भ्रष्टाचार अन्त्यका लागि नागरिक समाज एकजुट हुनुपर्ने



नेपाल समाचारपत्र, भक्तपुर।

नेकपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सांसद महेश बस्नेतले नागरिक समाज एकजुट हुन सके मात्र भ्रष्टाचार अन्त्य हुने बताउनुभएको छ।जिल्ला समन्वय समिति भक्तपुर र गैर सरकारी संस्था महासंघ नेपाल भक्तपुरले संयुक्तरूपमा आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन, ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा सुशासन स्मारिका विमोचन कार्यक्रममा सांसद बस्नेतले हरेक नागरिकले भ्रष्टाचारविरुद्ध आवाज उठाउन सके कुनै पनि तहका सरकार र सार्वजनिक निकायले भष्टाचार गर्ने साहस गर्न नसक्ने बताउनुभयो।

सांसद बस्नेतले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहशिलताको नीति अंगिकार गरेको भए तापनि अझै त्यसले सार्थकता पाउन नसकेको उल्लेख गर्नुभयो। उहाँले सुशासन नारामा मात्रै सीमित भएको भन्दै अब त्यसलाई व्यवहारमा उतार्न नागरिकको सचेतना स्तरमा वद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

नेता बस्नेतले गैर सरकारी संस्थाहरूले क्षमता अभिवृद्धि र सीप विकास गर्ने नाममा नीतिगतरूपमै हस्तक्षेप गर्ने कार्य गरेको समेत आरोप लगाउनुभयो। उहाँले मुलकको समृद्धि र सुखी नेपाली निर्माणका लागि सामाजिक संघसंस्था र सबै तहका सरकार इमानदार भएर जनमुखी कार्यमा लाग्नुपर्ने बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले मानव अधिकारको रक्षाका लागि लैंगिक हिंसामुक्त समाज निर्माणका लागि सबै जुट्नु आवश्यक रहेको औल्याउनुभयो। उहाँले सुशासनले मात्रै समृद्ध नेपाल निर्माण हुने बताउनुभयो।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सामाजिक संघसंस्थाले जनताको माग र आवश्यकतामा आधारित परियोजना सञ्चालन गर्नुपर्ने बताउनुभयो।
गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरीता कुँवर, गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य बालमुकुन्द सुवाल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, स्मारिकाका सम्पादक रमेश गिरी, महासंघका उपाध्यक्ष जयराम थापालगायतले सामाजिक रूपान्तरणमा संघसंस्थाले खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभयो।

कार्यक्रममा सांसद बस्नेत, जिसस प्रमुख गेलाल, नगर प्रमुख मिश्र, अध्यक्ष बजगाईंलगायतले गैसस महासंघ भक्तपुरद्वारा प्रकाशित जिल्लास्थित सामाजिक संघसंस्थाको गतिविधि समेटिएको स्मारिका ‘सुशासन’को विमोचन गर्नुभयो।

समन्वय संस्था युवाका साथ आवाज नेपालका सचिव श्रीकृष्ण थापाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानबाट प्राप्त उपलब्धि, निष्कर्ष, आगामी योजना, सर्वपक्षीय ऐक्यबद्धताका बारेमा जानकारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्