सडक कार्यालयमा धर्ना



नेपाल समाचारपत्र, विराटनगर।

रानी–विराटनगर–इटहरी–धरान सडकको इटहरी खण्डमा मापदण्डभन्दा साँघुरो सडक बनाएको भन्दै विरोधमा उत्रिएको संघर्ष समितिले सो सडक योजनाको कार्यालयमा धर्ना दिएको छ। आइतबार सडक योजना कार्यालयमा पुगेका संघर्ष समितिका अभियन्ताले कार्यालयको गेटमा एक घण्टा धर्ना दिएका हुन्।

सडकको बीचबाट दुवैतर्फ ८२ फुट कायम गरेर सडक बनाउनु पर्नेमा ६५ फुट मात्र कायम गरेर नाला निर्माण गर्न थालेपछि अभियन्ता आन्दोलित भएका हुन्। यस विषयमा इटहरी उपमहानगरपालिकालगायतका सरोकारवाला निकायलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएकाले मंगलबार धर्नाको कार्यक्रम गरिएको संघर्ष समितिका संयोजक मदन चुडालले जानकारी दिनुभयो।

उहाँले सरोकारवाला निकायले यस विषयमा अझै पनि चासो नदेखाएमा योजनाको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिनुभयो। यता रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका इञ्जिनियर गौतमकुमार देवले भने सडक ८५ फुट कार्यम गर्नुपर्ने भए पनि नाला भने ६५ फुटमा नै बनाउनुपर्ने भएकाले पहिलो चरणअन्तर्गत नाला निर्माणको काम अघि बढाइएको जानकारी दिनुभयो।

उहाँले शुरूमै ८५ फिट खाली गराउँदा अघि बढ्दै गरेको कामसमेत रोकिने भएकाले पहिलो चरणको काम सकेपछि ८५ फुट नै खाली गराएर काम गर्ने बताउनुभयो।
रानी–विराटनगर–इटहरी–धरान सडकलाई छ लेन बनाउनको लागि विभिन्न खण्डमा काम भइरहँदा इटहरीको मुख्य चौक क्षेत्रमा विवादका कारण रोकिएको थियो।

मुख्य बजार क्षेत्रमा रहेका धेरै घर भत्कने भन्दै स्थानीयले विरोध जनाएपछि काम हुन सकिरहेको थिएन। अन्ततः दुवैतर्फ गरी ६५ फुट सडक क्षेत्र कायम गरेर काम शुरू गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्