उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएनन् , ७ जनाको धरौटी जफत



चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले खर्चको विवरण बुझाएका छैनन् । जिल्लाका सात स्थानीय तहका ९१७ जनाले निर्वाचन कार्यालयमा खर्चको विवरण नबुझाएका हुन् । जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमा दुई हजार २०३ उम्मेदवार रहेका थिए । तीमध्ये एक हजार २८६ जनाले मात्र खर्चको विवरण बुझाएको उहाँले जानकारी दिनुभयो ।

यस्तै प्रतिनिधिसभा र प्रदेशसभाका १२/१२ जनाले पनि खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ । साना राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले खर्चको विवरण नबुझाएका हुन् । उनीहरुलाई कार्यालयले ताकेता गरिरहेको भए पनि विवरण बुझाइनसकेको ढकालले बताउनुभयो । निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।

सात जनाको धरौटी जफत

उप निर्वाचनमा जिल्लाका तीन वडाध्यक्षका लागि उम्मेदवार बनेका सात उम्मेदवारको धरौटी जफत भएको छ । भरतपुर महानगरपालिका वडा नं १६, खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा १३ जना उम्मेदवार रहेका थिए ।

तीमध्ये सात जनाले सदरमतको १० प्रतिशत मत ल्याउन नसकेपछि धरौटी जफत भएको हो । तीनवटै वडामा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्