बार्सिलोनाले जित्दा फातीको कीर्तिमान



लन्डन, (एजेन्सी)।

यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले जित्दा युवा फरवार्ड अन्सु फातीले कीर्तिमान बनाएका छन्।मंगलबार राति भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्दा फाती प्रतियोगिताको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन्।

मिलानको घरेलु मैदानमा २–१ को जित दर्ता गर्ने क्रममा फातीले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै विजयी गोल गरेका थिए। खेलको ८५औं मिनेटमा मैदान प्रवेश गरेका उनले दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे।

त्यसअघि बार्सिलोनाले खेलको २३औं मिनेटमा कार्लोस पेरेजको गोलमार्फत अग्रता लिएको थियो। पेरेजले च्याम्पियन्स लिगमा डेब्यु गरेकै म्याचमा गोल गर्न सफल रहे। इन्टरले खेलको ४४औं मिनेटमा रोमेलु लुकाकुको गोलमार्फत खेललाई बराबरीमा ल्याएका थिए।

हारसंगै घरेलु टोली इन्टरको च्याम्पियन्स लिग यात्रा पनि समाप्त भएको छ। अर्को खेलमा बोरुसिया डर्टमुन्डले स्लाभिया प्रागलाई २–१ हरायो। यस नतिजासँगै बार्सिलोना समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ।

बार्सिलोनाले ६ खेलमा १४ अंक जोड्दा बोरुसियाले ६ खेलमा १० अंक जोड्यो। ६ खेलमा ७ अंक मात्र जोडेको इन्टरले अब युरोपा लिग खेल्नेछ।त्यस्तै इंग्लिस क्लब चेल्सी पनि च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ ले पराजित गर्दै नकआउट चरणमा पुग्न सफल भएको हो। लिललाई हराउन चेल्सीका टम्मी अब्राहम र सिजर एजपिलिक्वेटाले गोल गरे। लिलका रेमीले एक गोल फर्काए।

चेल्सी समूह ‘एफ’ बाट उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो। चेल्सीले ६ खेलबाट ११ अंक जोड्यो। यो समूहबाट स्पेनिस क्लब भ्यालेन्सिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो। ११ अंक रहेपनि भ्योलन्सिया गोल अन्तरमा शीर्षमा रह्यो।

अघिल्लो संस्करण सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको डच क्लब आयाक्सले यसपटक समूह चरण पार गर्न सकेनन्। समूह चरणको अन्तिम खेलमा आयाक्स भ्यालेन्सियासँग १–० ले पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो।

आयाक्सले ६ खेलबाट १० अंक जोड्यो। लिलले १ अंक जोड्यो।यही समूहको अर्काे खेलमा भ्यालेन्सियाले आयाक्सलाई १–० ले पराजित गर्दै समूहमा शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणका पुग्न सफल भयो।

भ्यालेन्सियाको जितमा रोड्रिगोको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। त्यसै गरी इंग्लिस क्लब लिभरपुल समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ।

मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो। समूह ‘ई’ मा लिभरपुलले ६ खेलबाट १३ अंक जोड्यो। १२ अंक जोडेको इटालियन क्लब नेपोली उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो।

साल्जवर्गले ७ तथा जिन्कले १ अंक जोड्यो। रेडबुल एरिना अस्ट्रियमा मंगलबार राति लिभरपुललाई जिताउन नावी केइटा र मोहमद सलाहले गोल गरे। उनीहरूले दोस्रो हाफमा २ मिनेटको अन्तरमा २ गोल गर्न सफल भएको थियो।

यही समूहको अर्काे खेलमा नेपोलीले जिन्कलाई ४–० ले पराजित गर्दा मिलिकले ह्याट्रिक पुरा गरे। ड्रिएस मेर्टिन्सले एक गोल थपे।त्यसैगरी जर्मन क्लब आरबी लेइप्लिज समूह ‘जी’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ।

फ्रेन्च क्लब लियोनलाई २–२ गोलको बराबरीमा रोक्दै लेइप्लिज समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो। बराबरीसँगै लेइप्लिजले ६ खेलबाट ११ अंक जोड्यो। समान खेलबाटै लियोनले ८ अंक जोड्यो।

पोर्चुगिज क्लब बेन्फिका र रसियन क्लब जेनिथले समान ७–७ अंक जोड्दै समूह चरणबाट बाहिरियो। यही समूहको अर्काे खेलमा बेन्फिकाले जेनिथलाई ३–० ले पराजित गरे पनि अघिल्लो चरणमा भने पुग्न सकेन।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्