बालविवाहकै कारण सम्बन्ध विच्छेदका घटनामा वृद्धी



नेपाल समाचारपत्र, सल्यान।

बालविवाह न्यूनीकरण गर्न सबै जुट्नुपर्ने सल्यानका सरोकारवालाले जोड दिएका छन्। मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलन गरिएका घटनाको पूर्ण पुष्टि गर्न आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले बालविवाहकै कारण सम्बन्ध बिच्छेदका घटना बढेको बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बालविवाहले गम्भिर खालको समस्या निम्ताउने भएकाले नियन्त्रण गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले इन्सेकले घटना अभिलेखीकरण गर्नुका साथै जिल्लामा देखिएको बालविवाहको समस्या न्यूनीकरण गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो।

मानव अधिकारको विषयलाई हेर्ने आँखा फरक हुने भएकाले मानव अधिकारलाई हेर्ने दृष्टिकोण पनि फरक–फरक हुने गरेको बताउनुभयो। इन्सेकले मौलिक हकका सम्बन्धमा राज्यलाई घच्घच्याउने काम गरिरहेको काम प्रशंसनीय रहेको बताउँदै वर्ष पुस्तकमा समावेश हुने घटनाले मानव अधिकारको अवस्थाको चित्रण गर्न सहज भइरहेको बताउनुभयो।

यस्तै कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतले बालविवाहले किशोरकिशोरीको स्वास्थ्यमा समेत असर पुर्याउने भन्दै बालविवाह न्यूनीकरण अभियानमा इन्सेकसँग सहकार्य गरेर चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। कम उमेरमा विवाह र किशोरी उमेरमा आमा बनेपछि शारीरिक र मानसिक रुपमा तनाव बढ्ने र त्यसलै विभिन्न हिंसासम्बन्धी घटनाहरू निम्तिने उहाँले बताउनुभयो।

कार्यक्रममा नागरिक समाजका अगुवा ज्ञानेश्वर केसी, महिला मानव अधिकार रक्षक सञ्जाल सल्यानका अध्यक्ष सोविता बस्नेत, पार्ड नेपाल सल्यानका प्रतिनिधि दोर्णकुमार यरीलगायतकाले बोल्दै जिल्लामा बालश्रमको विषयमा पनि सरोकारवालाले ध्यान दिनुपर्ने बताउँदै बालबालिकाहरू बढी जोखिममा रहेकाले बालविवाह र बालश्रमलाई न्यूनीकरण गर्ने अभियान नै सञ्चालन गर्ने बताउनुभयो। राज्यले निःशुल्क र अनिवार्य शिक्षा पाउने भनेर मौलिक हकमा उल्लेख गरे पनि व्यवहारमा भने कार्यन्वयन नभएको बताउनुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले २०१९ को जनवरीदेखि डिसेम्बरसम्म संकलन गरेका घटना प्रस्तुत गर्नुभएको थियो। एक वर्षको अवधिमा ७६ वटा घटना अभिलेखीकरण गरिएको उहाँले बताउनुभयो। उहाँले स्थानीय तहले पनि मानव अधिकारका विषयमा सहकार्य गरेर न्यूनीकरणको अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।

नागरिक तथा राजनीतिक अधिकार, सम्मानित रुपले बाँच्न पाउने अधिकारअन्र्तगत हत्याका घटना २, शान्ति सुरक्षा विरोधी गतिविधिमा संलग्नअन्र्तगत गिरफ्तारीका घटना १०, बालअधिकार घटनाअन्र्तगत विद्यालयमा कुटपिट, बलत्कार/यौन दुव्र्यवहार र बालविवाहका १५, महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा र दुव्र्यवहार बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका घटना १२ वटा छन्।

यस्तै बहुविवाह १८, बेचबिखन १, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, आगजनी/सम्पति क्षति अन्य पक्षका ३, सबै प्रकारका जातीय विभेद २, शिक्षाको अधिकारका २ वटा घटनाहरूको अभिलेखीकरण गरिएको बुढाथोकीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्