मदन भण्डारी विश्वविद्यालयको शिलान्यास



नेपाल समाचारपत्र, हेटौंडा।

चिनियाँ सरकारको सहयोगमा मकवानपुरको थाहानगर—९, चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको औपचारिक शुरुवात गरिएको छ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका वरिष्ठ प्राविधिक एवम् परामर्शदाता र थाहानगरपालिकाका मेयर लवशेर बिष्टसहितको सहभागितामा विश्वविद्यालयको निर्माणस्थलमा सो बारेको साइनबोर्ड राखिएको हो।

स्थानीयको उल्लेख सहभागितामा निर्माणका लागि फिल्ड अफिसको रेखाङ्कन गर्ने कार्य भएको छ। मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय विकास समितिले वातावरणीय प्रभाव मूल्याङ्कनका निम्ति परामर्शदाता छनोट गर्न सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ।

५ करोड लागतमा निर्माण हुने फिल्डअफिसको टेन्डर एक साताभित्र सार्वजनिक हुनेछ। विश्वविद्यालयका लागि अन्यत्रसमेत जग्गा खोजी भइरहेकोमा चिन्तित चित्लाङबासीको चिन्ता निर्माण कार्य सुरु भएसँगै हटेको मेयर बिष्टले बताउनुभयो।

असार २५ गते सम्पन्न थाहानगरको पाँचौ नगरसभाबाट विश्वविद्यालय स्थापनाका लागि मन्त्रिपरिषद्ले गरेको निर्णयको स्वागत गर्दै संघीय सरकारलाई धन्यवाद ज्ञापन गरेको थियो। उक्त विश्वविद्यालय स्थापनाका लागि थाहास्थित चित्लाङको स्वच्छन्द भैरव माध्यमिक विद्यालय र त्यस आसपास पर्तीसमेत गरी सात सय ४० रोपनी जग्गा विश्वविद्यालय स्थापनाका लागि दिने नगरसभाबाट निर्णय भएको थियो।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय काभ्रेमा स्थापनाका लागि पनि प्रक्रिया अघि बढेको छ। काभ्रेको पाँचखाल नगरपालिकामा विश्वविद्यालय स्थापना लागि जग्गाको तय भएपछि प्रक्रिया अघि बढाइएको छ।मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशका अध्यक्ष प्राध्यापक डा.राजेन्द्रध्वज जोशी चित्लाङबाट विश्वविद्यालय कहींकतै नजाने दाबी गर्नुहुन्छ।

निर्णयमा नै स्पष्ट रूपमा चित्लाङमा विश्वविद्यालय रहने उल्लेख भएको भन्दै उहाँले चित्लाङबाट विश्वविद्यालय सर्ने कुराप्रति आफ्नो विश्वास नभएको बताउनुभयो। पूर्वाधार निर्माण समिति सरकारले गठन गरेको हो।विश्वविद्यालय मकवानपुरको चित्लाङमा स्थापना गर्न अध्ययन भएर पनि अन्यत्र जग्गा खोजी गरिँदै आएको छ।

उपत्यकाबाट करिब ४० किलोमिटर दुरीमा रहेको पाँचखालमा विश्वविद्यालय स्थापना हुन लागेको एकथरिको दाबी छ। विश्वविद्यालय स्थापनाका लागि पाँचखालको चरुवामा पाँच हजार रोपनी जग्गाको टुंगो लागिसकेको र छिट्टै शिलान्यास हुने बताइएको छ।

थाहानगरको स्वच्छन्द भैरव माध्यमिक विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको १७९ रोपनी १२ आना दुई पैसा जग्गा उक्त विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको नाममा भोगाधिकार प्रदान गर्ने निर्णय सरकारले गरेको छ।

‘हामीले विश्वविद्यालय निर्माणको लागि चाहिने जग्गाको व्यवस्था गरेका छौं, निर्माणका लागि आवश्यक सबै सहयोग गर्न तयार छौं, नगर प्रमुख बिष्टले भन्नुभयो–‘चित्लाङमा नै विश्वविद्यालय निर्माण हुने भएपछि स्थानीय निकै उत्साहित छन्।’चालु आर्थिक वर्षभित्र ईआईए र फिल्डअफिस निर्माण गर्ने कार्य सम्पन्न गर्ने योजना विकास समितिको छ।

निर्माणस्थलको अवलोकन, फिल्डअफिस निर्माण गर्ने, निर्माणस्थलमा साइनबोर्ड राख्न समितिका परामर्शदातासहित ११ विज्ञ टोली चित्लाङ आएको थियो। थानकोटबाट नजिक दुरीमा रहेको चित्लाङ प्राकृतिक प्रयोगशालाका रूपमा विद्यार्थीले उपयोग गर्नसक्ने विज्ञहरूले बताएका छन्।

सरकारले विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यालय बनाउने लक्ष्य राखेको विश्वविद्यालयमा चार हजार विद्यार्थीले अध्ययन गर्न पाउने समितिले जनाएको छ। एमए माथिका अनुसन्धान र खोजका विषयमा अध्ययन/अध्यापन हुने विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट अध्यापन शुरु गर्ने लक्ष्य लिइएको छ।

विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, कानुन र न्यायलगायतका विषय र क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनेछ। सरकारले उक्त विश्वविद्यालय स्थापनासम्बन्धिी विधेयकलाई यसअघिको संघीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ। उक्त विधेयक समितिमा छलफलको क्रममा छ।

प्रतिक्रिया दिनुहोस्