जागिरे मानसिकता त्यागौँ: अध्यक्ष तिमिल्सिना   



कास्की ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरु जागिरे मानसिकताबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२५ हेमजास्थित गौरीशङ्कर माविको आज ६२औँ वार्षिकोउत्सव समारोहमा उहाँले संस्थागत विद्यालयको तुलनामा सार्वजनिक विद्यालयका शिक्षक योग्य रहे पनि उनीहरुले आफ्नो क्षमता नदेखाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारी विद्यालयमा कार्यरत शिक्षकको जागिरे मानसिकता नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुको मुख्य कारण हो, शिक्षणलाई केवल जागिरका रुपमा मात्र प्रवृत्तिलाई त्यागौँँ ।”

अध्यक्ष तिमिल्सिनाले शिक्षक सेवा आयोगले लिने परीक्षामा उत्कृष्ट भएर छानिएर आएका शिक्षकको पठनपाठन कमजोर हुन नहुनेमा जोड दिँदै सर्वसाधारण जनताका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयलाई सबैले गर्व गर्ने बनाउनुपर्ने भनाइ राख्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले विद्यालय प्रशासन नै विद्यालय सुधारको जननी भएको उल्लेख गर्दै सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकले आफ्नो पठनपाठनको विश्वसनीयता कायम गर्न नसक्दा स्वयम् उनीहरुकै छोराछोरीसमेत निजी विद्यालय पठाउने गरेको भनाइ राख्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि तिमिल्सिनाले अग्रजको योगदानका कारण विद्यालयले शैक्षिक उपलब्धि हासिल गरेको बताउनुभयो । प्रधानाध्यापक अम्वरबहादुर कुँवरले पाँचवर्षे विद्यालय सुधार योजना निर्माण गरी अगाडि बढेको स्पष्ट जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, पूर्वप्रधानाध्यापक डबलबहादुर कुँवर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष माधवशरण पौडेल, अभिभावक अग्निधर अधिकारी लगायतले विद्यालयले हासिल गरेको शैक्षिक उन्नतिका बारेमा उल्लेख गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्