ट्रिपर दुर्घटनामा दुईको मृत्यु



नेपाल समाचारपत्र, काठमाडौं ।

हिल्सादेखि याल्वाङ आउँदै गरेको बा५ख ५३८४ नम्बरको ट्रिपर हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को तुम्कोट भीरमा दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ का हेप्का गाउँका २५ वर्षीया सोनाम मिगुर लामा र नाम्खा–४ बस्ने साबेल लामा रहेका छन्।

दुवैको सनाखतपछि आफन्तजनले शव बुझेका छन्। दुर्घटनामा परी घाइते हुनेमा ट्रिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २५ वर्षीय कुलमान तामाङ र हुम्लाको नाम्खा गाउँपालिका–१ का ३२ वर्षीया सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

घाइते चालकसहित लामाको अहिले स्थानीय मुचु स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। ट्रिपर भीरबाट ७ सय मिटरभन्दा तल खसेको उहाँले बताउनुभयो।

हिल्सादेखि खाद्य वस्तु र डिजेल बोकेर याल्वाङ जाँदै गरेको ट्रिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ। हुम्लामा हिजो बिहीबार बिहानदेखि हिमपात भएका कारणले हिउँमा चिप्लेर दुर्घटनामा भएको हुन सक्ने जिल्ला प्रहरीले आशंका गरेको छ।

प्रतिक्रिया दिनुहोस्