दलित पत्रकार संघमा गजमेर



काठमाडौं, (नेस)।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुनसरी जिल्ला शाखाको प्रथम भेला सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ सुनसरीको हलमा बुधबार सम्पन्न प्रथम जिल्ला भेलाले दिनेश गजमेरको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।सो समितिको उपाध्यक्ष शान्ति गजमेर, सचिवमा विनोद दर्नाल, सहसचिवमा विमला विश्वकर्मा र कोषाध्यक्षमा शकुन्तला त्रिखत्री चयन हुनुभएको छ।

सुनसरी जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका दलित समुदायको सो भेलाले भीम लामिछाने, उषा परियार, प्रमोद पोर्तेल, भूमिका रसाइली, लोकेन्द्र अछामी, विनोद रसाइली, नवीन रम्तेल, सुविन विश्वकर्मा, मनीषा विश्वकर्मा र खिलानाथ विश्वकर्मालाई सदस्य चयन गरेको छ।

भेलाले दुई सदस्य भने रिक्त राखेको छ।राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुनसरी जिल्ला भेला आयोजक समितिका संयोजक तारा लामगादेको अध्यक्षता भएको सो भेलाले राजन केडी, रणध्वज लोहार र अनिता रसाइलीलाई सल्लाहकार चयन गरेको छ।

सो भेलाको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य अनिता परियारले दलित समुदायमा सञ्चारकर्मी एक भएर अघि बढ्दा सिंगो दलित समुदायलाई प्रेरणा मिल्ने बताउनुभयो। संघले दलित आन्दोलनको हिस्सा बन्ने उहाँको अपेक्षा थियो।

सो भेलामा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले संघ स्थापनाको छोटो समयमै दलित सञ्चारकर्मीको मन जितेको र आगामी दिनमा देशभरका दलित सञ्चारकर्मी संघमा आबद्ध भइसक्ने बताउनुभयो। उहाँले संघले दलित समुदायका सञ्चारकर्मीको हकहित र संरक्षणका लागि काम गरिरहेको जानकारी दिनुभयो।

भेलामा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्की, दलित विकास समितिका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य किशोर परियार, परियार सेवा समाजका खगेन्द्र परियार, विश्वकर्मा समाजका केदार बराइली, मरिक सेवा समाजका रामधारी मरिकलगायतले भेला सफलताको शुभकामना दिँदै संघले उत्पीडनमा परेका दलित समुदायको आवाज बोल्नुपर्नेमा जोड दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्