स्वास्थ्य अनुसन्धानका लागि प्रस्तावना दर्ता अब नेपालमै



भगवती तिमल्सिना,काठमाडौं।

चिकित्सा शिक्षाको अध्ययन/अनुसन्धान गर्न चाहनेले अब नेपालमा नै आधिकारिक प्रस्तावना दर्ता गर्न पाउने भएका छन्।सन् २०१९ नोभेम्बर २७ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई नै अनुसन्धानका लागि प्रस्तावना दर्ता गर्न आधिकारिक निकाय तोक्ने निर्णय गरेको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी निर्देशक डा. अञ्जनीकुमार झाले नेपालमा वर्षौंदेखि हुँदै आएका अनुसन्धानको दर्ता विदेशी संस्थासँग लिनुपर्ने खर्चिलो र झन्झटिलो प्रक्रियाको अन्त्यसँगै परिषद्ले अनुसन्धान गर्न चाहनेलाई प्रोत्साहित गर्न निःशुल्क दर्ता खुला गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार मेडिकल परीक्षण भनेको औषधी, खोप, उपकरण आदिको प्रभावकारिताको अध्ययन, अनुसन्धान र मेडिकल परीक्षण दर्ता, सोको अध्ययन, अनुसन्धान, दर्ता गर्ने साझा र आधिकारिक संस्था हो।

यसका लागि स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता बोर्डबाट सन् २०१९ मा २१ वटा अनुसन्धानका लागि प्रस्तावना स्वीकृृति दिइएको परिषद्ले जनाएको छ। स्वीकृति लिएको व्यक्ति वा निकायले त्यसको रिपोर्ट परिषद्मा नबुझाएसम्म अर्को स्वीकृति लिन नपाउने अध्यक्ष डा. झाले स्पष्ट पार्नुभयो।

सन् २००४ नोभेम्बरमा म्याक्सिकोको म्याक्सिको सिटीमा भएको मिनिस्टरियल समिट अन हेल्थ रिसर्च कार्यशाला गोष्ठी एकल प्रणालीबाट विश्वव्यापी क्लिनिकल प्रयोग दर्ताको अन्तर्राष्ट्रिय सञ्जाल बनाउन पर्ने मागबमोजिम ५८ औं विश्व स्वास्थ्य महासभामा एकल प्रणालीबाट चन्ने क्लिनिकल प्रयोग दर्ता बनाउने निर्णय गरिएको थियो।

यसमा अहिले १८ वटा मुलुक आबद्ध छन्। यसका लागि परिषद्ले विश्व स्वास्थ्य संगठनको सहयोगमा परिषद्मा आबद्ध २ जनालाई तालिम दिई सफ्टवेयर तयारी गरेको छ। परिषद्मा दर्ता नै नभई भएका अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न नपाइने भएकाले निःशुल्करूपमा अनलाइनबाट दर्ता गर्न सक्ने प्रावधान राखिएको अध्यक्ष डा. झाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्