सहकारी पीडितको प्रदर्शन



नेपाल समाचारपत्र, बाँके।

सहकारीपीडितहरूले नेपालगन्जमा प्रदर्शन गरेका छन्। मानव अधिकार दिवसको अवसर सहकारी वित्तीय विकास बैंकिङ संस्थाका पीडितले नेपालगन्जमा प्रदर्शन गरेका हुन्। उनीहरूले ‘हाम्रो मानव अधिकार रक्षा गर’ भन्दै नारा लगाएका थिए।

गाउँ–गाउँबाट आएका किसान र गृहिणीले प्लेकार्ड र ब्यानर बोकेर नेपालगन्जमा नाराजुलुस गरेका हुन्।सरकारी र संस्थाका प्रतिनिधिले होटलमा बसेर मानव अधिकार दिवस मनाइरहँदा पीडित किसान सडकमा आफ्नो बेदना पोखिरहेका थिए। प्रदर्शण गरिरहँदा किसान र गृहिणीको अनुहार मलिनो थियो। आक्रोश थियो।

उनी सडकमा हिँडेको यो नौलो थिएन। नौलो थियो त खाली नारा। नेपालगन्जको सहकारी वित्तीय विकास बैंकिङ संस्था लिमिटेडले रकम हिनामिना गरिदिएपछि उनीहरू सात महिनादेखि सडकमा उफ्रिरहेका छन्।

निक्षेपकर्ता संघर्ष समितिका उपसंयोजक आशुतोष शुक्लाले माइकिङ गर्दै ‘हाम्रो मानव अधिकार रक्षा गर’ भन्दा गाउँबाट आएका किसान र गृहिणी त्यसमा स्वर मिलाउँदै थिए। पीडित निक्षेपकर्ताले आफ्नो पैसा हिनामिना गरेको सहकारी कार्यालय अगाडि हुँदै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा पुगेर केहीबेर आक्रोश पोखे। भेरी अस्पताल अगाडि पुगेर कोण सभा गरे।

संघर्ष समितिका संयोजक विजयकुमार गुप्तले छिटोभन्दा छिटो पैसा फिर्ताको वातावरण बनाउन आग्रह गर्नुभयो। उपसंयोजक शुक्लाले कडा आन्दोलनमा जाने चेतावनी दिनुभयो।

सहकारीमा ४३ करोडबढी हिनामिना भएको छ। ४१ जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले ६ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएकोमा चार जना पुर्पक्षका लागि थुनामा गएका छन्।्

प्रतिक्रिया दिनुहोस्