वकिलहरूको समूहद्वारा अस्पतालमा तोडफोड,३ बिरामीको मृत्यु



एजेन्सी । पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरुको समूहले तोडफोड गर्दा ३ जना बिरामीको ज्यान गएको छ । सयौँको संख्यामा आएका वकिलहरुको समूहले लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दै आतंक मच्चाएका हुन् ।

अस्पतालभित्रै आक्रमण भएपछि उपचार नपाएर कम्तीमा ३ जना बिरामीको मृत्यु भएको बताइएको छ ।बुधवार समूहमा अस्पताल छिरेका वकिलहरुले डाक्टर, गार्ड र अन्य स्टाफमाथि हमला गरेको र धेरैजसो सवारी साधनहरू पनि जलाएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

यो झडप के कारण भयो भनी स्पष्ट हुन सकेको छैन, तर यो गत डाक्टरहरू र एक वकिलबीच भएको झगडाको बदलामा यो आक्रमण भएको बताइएको छ । त्यहाँभित्रको सिसीटिभी भिडियोमा सो झगडाको दृश्य कैद भएको बताइन्छ ।

त्यसबेलादेखि वकिलहरूले डाक्टरहरू विरुद्ध कारबाहीको माग गरिरहेका थिए र बुधवार क्रूर रुपमा उनीहरु अस्पतालमै पसी आक्रमण गरेका हुन् ।

पाकिस्तानको पञ्जाब प्रान्तका स्वास्थ्य मन्त्री यास्मिन राशिदलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेअनुसार तीन जना बिरामीको उपचार अभावमा मृत्यु भएको हो

त्यहाँका सूचनामन्त्री फयाज(उल(हसन चौहान दुई पेशेवर समूह बीचको यो झगडामा मध्यस्थता गर्ने प्रयासमा घटनास्थल पुगेका थिए । तर उनीमाथि समेत वकिलहरूको भीडले आक्रमण गरेको भिडियोमा देखिन्छ ।

‘मेरो जीवन जोखिममा थियो । उनीहरूले मलाई यातना दिए र गोली हान्नसमेत प्रयास गरे र मलाई अपहरण गर्ने प्रयास गरे,’ सूचनामन्त्रीले अंग्रेजी भाषाको समाचारपत्र डनलाई भनेका छन् । यो घटनामा संलग्न भएको भन्दै प्रहरीले ४० जना वकिललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्