‘फूलैफूलको शहर’ मा नगरपालिका एक्लै



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका सुन्दर र सफा नगरका रुपमा परिचित छ । हुन पनि हो, हेटौंडा प्राकृतिक हिसाबले साँच्चै सिंगारपटार नगरेरै सुन्दर देखिन्छ ।

उत्तरी क्षेत्रमा जिल्लाकै परिचित पर्यटकीयस्थल रहेको हेटौंडा त्यसै सुन्दर छ । यही सुन्दर शहर हेटौंडालाई अझ सुन्दर बनाउन हेटौंडालाई ‘फूलैफूलको शहर’ बनाउने अभियान जारी छ ।

हेटौंडाका निर्माणसम्पन्न बाटो तथा सडकमा हाल नगरपालिकाले फूल रोप्ने काम गरिरहेको छ । कतिपय ठाउँमा नगरपालिकाले फूलसमेत फुलाइसकेको छ ।

२०७४ सालमा हेटौंडा उपमहानगरपालिकाले नयाँ नेतृत्व पाएसँगै ‘फूलैफूलको शहर’ बनाउने योजना सुरुवात भएको हो ।
योजनासँगै दुई वर्षयता हेटौंडा साँञ्चै सुन्दर बन्दै गएको छ ।

हाल हेटौंडाका २, ४ र ५ नम्बर वडामा फूल लगाउने कार्य भइरहेको नगरपालिका वातावरण महाशाखा प्रमुख ध्रव भुजेलले जानकारी गराउनुभयो ।

नगरपालिकाले कान्तिराजपथबीच डिभाइडर निर्माण गरी फूल रोप्ने कार्यसमेत गरेको छ । तर, समय÷समयमा त्यही डिभाइडरमा उम्रिएका झारपातलगायतले फूललाई नै खाइरहेका हुन्छन् । कहिले त फूल पानी बिनाको माछा झैं ओइलिएर बसेको हुन्छ ।

उपमहानगर प्रमुख हरिबहादुर महतलगायत टिमको ‘सुन्दर नगर अभियान’ लाई व्यबहारिकरुपमा सहयोग गरेर अझ सुन्दर बनाउने अभियानमा हेटौंडा उपमहानगरपालिकाका स्थानीयले भने खासै चासो देखाएको पाइँदैन ।

हेटौंडालाई साँच्चै सुन्दर बनाएर पर्यटकको मन तान्ने अबस्था सिर्जना गर्न हेटौंडा उपमहानगरबासी चुकेको ओलिएका पात बताउँछन् । वातावरण महाशाखा शाखा भुजेल भन्नुहुन्छ–नयाँ सडक तथा बाटोहरु नगरभित्र बनिरहेका छन् ।

त्यस्ता ठाउँमा बिरुवा लगाउने काम भइरहेको छ । हामी बिरुवा रोप्छौं, यसको संरक्षणको जिम्मा स्थानीयलाई दिएका छौं । ‘तर, उहाँहरुले फूल संरक्षणमा त्यति चासो देखाउनुभएको छैन । कुनै ठाउँमा फूललाई पानी हाल्ने काम गर्दिनुभएको छ । तर, प्रायः ठाउँमा हामी आफैंले स्याहार गरिरहेका छौं,’ उहाँले भन्नुभयो ।

भुजेलका अनुसार सडकको किनारमा फूल लगाउन सुरु गरेको करिब दुई वर्ष अवधिमा करिब ४० लाख खर्च भइसकेको छ । जसमा पाँच कर्मचारी निरन्तर लागि परिरहेका छन् । ‘फूल गोलमेड, पानी हाल्ने तथा हेरचाहमा उहाँहरु नै खटिरहनु भएको छ । कर्मचारी संख्या कम हो, तर हामी जसोतसो मिलाइरहेका छौं,’ भुजेलले भन्नुभयो ।

भुजेलका अनुसार फूल संरक्षण तथा हेरचाहका लागि स्थानीयलाई जिम्मा दिने कुरा भए पनि उनीहरुले चासो देखाएका छैनन् । ‘उहाँहरुलाई पूजाका लागि अन्य ठाउँमा भौंतारिनु नपर्ने हिसाबले पनि हामीले संरक्षणमा लाग्नुस् भनेको थियौं ।

तर, त्यो काम भने सोचेअनुरुप हुनसकेको छैन,’ भुजेलले गुनासो गर्नुभयो । उहाँका अनुसार स्थानीयलाई आग्रह गरिए पनि फूलैफूलको शहर बनाउन स्थानीयको साथ बिना अधुरो हुनेछ ।

हाल नगरपालिकाले काठमाडौंबाट फूलका बेर्ना ल्याएर नगरपालिका भवनपछाडि नर्सरी बनाएको छ । त्यहीं उम्रिएको बिरुवालाई नै नगरपालिकाले ठाउँठाउँमा लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्