त्रिदेशीय सीमामा राज्यको उपस्थिति ६ महिना मात्रै



नेपाल समाचारपत्र, दार्चुला ।
सौका समुदायको जिल्ला सदरमुकाम खलंगा बसाइँसराइसँगै दार्चुलाको व्यास गाउँपालिका–१ मा रहेको छाङरुमा रहेको प्रहरी चौकी वडा नम्बर २ दुम्लिङ सरेको छ। व्यासको छागंरु र तिंकर क्षेत्रमा यस वर्षको हिमपात शुरु भएसँगै सौका समुदायको बसाइँसराइ र प्रहरी चौकी चिसो छल्न तल झरेको हो।
गत वैशाखमा नेपालतर्फ बाटो नहुँदा हेलिकप्टरमार्फत् व्यासको छांगरु र तिंकरमा सारिएको प्रहरी चौकी दुम्लिङ झर्ने बेला भने नेपालकै बाटो भएर सरेको छ। मान्छे आउजाउ गर्नेसम्मको बाटो भएका कारण प्रहरी चौकी नेपालकै बाटो सार्न सकिएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी दिपेन्द्र शाहीले बताउनुभयो।
भारत अतिक्रमित कालापानी क्षेत्रसमेत नजिक रहेको व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना बस्ने गरी सशस्त्र प्रहरी बलको बीओपी स्थापनाका लागि जग्गा व्यवस्थापन तथा सुरक्षा बन्दोबस्ती गर्नुपर्ने प्रस्तावसहित गत वर्ष जिल्ला सुरक्षा समितिले केन्द्रमा फाइल पठाएको भए पनि हालसम्म पनि बीओपी स्थापना हुन सकेको छैन।
राज्यको पहुँच नपुग्दा दार्चुलाको उत्तरी व्यास गाउँपालिकामा पर्ने त्रिदेशीय सीमाक्षेत्रमा रहेको नेपाली भू–भाग असुरक्षित बनेको छ।सो क्षेत्रमा बाह्रै महिना सुरक्षाको प्रबन्ध मिलाउनुपर्ने स्थानीयहरूको माग छ। हरेक वर्ष चिसोका बेला बसाइँ सर्ने प्रक्रियालाई सौका समुदायमा ‘कुञ्चा’ भन्ने गरिएको छ।सौका समुदाय गर्मी मौसममा हिमाली भेगमा बसोवास गर्ने र चिसो मौसममा सदरमुकाम झर्ने गर्दछन्। व्यासबाट दार्चुला सदरमुकाम आउँदा नेपालतिर बाटोघाटो नभएपछि वर्षैपिच्छे भारतको बाटो भएर आउनुपर्ने बाध्यता छ। वर्षायाममा मात्रै खेतीपाती गरिने व्यासमा बसोबास गर्ने सौका समुदाय अब वैशाखमा मात्रै घर फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्