स्वर्णिम बनेको १३औं साग



फिरोज राजोपाध्याय, काठमाडौं।

नेपालले आयोजना गरेको १३औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्णिम साग साबित बनेको छ। नेपालले सागको ३५ वर्ष लामो यात्रामा पहिलो पटक ५० भन्दा बढी स्वर्ण जित्दा १३औं साग स्वर्णिम बन्यो। सन् १९८४ देखि शुरू भएको सागमा नेपालको यसअघि सबैभन्दा उत्कृष्ट नतिजा भनेको आठौं साग थियो।

सन् १९९९ मा नेपालमै भएको आठौं सागमा ३१ स्वर्ण जित्न सफल भएको थियो। तर दुई दशकपछि पुनः नेपालले साग आयोजना गर्दा अपत्यारिलो ढंगले स्वर्ण जितेको छ। नेपालले १३औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कूल २ सय ६ पदक बटुलेको छ। २ सय भन्दा बढी पदक जित्नु पनि नेपालको सागमा कीर्तिमान नै हो। यसअघि नेपालले १ सय पदक पनि जित्न सकेको थिएन।

कूल २७ खेल समावेश १३औं सागमा नेपालले २६ खेलमा पदक जित्न सफल भयो। नेपालले एउटै मात्र खेल शुटिङमा पदक जित्न सकेन। नेपालले ५१ स्वर्ण जितेकोमा मार्शल आर्टस्बाट सबैभन्दा बढी ३२ स्वर्ण आएको छ। जसमा तेक्वान्दोमा सर्वाधिक १२ स्वर्ण रह्यो।

त्यस्तै कराँतेबाट १०, उसुबाट ५, बक्सिङबाट ३ र जुडोबाट २ स्वर्ण आएका हुन्। बक्सिङमा नेपालले २० वर्षपछि नै स्वर्ण जितेको छ भने भारोत्तोलनमा १३ वर्षपछि नेपालको लागि स्वर्णको अवसर जुरेको छ। यस्तै नेपालले ट्रायथलन, गल्फ, कुस्ती र साइक्लिङमा पहिलो पटक स्वर्ण जितेको छ। अन्य खेलमा एथ्लेटिक्स, पौडी, फुटबलबाट स्वर्ण नेपालको लागि आएका छन्।

गौरिकाको ४ स्वर्णको कीर्तिमान

१३औं सागमा पौडी महिला खेलाडी गौरिका सिंहले ४ स्वर्ण जितेर नेपालको लागि नौलो कीर्तिमान रचिन्। उनी एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन्। त्यस्तै सागकोे पौडीमा गौरिकाले नेपालको लागि पहिलो पटक स्वर्णको साइत जुराइदिएकी हुन्।

ऐतिहासिक स्वर्ण

नेपालका लागि १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जितेर एथ्लेटिक्सतर्फ सो उपलब्धि हासिल गर्ने पहिलो महिला खेलाडी बनेर कीर्तिमान रचिन्। यस्तै कुस्तीमा संगीता धामीले पहिलो पटक स्वर्ण जितेर कीर्तिमान बनाइन्। गल्फमा सुवास तामाङले पहिलो पटक स्वर्ण दिलाएर कीर्तिमान बनाए। भारोत्तोलनको महिला विधामा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् सञ्जु चौधरी।

पुरुष फुटबलमा स्वर्ण

नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको अन्तिम स्वर्ण आप्mनो नाममा लेखाउन मंगलबार सफल रह्यो। दशरथ रंगशालामा भएको पुरुष फुटबलको फाइनलमा नेपालले स्वर्ण पदकका लागि भुटानलाई २–१ ले पराजित गर्यो। नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको स्वर्ण जितेको यो कीर्तिमान चौथो पल्ट हो।

पाकिस्तानको नाममा पनि चार पटक पुरुष फुटबलमा स्वर्ण जितेको कीर्तिमान छ। नेपाल सन् १९८४, १९९९ र २०१६ को विजेता पनि हुन्। यस्तै नेपाल भारत र पाकिस्तानपछि लगातार दुई स्वर्ण जित्ने तेस्रो टिम पनि बनेको छ।

नेपालले तीन वर्ष अगाडि पुरुष फुटबलमा जितेको स्वर्णको रक्षा पनि गरेको छ।नेपालले १७ औं मिनेटमा अग्रता लिएको थियो। अभिषेक रिजालले नजिकबाट सजिलै गोल गरे। यो अभिषेकको प्रतियोगितामा तेस्रो गोल हो । भुटानले गरेको एक गोल भने कप्तान चेन्चो ग्यालचिनको नाममा रह्यो। उनले ३७ औं मिनेटमा गोल गरे। खेलको निर्णायक गोल भने ५३ औं मिनेटमा सुनिल बलले गरे।

बास्केटबल : नेपाली महिला टिमलाई रजत

सागअन्तर्गत बास्केटबलको महिलामा नेपालले रजत जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित गर्यो।

भारतकी स्कारियाले २० अङ्क जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर गरिन्। पुरुषतर्फ भने नेपालले बंगलादेशलाई ८१–५९ अङ्कको अन्तरले हराएर काँश्य पदक जित्यो।

प्रतिक्रिया दिनुहोस्