प्रहरी जवानका परिवारका लागि आवास भवन निर्माण सुरु



न्युुज अफ नेपाल, भक्तपुर ।

महानगरीय प्रहरी वृत्त ठिमीको पहलमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका-६, कुण्डोलमा नेपाल प्रहरीलागि परिवार आवास भवन निर्माण हुने भएको छ ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयबासीकै सक्रियतामा प्रहरी परिवार आवास भवन निर्माण सुरु भएको हो ।

नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जना मधिकर्मी र भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन श्रेष्ठले बिहीबार प्रहरी परिवार आवास गृहको संयुक्त रुपमा शिलान्यास गर्नुभयो शिलान्यासपछि आयोजित सभामा नगर प्रमुख श्रेष्ठले नगरपालिकाले प्रहरी र समुदायको सम्बन्ध अझै प्रगाढ बनाउन र मध्यपुर क्षेत्रको सुरक्षालाई अझै मजबुत बनाउन भवन निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँले देशभरका विभिन्न ठाउँबाट प्रहरी साथीहरु यहाँ आएर हामीलाई सुरक्षा दिनुभएको छ, हामीले पनि उहाँहरुको सुरक्षाकालगि यत्ति त गर्नैपर्छ भनेर भवन बनाउने निर्णय गरिएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाल पत्रकार महासंघ भक्तपुरका जिल्ला अध्यक्ष पुष्कररराज बुढाथोकी,वडाध्यक्षहरु इन्द्रबहादुर प्रजापति, प्रेमबहादुर कुटु, वडासदस्य हरिदास प्रजापति लगायतले भवन शीघ्र निर्माण हुनुपर्नेमा जोड दिंदै भवनबाट सामान्य दर्जाका प्रहरी र उनीहरुका लागि सहज हुने बिश्वास ब्यक्तगर्नुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन श्रेष्ठले ठिमीमा देशकै नमुना प्रहरी जवानका परिवारकालागि आवास भवन बन्न लागेकाप्रति खुसी व्यक्त गर्नूभयो ।

अबको ६ महिनाभित्रै भवन निर्माण कार्य पुरा गर्ने गरि काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक दिनेश श्रेष्ठले बताउनुभयो ।

प्रहरी सेवामा रहेको जवानहरुलाई भाडाका कोठामा परिवार राखेर सेवा गर्न असहज हुने भएकाले प्रहरी जवानहरुलाई नै लक्षित गरी प्रहरी परिवार आवास गृह निर्माण थालिएको महानगरीय बृत्त ठिमीका प्रमुख डिएसपी शान्तिराज कोइरालाले बताउनुभयो ।

महानगरीय प्रहरी बृत्त ठिमी नजिकै कुण्डोलमा करिब एक रोपनी जग्गामा निर्माण हुने भवनका लागि नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको डिएसपी कोइरालाले बताउनुभयो ।

भवन बनेपछि भाडाका कोठामा परिवार राखेर प्रहरी सेवा गर्दै आएकाहरुलाई सेवामा रहन थप सहज हुने अपेक्षा प्रहरीको छ । देशैभरि कतै पनि प्रहरी जवानकै लागि भनेर परिवार आवास गृह नबनेको सन्दर्भमा यो नयाँ पहिल भएको डिएसपी कोइरालाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्