नेपाल टोस्टमास्टर्सको सम्मेलन सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन भएको छ। देशभरका ३५० जना सदस्यले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए। यी सहभागीले विभिन्न समुदायको क्लब, कम्पनी, व्यावसायिक संगठन र शिक्षक संस्थाको प्रतिनिधित्व गरेका थिए।

टोस्टमास्टर्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट दीपक मेनन, डीटीएमले सम्मेलनमा मुख्य टिप्पणी दिए। नेपाल टोस्टमास्टर्सले कृष्णा ताम्राकारलाई कम्युनिकेटर अवार्ड २०१९ द्वारा सम्मानित गरेको छ।

८२ वर्षीया ताम्राकार अझै पनि दुईवटा एफएम कार्यक्रम चलाउँछिन्। उनी एक क्यान्सर सर्भाइभर हुन् र क्यान्सरसम्बन्धी जनचेतनाका लागि ‘आशा’ भन्ने रेडियो कार्यक्रम चलाउँछिन्।

यो अवार्ड हरेक वर्ष एक जना गैर–टोस्टमास्टर्स सदस्यलाई उनको देशप्रति सञ्चार र नेतृत्वको योगदानका लागि सम्मान गर्दै प्रदान गरिन्छ।

त्यस्तै इभ्यालुयसन प्रतियोगिताको विजेता कुसुम टोस्टमास्टर्स क्लबबाट प्रिया चापागाईं भएकी छिन् भने ह्युमरस स्पीच कन्टेस्टीकी विजेता लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबकी कुष्मा केसी भएकी छिन्।

यी दुवै एरिया ए ५ का टोस्टमास्टर्स हुन्। यी दुवै विजेता भारतको नयाँदिल्लीमा मे २०२० मा आयोजना हुन् डिस्ट्रिक लेबल कन्टेस्टमा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्