‘स्मार्ट सिटी वालिङ’ बजेट अभावमा अलपत्र



अमृत अर्याल, स्याङजा ।

स्मार्ट सिटीको अवधारणा बोकेको स्याङजाको वालिङ नगरपालिकाले बजेट अभावमा भनेजति काम गर्न सकेको छैन् । देशका १२ वटा शहरहरुलाई स्मार्ट सिटी बनाउने सरकारी योजना अन्तर्गतको एक शहर वालिङ पनि हो । स्मार्ट सिटी भनेको चिल्लो सडक र अग्ला घरहरु भएको राम्रो शहर होला भन्ने अडकल गर्ने गरेको थियौं । तर अहिले स्मार्ट सिटीको अवधारणाको रुपमा भएका विकासका नमुनाहरु हेर्दा स्मार्ट सिटीको ठ्याक्कै एउटा परिभाषा गर्ने अवस्था भएको देखिदैन ।

जनताको जीवनस्तर, श्रोत साधनको उपलव्धता त्यँहाको हावापानी, माटोको अवस्था अनुसार स्मार्ट सिटीका अवधारणाहरु पनि फरक फरक भएको देखिन्छ । जे होस स्मार्ट सिटी भनेकोे सुचना प्रविधिमैत्री भएको एक आधुनिक शहर जँहा पर्याप्त पानी, विजुलीको सुविधा, शुसासन, आम शहरवासीलाई सुचना प्रविधीको पहँुच, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन तथा स्मार्ट प्रविधिवाटै आकस्मिक समस्याको समाधान सहितको, स्वस्थ्य, समावेशी र सम्वृद्ध नागरिक भएको स्वच्छ शहरको रुपमा वुझ्न थालिएको छ ।

वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँण स्मार्ट सिटी निर्माणका लागि सबैभन्दा पहिला जनताको सोचाई स्मार्ट हुनुपर्ने बताउनुहुन्छ । सन्सारका धेरै मुलुकका शहरहरुमा वसाई सराई लागाएतका कारणवाट शहरहरुको व्यवस्था जटिल र अव्यवस्थित हुदै गएको सन्दर्भमा स्मार्ट सुत्र वाट सहरको पुनर्संंरचना वा नयाँ शहर निर्माण गरी किफायती तथा सामाजिक समावेशी र सुविधा प्रदत्त आधुनिक स्मार्ट शहरको विकास गर्ने पहिलो प्रयास सन २०११ ताका युरोपमा गरिएको थियो । युरोपमा भएको यो प्रयासवाट सयौं शहरहरु स्मार्ट भएको हुदा भारत र चीनले पनि आफ्ना निश्चित शहरहरूलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अभियानको थालनी गरी सफल भएकोले यस खालको शहरी विकास आयोजनाको सुरुवात नेपालमा पनि भएको छ ।

देश संघीयतामा गैसकेपछी स्मार्ट सिटी निर्माणको लागि छुट्टै बजेट व्यवस्था नहुदाँ जुन गतिमा काम हुनुपर्ने हो सो हुन नसकेको नगर उपप्रमुख कल्पना तिवारी बताउनुहुन्छ । स्मार्ट सिटीको रुपमा विकास गर्नको लागि पहिलो समुहमा छानिएका नेपालका १२ शहरहरु मध्ये वालिङ पनि एक हो । स्थानीय तहको चुनाव अगाडि देखिनै प्रस्तावित भैसकेको यो कार्यक्रमको कार्यान्वयन चुनाववाट निर्वाचित नेतृत्ववाट गतिमान हुने अपेक्षा गरिएकोले स्मार्ट सिटीको कार्यक्रम सञ्चालन कँहा सम्म पुगेकोे छ भनेर जनस्तरवाट चासो राख्न थालेको देखिनुलाई सकारात्मक नै मान्नु पर्ने हुन्छ । वालिङवासी नागरिकको चाहनालाई मध्यनजर गर्दै वालिङ नगरपालिकाले सरकारको निर्देशिका, दिगो विकासका लक्ष्यहरु र वालिङ नगरपालिकाको हावापानी, माटो, श्रोत साधन तथा जन आकाँक्षा समेतलाई आधार वनाएर स्मार्ट अवधारणा पत्र तय गरी अगाडि वढी रहेको नगर प्रवक्ता केदार काफ्ले बताउनुहुन्छ ।

स्मार्ट सिटी निर्माणको लागि पुँजीको ठुलो रकम आवश्यक पर्ने हुदा यसको लागि संघीय तथा प्रदेश सरकार संग श्रोतको लागि अनुरोध गरिनुका साथै नगरपालिकाको पहलमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सघ संस्थाहरु संग सहकार्यको लागि पहल भए अनुसार विशेषगरी डिपिआर निर्माण तथा आर्थिक विकासको लागि कृषि तथा पशुपालन र सहकारी विकासको क्षेत्रमा सहयोग जुट्ने क्रम जारी रहनुको साथै थप लगानीकर्ताहरुको सम्पर्क गर्ने कार्य भैरहेको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी बताउनुहुन्छ ।

नगरपालिकाले मुख्यतया स्मार्ट सिटीको लागि चार वटा विषय लाई खम्वाको रुपमा स्वीकार गरी त्यसभित्र सुचना , पुर्वाधारका अवयवहरु तथा सामाजिक र आर्थिक कृयाकलाप समेटेर आधार स्तम्भहरुको विकास गर्नुपर्ने गरी सुचकहरु निर्धारण गरेको छ । यस भित्र सडक, खानेपापी, सिंचाई, यातायात, फोहरमैला व्यवस्थापन, भु उपयोग, सुचना प्रविधि र पुर्वाधारको विकास गरी सर्वसाधारणको पहुच सम्म पु¥याउने र पुर्वाधारमा लेसर जडान गर्ने लक्ष्य समेत किटान गरिएको छ ।

डिजिटल तथ्याँक विवरण, घर नक्साँकन, कर तथा शुल्कको भुक्तानीको लागि लाईन लागेर होइन मोवाइल एप्सवाट घरवाटै भुक्तानी गर्ने सुविधा र वडा तथा नगरपालिका कार्यालय वाट दिने सेवा अनलाईन मार्फत र पेपरलेस गरी सेवा प्रदान गर्ने लक्ष्य छ । एक गाँउ एक उत्पादन , एक गाँउ एक सहकारी मार्फत प्रशस्त स्वरोजगारी श्रृजना, स्थानीय उत्पादन विक्री गर्ने कम्पनीको स्थापना, कृषकको लागि सहुलीयत प्राविधिकको समुचित व्यवस्था तथा अनुदान दिने, नयाँ उद्योग स्थापना गर्ने र पतन्जली योग ग्रामको स्थापना गरी धेरैलाई रोजगारीको व्यवस्था गर्ने लक्ष्य निर्धारण भएको छ । संचालित विद्यालयहरुलाई प्राविधिक शिक्षालयमा रुपान्तरण गरी दक्ष प्राविधकको उत्पादन गर्ने, विभिन्न साधनहरुमा, घरमा सेन्सर प्रयोग गर्ने, इनोभेसन ल्याव जडान गर्ने , विपद व्यवस्थापन तथा अन्य शहरी घटनाहरुमा ड्रोन तथा सिसी क्यामराको प्रयोग गरी शहरलाई प्रविधि मैत्री वनाउने स्मार्ट समाधानको सुनिश्चित गर्ने कामका सूचिहरुको निर्धारण गरिएको छ ।

यसरी चार खम्वाको आधारको साथै प्रविधि, श्रोत साधन, सेवाको उपयोग, फोहोरमैलाको व्यवस्थापन, पुन प्रयोग , पर्यावरण संरक्षण, जनताको उत्सुकता, समावेशीता समेतमा ३० वटा घटकहरुको १०६ वटा सूचक तैयार गरी १००० अंक भार किटान भई सोही सूचक भित्र रहेर सेवा प्रदान गर्ने अभ्यास सुरु पनि भैसकेको नगरपालिकाले जनाएको छ ।

आँधीखोला करीडोर निर्माण, सिद्धार्थ राजमार्ग फराकिलो गराउने कार्य तथा वसपार्क निर्माणको तयारी स्मार्ट यातायात अन्तर्गतको कार्य हो भने आँधीखोलाको तटवन्धन वातावरण संरक्षण र क्यानोनिङ, वोटिङ पर्यटन पुर्वाधारको आधारहरु मध्येको कामहरु हुन् । यसै गरी वडा वडाका वार्षिक कार्यक्रमहरु पनि स्मार्ट पुर्वाधारको लक्ष्य अन्तर्गत रहेर गरिदैछ । घर नक्सांकन, तथ्याँक संकलन, वडा तथा नगरपालिका वाट केही कामहरु अनलाईन वाट सेवा दिने कार्यारम्भ पनि भएको छ । नगरपालिका भवनमा इनोभेशसन सेण्टर स्थापना गरी साधारण तालीम सञ्चालन भैरहेको छ । स्मार्ट नगरको वृहत गुरु योजना निर्माणको काम हाल एशिएन फाउण्डेशनको सहयोगमा वन्दै रहेकोले अहिले सम्मका कामहरु घर वनाउनको लागि जमीन मुनी जग पुर्ने जस्तै आधारभूत काम भएकोले काम नदेखिएको जस्तो पनि हुन सक्छ तर यसको परिणाम तथा फरकपन केही समयवाट देखिने नगर प्रमुख खाँणको दावी छ ।

स्मार्ट सिटी निर्माणको यो अभियान सम्पन्न गर्नको लागि नगरपालिकाले राजनैतिक एैक्यवद्धता, संघीय तथा प्रदेश सरकारहरु संग सहयोगको लागि नियमित माग र आग्रह, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाको समन्वय तथा सम्पर्क विस्तार, विभिन्न स्तरमा छलफल, सुपरीवेक्षण तथा मुल्याँकनलाई कार्यान्वयनको प्रमुख आधार मानेर तत सम्वन्धमा प्रयत्नशील रहेको र सो सम्वन्धी सकारात्मक वातावरण श्रृजना गर्न लागिपरेको जनप्रतिनिधिहरु बताउछन् ।

स्मार्ट सिटीको वारेमा विभिन्न चरणमा छलफल र अन्तरकृया भैसकेको भएता पनि यो विषयमा जनस्तरमा कौतुहल वाँकी रहेको पाईएको हुदा अझै एक दुई पटक नागरिक समाज, पत्रकार, स्थानीय संघ संस्थाहरु, वुद्दीजिवी, व्यापारीका वीच अन्तरक्रिया गरी नागरिकको सुझाव लिने कार्य गर्न आवस्यक देखिएको छ । वालिङ घर भई देश विदेशको महत्वपुर्ण सेवामा संलग्न व्यक्तित्वहरुको भरपुर उपयोगको लागि सहयोगको अनुरोध गर्ने, कर्मचारी संयन्त्रलाई प्रोत्साहित गर्ने, अधिकतम रुपमा निजी क्षेत्रको उपयोग गर्ने वातावरण निर्माण गर्ने, प्रदेश तथा संघीय सरकारको क्षेत्रगत वजेटहरुलाई पनि स्मार्ट योजना अन्तर्गत स्थानीयकरण गर्ने, वालिङ स्थित सवै वित्तीय संस्थाहरुलाई स्मार्ट अवधारणालाई मद्यत पुग्ने गरी लगानी गर्न सहमत गराउने, नियमित अनुदानको अतिरिक्त स्मार्ट विशेष वजेट सहयोगको लागि प्रदेश तथा संघीय सरकारहरु संग अग्रह गर्ने हो भने र नागरिकले पनि स्मार्ट वन्ने संकल्प गरेमा आधुनिक सुविधा युक्त स्मार्ट वलिङ वनाउने संकल्प अवश्य पुरा हुनेछ भन्नेमा स्थानीय आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्