अझै सुचारु हुन सकेनन् विद्यालय



नेपाल समाचारपत्र, बारा।

गढिमाई मेला भर्न आउने तिर्थालुको बासस्थानको रुपमा प्रयोग भएको गढिमाई महेन्द्र माध्यमिक विद्यालयमा अझै पनि पठनपाठन सुचारु हुन सकेको छैन। गढिमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलाका कारण नगरपालिकाले घोषणा गरेको विदाका दिन पूरा भइसक्दा पनि मेला भर्न आएका तिर्थालुले विद्यालय भवन नछोडेपछि पठनपाठन शुरु हुन नसकेको हो।

‘केहीले अझै पनि कक्षाकोठालाई बस्ने र सुत्ने ठाउँका रूपमा प्रयोग गरेका छन्, विद्यालयका प्रधानाध्यापक रामएकवाल प्रसादले भन्नुभयो– ‘विद्यालय खाली गर्न तीन दिनदेखि आग्रह गर्दैै आएका छांै तर मानेका छैनन्।’ कक्षाकोठा खाली नभैसकेकाले विद्यार्थीसमेत विद्यालयमा नआएको उहाँले बताउनुभयो।

विद्यालयका शिक्षक कर्मचारी भने हाजिरी गरेर घर फर्किने गरेको उहाँले जानकारी दिनुभयो। भारतका विभिन्न स्थानबाट आएका दुई दर्जनभन्दा बढी तिर्थालु हाल विद्यालयमा बस्दै आएका छन्। उनीहरूले विद्यालय परिसरमा खाना पकाउने, सरसफाई गर्ने, आराम र रात बिताउने गर्दै आएका छन्।

मेलाको मुख्य आकर्षणका रुपमा रहेको पशुवलीको तिथि पुरा भएको डेड हप्ता पुरा भइसक्दा पनि मेलामा तिर्थालु आउने क्रम रोकिएको छैन। गढिमाईको दर्शन गर्न हाल पनि दैनिक १५ हजारभन्दा बढी सर्वसाधारण आउने गरेको मूल पुजारी मंगल चौधरीले बताउनुभयो।

मन्दिरमा मंसिर १७ मा राँगा र १८ गते पशुपंक्षीको बली दिइएको थियो। अहिले भने मन्दिरमा पशुबलीको भाकल नभएका तिर्थालुहरू आउने गरेका हुन्। भारत र नेपालका पनि टाढाटाढाबाट आएका तिर्थालुले राति बास बस्न र सुत्नका लागि स्थानीय विद्यालयको कक्षाकोठा प्रयोग गर्दै आएका छन्। मेला व्यवस्थापन समितिले बनाएको पण्डाल (बस्ने अस्थायी टहरा) अपुग भएपछि कक्षाकोठाको प्रयोग गरिएको हो।

तिर्थालुको आवासलाई ध्यानमा राखेर नगरपालिकाले नगरका सबै सामुदायिक विद्यालयमा वर्षे विदाबाट कट्टा हुने गरी मंसिर १२ गतेदेखि २२ गतेसम्मका लागि विदा घोषणा गरेको थियो।

नगरका अन्य विद्यालय सुचारु भइसकेको र महेन्द्र माध्यमिक विद्यालयमा पनि दुई चार दिनभित्र सुचारु हुने नगर प्रमुख उपेन्द्र यादव बताउनुहुन्छ। मेला परिसरको बीच भागमा रहेको यो विद्यालय कम्पाउन्डभित्र समितिले राखेक स्वास्थ्य शिविर अझै सञ्चालनमा छ भने दर्जनौं मेला व्यवस्थापन मूल समिति र उप–समितिलगायतको कार्यालय र अन्य संघ संस्थाहरूले भवनको पर्खालमा झुन्ड्याएका होडिङ बोर्ड पनि हटाइएको छैन।

प्रतिक्रिया दिनुहोस्