मासिक असुली गर्ने प्रहरी पक्राउ



विजय नेपाली, पोखरा।

पोखराको लेकसाइडबाट रकम असुल गर्दै आएका प्रहरी पक्राउ परेका छन्। सुरक्षाको अवस्थाबारे गोप्य सूचना सङ्कलन र अनुसन्धानका लागि खटिने नेपाल प्रहरीका जुनियर अधिकृतले लेकसाडका डान्सबारबाट मासिक रकम उठाउने गरेको पाइएको छ।प्रहरीको पोसाक लगाउँदा सूचना पाउन कठिन हुने भएकाले नेपाल प्रहरीले सादा पोसाकमा जुनियर अधिकृत र जवानलाई फिल्डमा खटाउँछ।

साँझ परेपछि सञ्चालनमा आउने दोहोरी साँझ, बार, क्याफे, रात्रि क्लब, यौन व्यसायीसँग समेत सादा पोसाकका प्रहरीले धम्काउँदै मासिक रकम असुल्ने गरेका छन्। यसरी उठाएको रकम जिल्ला र प्रदेशका उच्च अधिकारीसम्म पुग्ने गरेको प्रहरी स्रोतकै दाबी छ।

वडा प्रहरी कार्यालय बैदाम मातहत सादा पोसाकमा खटिने प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर रोकाले व्यवसायीसँग रकम असुल्दै आएका हुन्।उनले व्यवसायीसँग रकम मागेको अडियो र रकम लिँदै गरेको भिडियोसमेत सार्वजनिक भएको छ । उनी बैदाम क्षेत्रमा घुमुवाका इन्चार्ज हुन्।साँझ परेपछि सञ्चालनमा आउने दोहोरी साँझ, बार, क्याफे, रात्रि क्लब, यौन व्यसायीसँग समेत सादा पोसाकका प्रहरीले धम्काउँदै मासिक रकम असुल्ने गरेका छन्।

यसरी उठाएको रकम जिल्ला र प्रदेशका उच्च अधिकारीसम्म पुग्ने गरेको प्रहरी स्रोतकै दाबी छ। अबेरसम्म खोल्दा पनि हस्तक्षेप नगर्ने र अन्य काममा पनि सहजिकरण गरीदिने भन्दै सादा पोसाकका प्रहरीले मासिक रकम उठाउँदै आएको व्यवसायीको भनाइ छ।भिडियोमा एक डान्सबारका कर्मचारीले असई रोकालाई रकम हातमा राखिदिएको र रोकाले खल्तीमा राखेर लुसुक्क फर्केको प्रष्ट देखिएको छ।

त्यस अघि उनले फोनगरेर कहिले, कतिबेला र कहाँ आउने भनेर सोधेको अडियोमा प्रस्ट सुनिएको छ। अघिल्लो महिनाको समेत बाँकी रहेकाले दुई महिनाको एकैपटक मिलाएर दिन भन्दै रोकाले यो कुरा कसैसँग नगर्न आग्रहसमेत गरेका छन्। उनले फोनमा भनेका छन्– ‘बाँकी दुई महिनाको छ, मिलाएर दिनुन फोनमा होइन भेटेरै कुरा गरौंला नि, बरु तपाई हाम्रो कुरा बाहिर उस नहोस नि है।’ यसरी उनले लेकसाइडबाट रकम असुल्ने गरेका छन्।

असई रोका विगत एक दशकदेखि नै सादा पोसाकमा खटिने गरेको पाइएको छ। बीचको केही अवधि रोकाविरुद्ध गुनासो बढेपछि उनलाई नेपाल प्रहरीकै सशस्त्र गणमा पठाइएको थियो। तर सेटिङ मिलाएर पुन बैदाम क्षेत्रमै घुमुवा इन्चार्जको जिम्मेवारीका साथ फर्केको प्रहरी स्रोत नै बताउँछ।

रोकाको अरु काम पनि शंकास्पद

जिल्ला प्रहरी कार्यालय कास्की २ मा निर्वाचन सुरक्षामा जुटिरहेका बेला वडा प्रहरी कार्यालय बैदाम मातहतकै क्षेत्रमा बम विष्फोटका घटना भए। उम्मेदवार मनोनयनका दिन कात्तिक २१ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै टुरिस्ट बसपार्कमा बम विस्फोट भएको थियो।

त्यस्तै मंसिर ९ मा पोखरा ३३ का वडाध्यक्ष शिव आचार्यको बिरौटास्थित घरको पार्किङमा अर्को बम विस्फोट भएको थियो। यी दुई घटनापछि जिल्ला नेतृत्वले रोकालाई सचेत गराएको थियो। तर सचेत गराइसकेपछि पनि नेकपाको चुनावी सभा भइरहेका बेला मंसिर ११ मा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बम विस्फोट भएको थियो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रम नजिकै यस्तो घटना भएपछि प्रहरीको सूचना प्रणाली र सुक्ष्म निगरानीमाथि नै प्रश्न उठेको थियो। त्यतिमात्र होइन, चुनावको दिन पोखराकै नयाँबजारस्थित नवप्रभात मावि मतदानस्थल परिसरमै बम विस्फोट भएको थियो।

चुनावी सुरक्षामै जिल्ला प्रहरीले सम्पूर्ण शक्ति लगाइरहेका बेला यो घटना भएकोले प्रहरीका लागि ठूलै चुनौती सावित हुन गएको थियो। यी सबै घटनाका बारेमा सुक्ष्म अनुसन्धान गर्न प्रहरी नेतृत्वले असई रोकालाई खटाए पनि उनले कुनै सूचना ल्याउन सकेनन्। यसै कारण बैदाम र जिल्लाको नेतृत्व उनीप्रति असन्तुष्ट थियो।

कसुर अनुसारको कार्वाही हुन्छ : प्रवक्ता केसी

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार केसीले असई रोकाको बारेमा कार्वाही प्रक्रिया अघि बढेको बताउनुभयो।
प्रवक्ता केसीले रोकामाथी अनुसन्धान भईराखेको र कसुर अनुसारकै कार्वाही हुने बताउनुभयो। उहाँका अनुसार असई रोकालाई प्रहरी ऐन अनुसार विभागीय कारर्वाही थालिएको छ।

 

प्रतिक्रिया दिनुहोस्