एसिया प्रशान्तमा ५० करोड कुपोषित



न्युयोर्क, (एजेन्सी)।

संयुक्त राष्ट्रसंघको एक निकायले बुधबार प्रतिवेदन जारी गर्दै एसिया प्रशान्तमा करिब ५० करोड नागरिक कुपोषणबाट पीडित रहको जनाएको छ।सन् २०३० सम्ममा भोकमरी हटाउन हरेक महिना खाद्य असुरक्षाबाट लाखांैलाई बाहिर निकाल्नु पर्नेछ।

कुपोषणका कारण उमेर र उचाइका हिसाबले बच्चाको कम तौल र पुड्कोपना तथा अन्य समस्यासँग समाधानको क्षेत्रमा प्रगति ढिलो गतिमा भइरहेको प्रतिवेदनमा उल्लेख छ। केही मामिलामा यो पछाडि ढकेलिरहेको छ।

असमानताका कारण झन् खराब भइरहेको स्थितिले अपेक्षाकृत तीव्र आर्थिक बृिद्ध लाखौंका लागि पर्याप्त तथा पोषक आहार सुनिश्चित गर्ने दिशामा सहयोगी नबेनेको बताइएको छ। प्रतिवेदनमा सरकारलाई गरिबी उन्मुलनको आफ्नो प्रयासलाई आहार, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिसँग जोड्नुपर्ने सुझाब दिइएको छ।

सयुक्त राष्ट्रले सन् २०३० को आधारभूत विकास लक्ष्यमा भोकमरी अन्त्य गर्ने र सबैका लागि वर्षभरिलाई पर्याप्त भोजन सुनिश्चित गर्न आह्वान गरिएको छ। प्रतिवेदनमा एसिया प्रशान्तको कुल आवादीको पाँचौं हिस्सा सामान्यदेखि गम्भीर खाद्य असुरक्षा सामना गरिरहेको उल्लेख छ।

खाद्य तथा कृषि संगठन, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनद्वारा तयार गरिएको उक्त प्रतिवेदनअनुसार यस क्षेत्रमा ४७ करोड ९० लाख कुपोषितमध्ये आधाभन्दा धेरै दक्षिण एसियामा बस्छन्।

जहाँ एक तिहाईभन्दा धेरै बच्चा जीवनभरका लागि कुपोषणको सिकार भइरहेका छन्। भारतमा करिब २१ प्रतिशत बच्चाहरू उमेर र उचाइको हिसाबले तौलको समस्याबाट पीडित छन् र त्यो कुपोषणको परिणाम हो।

प्रतिक्रिया दिनुहोस्