आफैं गेटपाले बसेर श्रीमतीलाई जबरजस्ती धन्दामा



नेपाल समाचारपत्र, बाँके।

फेसबुकमा चिनजान, सामान्य परिचयबाट शुरू भएको कुराकानी प्रेममा परिणत, ६ महिनामै गहिरो प्रेम।बाँकेका केटा फेसबुके प्रेमिकालाई भेट्न पोखरा पुगे। दुवैको भेटघाट भयो। होटलमा बसे। केटाले म तिमीलाई लिन आएको भन्न थाल्यो। फेसबुकमा त माया प्रेमका कुरा भएकै थियो। त्यति टाढाबाट केटा आएपछि केटीमा अझ विश्वास पलायो। घरमा दिदीलाई मात्रै भनेर केटी बाँकेतिर हिडिन्।

फेसबुकमा चिनजान भएको केटा कस्तो हो, के हो ? केटीले सोच्दै सोचिनन्। प्रेममा ‘आँखा नदेख्ने’ भइन्। दुवै जना बाँके आए। केटाले प्रेमिकालाई घरमा लग्यो। संयोग भनौ या केटाले मिलाएको थियो, त्यसबेला उसको श्रीमती माइती गएकी रहिछन्। चार दिनमा घरमा राखेपछि उसले काम गर्ने र उतै बस्ने भनेर भारत लग्यो। फेसबुके मायामा अन्जान व्यक्ति, ठाउँमा आएकी केटी विश्वासमा पर्दै गइन्। दुवै जना भारत गए।

भारतमा पुगेपछि केही समय राम्ररी नै दिनचार्य बित्यो। एक दिन केटाले ‘हामीले धेरै पैसा कमाउनु पर्छ। तिमीले मैले भनेअनुसार काम गर’ भनेर कोठामै बेश्यालय चलाउने योजना सुनायो। उसले भन्यो, ‘म ग्राहक खोजेर ल्याउँछु। उनीहरूसँग पाँच सय लिएर भित्र पठाउँछु। तिमीले उसले भनेअनुसार गर्नु। भित्र पनि थप पैसा माग्नु।’

केटीले शुरूमा त ‘मजाक’ गरेको होला भन्ने सोचिन्। पटक–पटक यस्तो भनेपछि उसले एक दिन केटालाई ‘तिम्री बहिनी र आमालाई पनि ल्याउनु धेरै कमाई हुन्छ’ भनि दिइछन्। त्यसपछि केटाले पिट्न पनि शुरू गर्यो। त्यसको तीन दिनपछि राति ११ बजे दुई जना अपरिचित युवा कोठामा आए। श्रीमान् भन्नेले नै अपरिचितलाई ल्याएर श्रीमती सुतेको कोठामा हुले।

ती दुई जनाले जबरजस्ती गरेर गए। त्यसपछि उसले दैनिक ग्राहक खोजेर ल्याउने र श्रीमती भएको कोठामा पठाउने गर्न थाले। दिउँसो श्रीमतीलाई थुनेर राख्ने र आफू ग्राहक खोज्न जाने अनि रातिमा ग्राहक लिएर आउने उसको दिनचार्य भयो। २८औं दिन छिमेकीले त्यो कुरा थाहा पाए।

त्यसपछि युवक ग्राहक खोज्न गएको मौकामा छिमेकीले ताला फोरेर केटीलाई बाहिर निकाले। अलिअलि पैसा दिएर त्यहाँबाट भगाइदिए। केटीले अहिले आएर मुद्दा प्रक्रिया अघि बढाएकी छन्। फेसबुके प्रेमले युवतीको जीवनमा ठूलो विश्वासघात भयो। अर्को, बाँकेकै २० वर्षका केटा। सुर्खेतकी १७ वर्षकी किशोरी। फेसबुकमा जोडिए। गफगाफ हुन थाले।

५ महिनापछि त एकअर्काबिना बाँच्नै नसक्ने अवस्थामा पुगे। केटाले केटीलाई घरमै ल्याए। घरमा श्रीमती र एक छोरा छँदै थिए। घरपरिवार, गाउँले सबै मिलेर सात दिनपछि किशोरीलाई फिर्ता गरिदिए। घरपरिवारले फिर्ता गरिदिएकी किशोरीसँग केटाको फोन र फेसबुकबाट कुरा हुँदो रहेछ।

केही दिनअघि यी दुई जनालाई नेपालगन्ज नाका पार गरेर भारत जाँदा रुपैडिहामा एसएसबीले नियन्त्रणमा लियो। ‘प्रेम गरेर भागेर जान थालेको’ भनेपछि एसएसबीले शक्ति समूह नेपालगन्जका प्रतिनिधिलाई बोलायो। शक्ति समूहकी इन्चार्ज निर्मला पौडेल त्यहाँ पुग्नुभयो। केरकार भयो।

केटाको मोबाइल चेक गर्दा अहिले भगाएको केटीको नम्बर ‘वाइफ’ भनेर सेभ थियो। अर्को एउटा नम्बर ‘बुढी’ भनेर राखिएको थियो। बुढी भनेको नम्बरमा फोन लगाउँदा उसको घरमा रहेकी श्रीमतीले फोन उठाइन्। उनका अनुसार, दुई दिनदेखि काठमाडौं जान्छु भनेर केटा हिँडेको रहेछ। अढाई सय भारु बोकेर केटा हिडेको थियो।

केटीसँग पैसा थिएन। सिम्ला गएर काम गर्ने दुवैले बताए। दुवैलाई राखेर अभिभावकलाई बोलाउने तयारी भएको छ।सामाजिक सञ्जालको दुरुपयोगका यी दुई वटा उदाहरण हुन्। शक्ति समूह, नेपालगन्जकी इन्चार्ज पौडेलले मानव बेचबिखन तथा जोखिमपूर्ण यात्राका धेरैजसो घटना सामाजिक सञ्जालबाट जोडिएर आउने गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्