समानताको पुस्ता–बलात्कार विरुद्द ऐक्यवद्दता

लैङ्गिक हिंसा न्यूनीकरण तथा सुरक्षा सचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न



न्युज अफ नेपाल, पर्वत ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरण तथा सुरक्षा सचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम कुश्मा नगरपालिका–५ स्थित पर्वत जेसिजको सभाहलमा मंगलबार सम्पन्न भएको छ ।

“समानताको पुस्ता–बलात्कार विरुद्द ऐक्यवद्दता” भन्ने राष्ट्रिय नाराकासाथ सुरु भएको लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत उक्त कार्यक्रम पर्वत जेसिजको आयोजना र जिल्ला प्रहरी कार्यालय पर्वतको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लैङ्गिक हिंसा, महिला हिंसा, सामाजिक सञ्जालको व्यवस्थित प्रयोग, ट्राफिक सचेतना, आधारभूत सुरक्षा तथा सुरक्षा सम्बन्धी समसामयिक विषयवस्तुमाथि प्रकाश पार्दै जानकारीमूलक प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै सहभागिकोतर्फबाट उठेका जिज्ञासा समेत उहाँले सम्बोधन गर्नुभएको थियो ।

उक्त कार्यक्रमका पर्वत जेसिजका अध्यक्ष जेसी मोहन आचार्यले लैङ्गिक हिंसा न्यूनीकरण गर्न, लागूऔषध दुर्व्यसन रोक्न तथा सुरक्षा सचेतना बढाउन पर्वत जेसिज सदैव तयार रहेको र आगामी दिनहरुमा समेत प्रहरीसँगको सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

सो अवसरमा पर्वत नाई संघका अध्यक्ष तथा निवर्तमान अध्यक्ष, पर्वत जेसिजका पदाधिकारीहरु, वुद्धिजीवी, समाजसेवी लगायत अन्य स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्