एडीबीले ४० अर्ब ४५ करोड ऋण दिने



नेपाल समाचारपत्र, काठमाडौं।

एसियाली विकास बैंक (एडिबी) ले चार वटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाललाई ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ। नयाँ परियोजना कार्यान्वयनका निम्ति ऋण प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा बैंकका देशीय निर्देशक मुख्तोरखामुदखानोभ र अर्थ सचिव डा. राजन खनालले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप ७ अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि ५ अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन ५ अर्ब ६५ करोड प्रदान गर्नेछ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबुखैरनी खण्डलाई चार लेनमा विस्तारमा उपयोग गरिनेछ। त्यसैगरी बागमती नदीको सौन्र्दयकरणका साथै ढल प्रशोधन केन्द्र निर्माण गर्नका लागि सो रकम ऋण सहयोग गर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्