सरकारी संरचना अपांगमैत्री बनाउन पहल



धादिङ, (नेस)।

धादिङका सार्वजनिक निकायका भौतिक संरचना अपांगमैत्री नभएको भन्दै सरोकारवालाले गुनासो गरेका छन्। सदरमुकाममा रहेका सार्वजनिक निकाय र सरकारी कार्यलय अपांगमैत्री नभएको भन्दै अपांगता भएका व्यक्तिले गुनासो गरेका हुन्।

७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धादिङबेसीमा आयोजित प्यानल डिस्कसन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भूकम्पपछि पुनःनिर्माण भएका जिल्ला सदरमुकामका सरकारी सार्वजनिक संरचना अपांगमैत्री बनाउन र जिल्ला सदरमुकामका बंैक तथा वित्तीय संस्थाहरू अपांगमैत्री बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम इन्सेक, सहयात्री समाज नेपाल, रेडियो धादिङ, पत्रकार महासंघ र महिला मानव अधिकार रक्षकको जिल्ला सञ्जालको आयोजनामा धादिङबेसीमा आयोजना गरेको हो।केही घटनाबाहेक प्रहरीले गर्ने सबै किसिमका अपराध नियन्त्रण, बालबालिका खोजतलास र महिलामाथि हुने हिंसा अन्त्य गर्न निरन्तर क्रियाशील रहेको प्रहरी उपरीक्षक राजकुमार वैद्धवारको भनाइ छ।

गजुरी गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सीता ढुंगानाले न्यायिक समितिले गाउँमै २३ प्रकारका घटना हेर्न थालेपछि जनताले न्यायपाएको अनुभूति गरेको बताउनुभयो।

न्याय निरुपणमा सरकारी वकिलले सबै तरहले सहयोग गरेको बताउँदै जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अधिवक्ता बालकृष्ण वाग्लेले मानव अधिकारको संरक्षण गर्ने काममा लागिरहेको बताउनुभयो।

महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालकी महासचिव राधिका सापकोटाले लैंगिक हिंसाका घटना धेरै भएका छन्। अधिकारका लागि लाग्नेहरूले सधंै न्यायका पक्षका काम गरिरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्