बाँदर कोषसहितको सुंगुरको विकास



वेइजिङ, (एजेन्सी)।

चीनका वैज्ञानिकले सुंगुर–बाँदरको जैविक मिश्रणबाट नयाँ जीव ‘चिमेरास’ बनाएका छन्। सुंगुरका बच्चा जस्तो देखिने उक्त जीव विश्वमै पहिलो पटक केही प्राइमेट कोषिकासहित जन्मेका हुन्।सुंगुरका दुई बच्चा चिमेरास जीवितै जन्मेका थिए तर केही दिनमै मरेको न्यु साइन्टिस्टले जनाएको छ।

उक्त नयाँ अनुसन्धानले प्रत्यारोपणका लागि आवश्यक मानव अंग जनावरभित्र हुर्काउन सफल हुने यसका समर्थकले बताएका छन्।तर उक्त अनुसन्धान अत्यन्त विवादस्पद बनिरहेको छ।

वैज्ञानिकले नैतिक सिद्धान्तका कारण मानवको सट्टा गंगटो खाने बाँदर माकाकीको कोष प्रयोग गरेका थिए। अनुसन्धानकर्ताले सुंगुरका हजारौं भ्रुणमा फ्लोरेसेन्ट लाइटमा चम्किलो हुने प्रोटिनसँगै बाँदरका कोषहरू प्रतिस्थापित गरेका थिए।

तीमध्ये २ चिमेरास जन्मेका पनि थिए तर एक हप्ता नबित्दै मरे। दुवै चिमेरासको मुटु, कलेजो, फोक्सो र छालालगायतका निश्चित अंगमा केही अनुपातमा बाँदरको कोष मिलाइएको थियो।

वैज्ञानिक हाइका अनुसार उनीहरूको मृत्युको कारण आईवीएफ प्रक्रियासँग सम्बन्धित हुनसक्ने र भविष्यमा बाँदरको धेरै कोष भएका भ्रुण उत्पादन गर्ने अपेक्षा गरिएको छ। अब केही वैज्ञानिक अर्ध मानव, अर्ध चिम्पान्जी ‘ह्युमान्जी’ बनाउन सम्भव हुने र त्यो राम्रो सोच भएको बताउँछन्।

युनिभर्सिटी अफ वासिङटनका डेविड वारासले ह्युमान्जीको सृष्टी जेनेटिक इन्जिनियरिङ प्रविधिबाट सम्भव हुने बताउँछन्। यस प्रकारको हाइब्रिडको सृष्टीले मानवलाई उनीहरू अनुपम नभएको स्मरण गराउने बारासले बताए।

यसले मानवलाई प्राणी जगतको सम्मान गर्न सिकाउने पनि उनले लेखेका छन्। मानव र चिम्पान्जीबीच करिब ९९ प्रतिशत डीएनए साझा छन् त्यसैले केही वैज्ञानिक हाइब्रिड नै उपयुक्त हुनसक्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्