सागमा मकवानपुरलाई चिनाएका तीन नायक



न्युज अफ नेपाल, हेटौंडा ।

नेपालले ऐतिहासिकरुपमा ५१ स्वर्ण जित्दा सागमा मकवानपुरे खेलाडीको योगदान उच्च रह्यो ।

उनीहरुले मकवानपुरको शान त बढाए नै, देशको पनि शान बढाए । तेक्वान्दो, करातेसहित मार्सल आर्ट विधामा मकवानपुर अब्बल दर्जामा रहेको पुष्टि भएको छ ।

१३ औं सागमा मकवानपुरका ३ खेलाडीले देशका लागि स्वर्ण दिलाएका छन् । फुटबलका हिरो सुनिल बल र डबल पुम्से ९तेक्वान्दो० विधामा सञ्जीब ओझाले स्वर्ण पदक जित्दा पश्चिम मकवानपुरको मनहरी गाउँपालिका निवासी महसुस मुक्तानले कराते टिम कातातर्फ स्वर्ण पदक जिते ।

आफ्नो खेल क्षेत्रमा लामो समयदेखि संघर्षरत् र व्यक्तिगत प्रयासले स्वर्ण जित्दा यसले मकवानपुरमै रहेर भविष्यका लागि संघर्षरत् युवा प्रतिभालाई पनि प्रेरित गरेको हो ।

बललाई दोस्रो स्वर्ण

नेपाली राष्ट्रिय फुटबल टोलीका मेहनती मिल्डफिल्डर सुनिल बलले २०६५ सालबाट हेटौंडा–१०, कर्राको एफसी पोताला क्लबबाट खेलजीवन सुरु गरेका थिए । उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

हेटौंडा–९ मा जन्मिएका उनी २३ वर्षका भए । बलले एन्फा एकेडेमीलगायत विभिन्न उमेर समूहको अण्डर–१४, १६, १९ र २३ अन्तर्गत् खेल खेलेका छन् । अघिल्लो सिजन थ्रिस्टारबाट ‘ए’ डिभिजन लिग खेलेका बल यस सिजन च्यासल युथ क्लबमा आवद्ध छन् ।

सन् २०१६ मा भारतमा भएको बाह्रांै सागमा पनि उनी सम्मिलित टिमले स्वर्ण जितेको थियो । उनका लागि यस स्वर्ण दोस्रो हो । यस संस्करणको साग पुरुष फुटलबलतर्फ स्वर्ण जित्न बलको भूमिका नै महत्वपूर्ण रह्यो ।

लिग चरणका महत्वपूर्ण खेलमा निर्णायक गोल गर्दै नेपाललाई समूह चरणको विजेता बनाउन पनि उनकै भूमिका थियो । फाइनलमा पनि प्रतिस्पर्धात्मक खेलमा महत्वपूर्ण गोल गर्ने मौका सिर्जना गर्न उनी चुकेनन् । साग उपाधि जितेपछि बलले इतिहासमा स्वर्णीम अक्षरले नाम लेखाउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । आगामी दिनमा पनि मेहनत गर्दै अघि बढ्ने उनको भनाइ छ ।

कँरातेमा मोक्तानको मन

२०७१ सालमा प्रहरीमा जागिरेका रुपमा प्रवेश गरेका महसुस मोक्तानले करातेमा मन लगाए । उनले पुलिस क्लबबाट नै करातेमा करियार सुरु गरे । मनहरी गाउँपालिकाको सुनाचुरीमा जन्मेका उनी २८ वर्षका भए ।

उनले बंगलादेशमा भएको साफ खेलिसकेका छन् । उनले त्यहाँ आफ्नो खेल उत्कृष्ट भएकै कारण स्वर्ण जित्न सफल भए । मोक्तानले सातौं राष्ट्रिय खेलमा समेत सहभागिता जनाएका थिए भने आठौं राष्ट्रिय खेलमा उनी दोस्रो भए । बागलुङ नेसनल च्याम्पियनसिपमा उनी पहिलो भएका थिए ।

उनी प्रेरणा तथा आफूमा गर्छु भन्ने क्षमता रहे हरेक व्यक्तिले सफलता चुम्ने प्रतिक्रिया दिन्छन् । उनले १३ औं सागको स्वर्णले आफूलाई धेरै शक्ति मिलेको भन्दै हर्ष व्यक्त गरे । ‘धेरैभन्दा धेरै खुशी मिलेको छ र आगामी दिनमा समेत मकवानपुर र नेपालको नाम चम्काइरहने छु,’ उनको प्रतिवद्धता छ ।

ओझाको पहिलो प्रयास सफल

२०६७ सालबाट कर्रा तेक्वान्दो डोजाङबाट खेल सुरु गरेका सञ्जीब ओझा हाल नेपाल आर्मी क्लबमा आवद्ध छन् । हेटौंडा–४, कर्राका ओझा २९ वर्षका भए । उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । राष्ट्रियस्तरका प्रतियोगितामा थुप्रै पदक जितिसकेका ओझा उच्च मनोबलसाथ सागमा भाग लिएको बताउँछन् । सागमा पहिलो पटक सहभागिता जनाएर स्वर्ण जित्दा निकै हर्षित भएको उनले सुनाए ।

उनी भुटान इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण जित्न सफल भएका थिए । भारतमा भएको ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत जित्न सफल भएका थिए उनी । मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिपमा उनले कास्य जितेका थिए । उनले नेपालमा भएको अन्तर्राष्ट्रिय खेल वल्र्ड तेक्वान्दो च्याम्पियनसिपमा समेत स्वर्ण जितेका थिए ।

ओझा खेलकै क्रममा भुटान, भारत, मलेसिया र इण्डोनोसिया गइसकेका छन् । राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्म पुग्न प्रशिक्षक माधब कोइरालाको ठूलो योगदान रहेको ओझाले सम्झिए । उनी आफूलाई सधैं सहयोग गर्ने लालकाजीरत्न बज्राचार्य, निरजसिंह ठकुरी र विक्रम लामिछानेको सहयोग बिर्सन नसक्ने बताउँछन् ।

प्रदेश–३ सरकारले प्रदेशका १३ औं दक्षिण एसियाली खेलकुद ९साग० विजेतालाई पुरस्कार दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सागका प्रदेश–३ का स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुलाई नगद पुरस्कार दिन लागिएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले सागमा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् । सन्देशमार्फत् मुख्यमन्त्री पौडेलले नेपालले साग सुखद्ढंगले सकिएको र खेलाडीले राम्रो खेलेको उल्लेख गरेका छन् ।

‘नेपाली खेलाडीको प्रदर्शन अत्यन्त सुखद् छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै पदक जित्न सफल खेलाडीलाई हार्दिक बधाई,’ मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।

सन्देशमार्फत् उनले खेलक्षेत्र विकासका लागि प्रदेश सरकार लागिरहेको बताउँदै खेल विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ–प्रदेश सरकार खेलकुदको दीर्घकालीन विकासका लागि नीतिगतरुपमा लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्