सनिलले दिलाए नेपाललाई ५०औं स्वर्ण



कविरस शर्मा, काठमाडौं ।

नेपालको लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् मंगलबार बक्सर सनिल शाहीले ५०औं स्वर्ण दिलाएका छन्। ललितपुरको सातदोबाटोमा सागको अन्तिम दिनमा भएको पुरुष ६० केजीमा भारतीय मुक्केबाज भरिन्दर सिंहलाई अङ्कको आधारमा पराजित गर्दै सनिलले स्वर्ण जित्न सफल भए।

यसअघि भूपेन्द्र थापा मगर र मिनु गुरुङले नेपाललाई स्वर्ण दिलाएका थिए। यस तौल समूहको काँश्य भने श्रीलंकाका जीवन्थ निस्सन्का बामुनु अराचचील र बंगलादेशका सूरा कृष्णा चक्माले प्राप्त गरे। अन्य बाउटमा भने भारतको नै दबदबा रह्यो। महिला ५१ केजीको खेलमा भारतीय बक्सर पिन्की रानीले नेपालकी माला राईलाई स्पिलिट डिसिजनको आधारमा हराउदै स्वर्ण पदक जितिन्।

हारसँगै मालाले रजत पदक प्राप्त गरिन्। यस्तै पाकिस्तानकी रजिया बानो अजीज र श्रीलंकाकी कोसला निलमिनी अथावुदा अच्चिलागेले प्राप्त गरे। महिला ५७ केजीमा भारतकी सोनिया लाथेरले श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापूरायालागेलाई अङ्कको आधारमा हराउँदै स्वर्ण जितिन।

यस तौलमा पाकिस्तानकी मेहरीन र नेपालकी चन्द्रकला थापाले काँश्य हात पारे। महिला ६४ केजीमा नेपालका पूनम रावल पनि भारतकी मञ्जु बम्बोरियासँग पराजित हुँदै रजतमा सीमित भईन्। भारतकी मञ्जु बम्बोरियाले भने स्वर्ण चुमिन्। यस तौलमा पाकिस्तानकी परभीनले भने काँश्य हात पारिन्।

यसैगरी पुरुष ५२ केजीको फाइनलमा भारतका स्पर्श कुमारले पाकिस्तानका सईद मुहमद आसिफलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण जिते। यसै समूहको काँश्य पदक भने नेपालका तेजबहादुर देउवा र श्रीलंकाका लासिन्दु इरान्डा कुदाभीथानागेले प्राप्त गरे।

पुरुष ६९ केजीमा पनि भारतकै कृषन भिकासले पाकिस्तानका गुल जाइबलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण जिते। यस तौलको काँश्य भने नेपालका विकास लामा र बंगलादेशका अब्दुर रहीम मोहमदले हात पारे।

यसैगरी पुरुष ८१ केजी तौल समूहमा नेपालका गणेश प्रधान रजतमा सीमित भए। गणेशलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै श्रीलंकाका रोमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई स्वर्ण हात पारे। यो तौल समूहको काँश्य भने पाकिस्तानका अवाइस अली खान र भारतका सचिन कुमारको पोल्टामा पर्यो।

पुरुष ९१ केजीभन्दा माथिको भिडन्तमा भने भारतका नरेन्दरसँग अङ्कको आधारमा पराजित हँुदै नेपालका आशिष दुवादीले रजत प्राप्त गरे। यस समूहको काँश्य पदक भने श्रीलंकाका बुवानेका ईरान्डा अराकाराम रल्लागेले प्राप्त गरे।

 

 

प्रतिक्रिया दिनुहोस्