मदिरा नियन्त्रण गर्दै टोल सुधार समिति



जाजरकोट, (नेस) ।

भेरी नगरपालिका–३ का स्थानीयहरू टोल सुधार अभियानमा जुटेका छन्। पिपलडाँडाका स्थानियले सिद्धिगणेशटोल विकास समिति गठन गरेर समुदायलाई मदिरा निषेधित टोल बनाउने अभियानमा जुटेका छन्।

जनक पुस्तकालयदेखि ठाँटी बजारसम्म कार्यक्षेत्र रहेको टोल सुधार समितिले यसको बीच क्षेत्रमा जाँड रक्सी उत्पादन, बिक्री वितरण, सेवन गर्न नपाईने, सेवन गरेको पाईएमा समितिले जरिवाना गर्ने टोल विकास सुधार समितिका अध्यक्ष विजयजंग शाहले बताउनुभयो। स्थानीय प्रशासन कार्यालयबाट अनुमति लिएर अभियान चलाएको समितिले सामुदायिक प्रहरीको सहकार्यमा जाँड, रक्सी नियन्त्रण गर्न लागेको अध्यक्ष शाहले जानकारी दिनुभयो।

एक हप्ता अगाडी जाँड, रक्सी उत्पादन र बिक्री वितरण नगर्न सार्वजनिक सूचना जारी गर्दापनि टोल विकास सुधार समितिले प्रहरीको सहयोगमा छापा मार्दा विभिन्न ठाउँमा जाँड, रक्सी बनाइएको पाइएको थियो। उक्त स्थानहरूबाट जाँड बरामत गरी नष्ट गर्ने क्रममा जाँडमा फोहोर कपडा प्रयोग गर्ने गरेको अध्यक्ष शाहले बताउनुभयो।

मानव स्वास्थ्यलाई असर गर्ने मदिरा जन्य पदार्थ स्थानीय सरोकारवालाहरूको रोहवरमा नष्ट गरिएको हो। टोल सुधार समितिले मदिरा वरामत गर्नु अघि मदिरा फेला परेका स्थानीयलाई सचेत गराएको थियो।

टोल सुधार समितिले जाँड रक्सी उत्पादन गर्नेलाई १० हजार रुपियाँ, खानेलाई पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको टोल सुधार समितिका सचिव गिता सिंहले बताउनुभयो। टोलका नागरिकहरूको पहलमा हरेक शनिबार टोल सरसफाई गर्ने गरेको छ। जाँड, रक्सीले समाजमा अशान्ति, महिला हिंसा, दुव्र्यावहार, चोरी, बलात्कारजस्ता घटना बढेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्