बलात्कार आरोपमा वडाध्यक्षसहित तीन पक्राउ



शिवहरि प्रसाद भट्टराई, राजविराज।

महिलालाई बलात्कार प्रयासको आरोपमा सप्तरीमा वडाध्यक्षसहित तीन जनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडा अध्यक्ष लक्ष्मी साहसहित तीन जना छन्। पक्राउ परेका अन्य दुई जनाको नाम भने प्रहरीले गोप्य राखेको छ।

अनुसन्धानपछि उनीहरूको नाम पनि सार्वजनिक गरिने प्रहरीको भनाइ छ। उनीहरुलाई विहान ७ बजे जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको विशेष टोलीले घरबाटै पक्राउ गरेको डीएसपी तिलक भारतीले जानकारी दिनुभयो।पक्राउ परेका साह गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट निर्वाचित भएका हुन्।

सोही वडा निवासी पीडित भनिएकी महिलाले प्रहरीमा दिएको उजुरीमा वडा अध्यक्ष साहले गत मंसिर १४ गते दुई जना मानिसलाई मोटरसाइकलमा पठाई, तिमिसँग केही कुरा गर्नु छ वडा अध्यक्षले बोलाउनु भएको छ भन्दै उनकै कुखुरा फर्ममा बोलाई लगेको र त्यहाँ पुग्दा सामूहिक बलात्कारको प्रयास गरिएको उल्लेख गरेकी छिन्।

सोही उजुरी र प्रारम्भिक सूत्रका आधारमा थप अनुसन्धानका लागि वडाध्यक्ष साहसहित तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। उता नेपाली कांग्रेस सप्तरीका सचिव शत्रुध्नप्रसाद यादवले बुधबारै एक प्रेस विज्ञप्ति जारि गर्दै पीडित भनिएकी महिलाले वडाध्यक्ष साहलाई बदनाम गर्न त्यस्तो षड्यन्त्र र झुटो आरोप लगाएको भन्दै घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्