरूलाई यसअघि गरेका काम र अब गर्ने योजनासहित निर्देशन दिएका छौं। नेपालमा १ सय ५६ वटा खेल संघ–संस्थाहरू छन्। मैले तीनपटक पत्र काटिसकें। तीन वर्ष अघिको कामको उपलब्धि र अब यो वर्षको उद्देश्य राखेर जवाफ पठाउन भनेको थिएँ।

तर, अहिलेसम्म ७० वटा संघ–संस्थाले मात्रै जवाफ फर्काएका छन् भने बाँकी ८६ वटाले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्। मैले अन्तिम चेतावनी दिएको छु। अब पनि कुनै जवाफ नआए, म विकल्पमा लाग्छु। क्रियाशिल नभएका संघलाई क्रियाशिल बनाउछु। यदि क्रियाशिल नभए नयाँ संघ बनाएर गति दिन्छु।

खेलकूदलाई ब्यवसायिकरण गर्नेतर्फ राखेपको कस्तो सोच छ ?

नेपालको खेलकुद क्षेत्रलाई क्रमिक रुपमा सुधार गर्दै र अघि बढाउने सोच छ। खेललाई उत्पादनशील क्षेत्रको रुपमा अघि बढाउँछौं। फुटबलको कुरा गर्दा अब हामी लिग खेल सुरु गर्दैछौं। यही २८ गतेबाट लिग सुरु गर्छौं। क्रिकेट, भलिवलको पनि लिग खेलाउँछौं।

व्यवसायिक घरानासँग लिगको लागि कुरा राखेका छौं। खेलाडीहरूको जीवनस्तर उकास्ने र वृद्धि गर्नेगरि हामी अघि बढ्छौं। खेलमै लागेको कारण खेलाडीहरूलाई अभिभावकले बिग्रिए भन्ने वातावरणको अब अन्त्य हुनेछ।

नयाँ खेलाडी उत्पादनका लागि कस्तो योजना छ ?

खेलाडीहरू अब ग्रास–रुटबाटै उत्पादन गरिनेछ। यसको लागि पुसको अन्तिमबाट १६ वर्ष मुनिको राष्ट्रपति र उपराष्ट्रपति कपको आयोजना गर्दैछौं। जिल्ला, प्रदेश हुँदै संघमा खेलाडी ल्याउँछौं। त्यसपछि राम्रो खेलाडीलाई चयन गर्नको लागि ‘ट्यालेन्ट–हन्ट’को पनि आयोजना गर्छौं।

त्यतिमात्रै होईन अबदेखि खेलाडीहरूको रजिष्ट्रेशन पनि गरिने छ। उनीहरूको सिभी, बायोडाटा अनलाईनमार्फत् नै हेर्न मिल्नेगरि राखिनेछ। खेलाडी, प्रशिक्षक तथा खेलसम्बद्ध व्यक्तिहरूको सुविधाको लागि दरशथ रंगशाला परिसरमा साउना, जाकुजी, जुम्बा, आईस सेन्टरसम्मको सुविधासम्पन्न ‘फिजिकल–सेन्टर’ बनाईने महत्वकांक्षी योजना छ।

खेलकर्मीको स्वास्थ्यको विषयमा राखेप कत्तिको गम्भीर छ ?

अहिले रहेको हेल्थ–सेन्टरमा ५ करोडको अत्यावाश्यक आधुनिक उपकरण तथा सामाग्री भित्राएका छौ। यसले उपचारको लागि राम्रो व्यवस्थापन गर्छ। खेलाडी, प्रशिक्षक र खेलपत्रकारहरूलाई विशेष सुविधा दिनेछौं। कतिपयलाई निशुल्क र कतिपयलाई अत्यधिक कममा शुल्कमा सेवा दिन्छौं।

खेल प्रचार प्रसारलाई अझै कसरी चुस्त बनाउन सकिन्छ ?

यसका लागि आगामी एक वर्षभित्र खेलकुदको आफ्नै बुलेटिन निकाल्ने र खेलसम्बन्धी कार्यक्रम एफ.एम र टिभीबाट प्रसारण गरिनेछ।

खेलस्थलको अभावलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ ?

आगामी चार वर्षभित्र ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने योजना रहेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनबाट गण्डकी प्रदेशमा आयोजना गर्दैछौं। तीन महिना अघि नै न्यूनतम आधारभूत संरचना पूरा गरिसक्छौं।

१३औं सागमा भएको खर्चको हिसाबकिताब कसरी गर्नुहुन्छ ?

कर्मचारीको स्थायित्व, सुशासन र पारदर्शीता अपनाउने छु। सागमा भएको सम्पूर्ण खर्चको हिसाबकिताब मैले ९० दिनभित्र सबै बाहिर ल्याउँछु भनेर सार्वजनिक प्रतिबद्धता जनाईसकेको छु। त्यो भन्दा पहिले नै सार्वजनिक गर्ने प्रयास गर्छु। सबै हिसाबकिताब म तपाईहरूलाई जानकारी गराउँछु।

पदकधारीले कसरी पुरस्कार पाउने छ ?

एक स्वर्ण जित्नेले ९ लाख पाउनुहुन्छ। र, एकभन्दा बढि स्वर्ण जित्नेले ११ लाखको दरले पाउनुहुनेछ। गौरिका सिंहले ११ लाखको दरले करिब ५९ लाख पाउनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्