भ्रष्टाचार विरुद्ध एकजुट हौं



अख्तियार दुरूपयोग अनुसन्धान आयोग, जसको नाम लिनासाथ या योसँग जोडिँदाको बखतमा एक किसिमको भय पनि, अर्कोतर्फ उत्तिकै भरोसा पनि। दुवैको गठजोडमा नागरिकको भरोसा यसप्रति बढी नै छ।

यद्यपि, स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रमा भने भय बढी देखिन्छ। यसलाई अझ भन्न सकिन्छ कि निजामती कर्मचारीतन्त्रमा अख्तियारको भयग्रस्त अवस्था विद्यमान देखिन्छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मूलतः भ्रष्टाचार नियन्त्रण गर्ने मक्सतका साथ गठित आयोग हो। यसले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन, जवाफदेहिता र पारदर्शितालाई संस्थागत गर्न भूमिका खेल्छ। प्राप्त अधिकार दुरूपयोग भएकाहरूको हकमा यसले आवश्यक काम कारबाहीको कदम चाल्छ र चाल्नुपर्छ, यो अख्तियारको दायित्व र जिम्मेवारी हो।

तर, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा अख्तियारको भूमिकाका विषयलाई लिएर अख्तियार आतंक देखिएको चर्चा र बहस चलिरहेको छ। सरकारी कर्मचारीहरू जनताको करबाट तलब खाइरहे पनि जनताप्रति उत्तरदायी र जवाफदेही नदेखिएको गुनासो व्यापक छ। उनीहरू अख्तियारलाई देखाएर कुनै पनि किसिमको जोखिम बहन गर्नै खोज्दैनन्।

यो उनीहरूका लागि मीठो बहाना बन्ने गरेको छ। जसको प्रत्यक्ष असर विकास निर्माणदेखि सरकारी काममा समेत परेको छ। यो प्रस्ट छ कि राम्रो र असल नियतले काम गर्ने कर्मचारीहरू डराउनै पर्दैन र डराउन जरुरी पनि छैन। जनताको आशा एउटा र अख्तियारको काम अर्को भइरहेको छ।

अरूले अख्तियार दुरूपयोग गरे वा नगरेको खोज, अनुसन्धान र छानबिन गरी कारबाही गर्ने अख्तियारका कर्मचारीदेखि प्रहरी अधिकृतसम्म आफंै रंगेहात पक्राउ परेको घटनाले अख्तियार आंतक धेरथोर प्रस्ट हुन्छ। अख्तियार तथ्य र आधारहीन उजुरीका बारेमा प्रस्ट हुनु आवश्यक छ।

कसैले नाम नराखी बेनामी उजुरी जसले जसका नाममा हाले पनि हुने र अख्तियारले अनुसन्धान गर्न शुरू गर्नासाथ भ्रष्टाचारको कालो दाग लाग्ने जोखिमलाई सामान्य कदापि आँकलन गर्न हुँदैन। भ्रष्टाचारमा शून्य सहनशीलता जरुरी विषय हो।

सुशासनयुक्त सभ्य समाज निर्माणका लागि सार्वजनिक पद र निकायमा रहेका व्यक्तिहरूले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने जरुरत छ। यद्यपि, यसमा पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका र गर्नुपर्ने सार्वजनिक पदमा आसीन व्यक्तिहरूको गलत नियतले खराब पात्र र प्रवृत्तिले बढावा पाइरहेको छ।

अख्तियारले फर्जी उजुरीका नाममा कसैलाई पनि फगत दुःख दिएर बदनामी गर्नुहुन्न। अख्तियारले सूक्ष्म हिसाबले अध्ययन, अनुसन्धानको पाटो अघि बढाउनुपर्छ। दाषी नउम्कोस्, निर्दोष नफसोस् भन्ने सिद्धान्तबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग विचलित हुनुहुँदैन।

अख्तियारप्रति भ्रष्टाचारीहरू भयग्रस्त हुने अवस्था सिर्जना गर्नुपर्छ र आमनागरिकले अख्तियार दुरूपयोग गरेको अवस्थामा अख्तियारप्रति भरोसा गर्ने आधार पनि जीवन्त बनाइराख्नुपर्छ। तब मात्र हामी बिस्तारै भ्रष्टाचारमा शून्य सहनशीलताको दिशामा अघि बढ्न सक्छौं।

पवित्र न्यौपाने, गैरीधारा, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्