विषयगत शाखा नामका मात्रै



नेपाल समाचारपत्र, बैतडी।

बैतडीका स्थानीय तह विषयगत शाखा नामका मात्रै भएका छन्। विषयगत शाखामा कर्मचारी नहुँदा नामका शाखामात्रै भएका हुन्। स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष भन्दा बढी भइसक्दासमेत ती निकायले कर्मचारीकै अभाव झेलिरहेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका बाहेक अन्य पालिकाहरूमा कर्मचारीको चरम अभाव रहेको छ।

स्थानीय तहका विषयगत शाखामा कर्मचारी नहुँदा सेवाप्रवाहमा निकै समस्या भएको तहहरूले जनाएका छन्। साबिकका कार्यालयबाट पाउने सेवासमेत प्राप्त गर्न नसकेको नागरिकले गुनासो गरेका छन्।

गाउँपालिकाको शिक्षा, कृषि, पशु, स्वास्थ्य र महिला तथा बालबालिका लगायतका शाखा कर्मचारी विहिन रहेको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो।

पाटन नगरपालिकामा पनि विषयगत शाखामा काम चलाउ मात्रै कर्मचारी रहेका र केही शाखा कर्मचारी विहिन रहेका प्रमुख प्रशासकीय अधिकृत कमलसिंह महराले जानकारी दिनुभयो।

जिल्लाको मेलौली नगरपालिकामा पनि शिक्षा, कृषि, पशु, घरेलु, महिला तथा बालबालिका शाखा कर्मचारी विहिन रहेका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिनुभयो।

जिल्लाको शिवनाथ गाउँपालिकाका पनि विषयगत शाखामा कर्मचारीको अभाव रहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो। यस्तै पञ्चेश्वर गाउँपालिकाका विषयगत शाखामा पनि कर्मचारी विहिन रहेको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताउनुभयो।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा पनि अधिकांश विषयगत शाखा कर्मचारी विहिन रहेका गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो। जिल्लाको डिलाशैनी गाउँपालिकाको बिषयगत शाखामा पनि कर्मचारीको अभाव रहेको छ।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिकाका अधिकाँश बिषयगत शाखामा कर्मचारीको अभाव रहेको उपप्रमुख जानकी बमले बताउनुभयो। जिल्लाको सिगास गाउँपालिकाका बिषयगत शाखामा कर्मचारीको अभाव रहेको स्वास्थ्य संयोजक जनकसिंह धामीले जानकारी दिनुभयो।

स्थानीय तहका विषयगत शाखाहरूमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। साविकका कार्यालयहरू स्थानीय तहको विषयगत शाखाको रूपमा रहेपनि कर्मचारीको अभावमा सेवा पाउन नसकेको नागरिकहरूको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्