खेलाडीको सम्मान



सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेताका लागि घोषणा गरेको पुरस्कार र सम्मानको सर्वत्र प्रशंसा भएको छ। स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख र एकभन्दा बढी स्वर्ण पदक जित्नेलाई ११ लाख र रजत तथा कास्यका लागि क्रमशः ६ लाख र ३ लाख रुपियाँ प्रदान गर्ने घोषणा सबैका लागि प्रेरक पनि छ। खेल पेसा हुन नसकिरहेको अवस्थामा सरकारको यस प्रकारको घोषणाले खासगरी खेल क्षेत्रमा लाग्ने भावी पुस्ता अभिप्रेरित हुने निश्चित छ।

सरकारले खेलाडीलाई प्रोत्साहनस्वरूप दिने पुरस्कार सकारात्मक भएको खेलकर्मीको धारणा छ। दीर्घकालीन योजनाका साथ पुरस्कार दिइएको हो भने यसको प्रभाव गुणात्मक हुने निश्चित पनि छ।

सरकारले दिने रकमको सापेक्षतामा अन्य निकायले पनि खेलाडीलाई प्रोत्साहित गर्ने वातावरण तयार हुनेछ। खेलाडीले देशको नाम उच्च बनाउने र आफ्नै लोकप्रियता पनि बढाउने भएका कारण यस क्षेत्रमा निजी लगानीका साथ सहभागी हुने समूह पनि सानो छैन।

खेल अवधिभर सबैकी प्यारी र नायिकाजस्तै चर्चित बनेकी किशोरी गौरिकाकै सन्दर्भ हेर्दा बेलायतमा रहेका उहाँका मातापिताले आफ्नो खल्तीबाट ठूलो धनराशि लगानी गरेर छोरीलाई देशको नाम उच्च बनाउन पठाएको देखिन्छ।

मुलुकका लागि निजी सम्पत्तिको लगानी गर्न असजिलो नमान्ने नेपालीको परिमाण सानो छैन, तर यसरी लगानी गर्ने हैसियत नभएका तर मन भने फराकिलो रहेका नेपाली, जो अझ ठूलो परिमाणमा छन्, उनीहरूका लागि पनि सोचेर सरकारले नीति बनाउनु आवश्यक हुन्छ।

अर्कातिर एक पटक ठूलो धनराशि पाएका खेलाडीले प्राप्त रकम यही क्षेत्रमा लगाउँछन् भन्ने सुनिश्चितता यस सन्दर्भमा महत्वपूर्ण छ। त्यसैले एकमुष्ट रकम दिनु त ठीक छ, तर यसका साथ खेलाडीको जीविकोपार्जन गर्नसक्ने गरी प्याकेज कार्यक्रम ल्याउनसक्नु अझ स्वागतयोग्य हुनेछ।

सरकारले खेलाडीको योग्यताअनुसार संस्था, बैंक वा सरकारी कार्यालयमा जागिरको व्यवस्था गरिदिनु झन् राम्रो हुन्छ भन्ने धारणा पनि खेल क्षेत्रकै विज्ञहरूबाट आएको छ, जो मननीय छ।

सरकारले स्वर्ण पदक विजेता टिमका खेलाडीलाई ५–५ लाख र कोचलाई ५ लाख दिइने पनि घोषणा गरेका कारण खेलाडी मात्र नभएर सम्बद्ध सबै पक्षप्रति ध्यान दिन खोजेको नै देखिन्छ।

यद्यपि समूहगत प्रतिस्पर्धामा रजत र कास्य जित्ने खेलाडीलाई रकम दिने–नदिने सम्बन्धमा भने सरकारको दृष्टि नपुगेको देखिन्छ, जसलाई छिटै सच्याइने अपेक्षा गर्नु अन्यथा हुनेछैन।

मुलुकप्रतिको सेवा र देशभक्तिको परिभाषा र दायरा फराकिलो भएको छ। सिमानामा हतियार चलाउने मात्र नायक हुने युग समाप्त भएको छ, न त आमुन्ने–सामुन्नेको भौतिक उपस्थितिमा मात्र देशभक्ति सीमित हुन्छ।

सात समुद्रपारि रहेका नेपालीले पनि मुलकका लागि योगदान गर्नसक्ने सत्य यस पटक खेलबाटै प्रमाणित भएको छ। खेलको माध्यमबाट मुलुकलाई माथि उठाउन सकियो भने बारम्बार सर्वोच्च शिखर सगरमाथा र पच्चीस सय वर्षअघिका गौतम बुद्धलाई मात्र बढी बोझ पर्ने थिएन।

प्रतिक्रिया दिनुहोस्