लडाकू हमलामा ७१ जना सैनिक मारिए



नियामी, (एजेन्सी)।

नाइजरको पश्चिम भागमा रहेको एउटा सैनिक अखडामा आक्रमण गरी लडाकूहरुले कम्तिमा ७१ जना सैनिकको हत्या गरेका छन्। वर्षौंपछि भएको यो सबैभन्दा भयानक आक्रमण हो। सैनिक सूत्रका अनुसार इनेट्समा भएको यस हमलामा अन्य १२ जना सैनिक घाइते भएका छन्।

यस हत्याकाण्डका लागि अझैसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। हजारौं संख्यामा क्षेत्रीय र विदेशी फौजको उपस्थितिका बाबजुद यसै वर्ष साहेल क्षेत्रमा अन्तर्राष्ट्रिय लडाकू समूह अलकायदा र इस्लामिक स्टेट (आईएस) ले पटक–पटक आक्रमण गरिसकेका छन्।

अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुले नाइजरमा असुरक्षा अचाक्ली रूपमा बढिरहेको बताएका छन्। बिहीबार नाइजरका रक्षामन्त्री इस्सोफोउ काताम्बले मंगलबार राति भएको सो आक्रमणको दौरानमा ठूलो संख्यामा आतंककारी पनि मारिएको बीबीसीलाई जानकारी गराएका छन्।

उनले मालीको सिमानासंगै रहेको इनेट्समा भएको यस घटनामा सेनाको सयौं संख्यामा आएका आतंककारीहरुसँग लामो समयसम्म भिडन्त भएको बताएका छन्। स्थानीय सञ्चार माध्यमले सोमबार पनि ताहोउवामा अर्को सैनिक शिविरमा लडाकूहरुबाट आक्रमण भएको पुष्टि गरेको छ।

मंगलबार आक्रमण भएको घटनास्थलनजिकै गाउँ टोन्गो टोन्गोमा सन् २०१७ को अक्टोबरमा भएको आक्रमणमा चार जना अमेरिकी र पाँचजना नाइजेरियाली सैनिक मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्