रानीपोखरीअगाडि मन ढलेको छैन



भ्रष्टाचारविरुद्धको विश्व दिवसको अवसर पारेर शैली थिएटरले सडक नाटक मन ढलेको छैन मञ्चन गरेको छ। सोमबार दिउँसो रत्नपार्कस्थित रानीपोखरी अगाडि देखाइएको नाटक मूलतः पुनर्निर्माणमा भएको ढिलासुस्ती, भ्रष्टाचार र यसको पारदर्शितामा केन्द्रित थियो।

भूकम्प गएको लामो समय बितिसक्दा पनि पुनर्निर्माण कार्य सुस्त भएको र वास्तविक भूकम्पपीडितले पाउनुपर्ने राहत तथा सहयोग नक्कली पीडितले लिएको गुनासोलाई नाटकको मूल विषयवस्तु बनाइएको थियो।

भूकम्पले मान्छे मात्र मारेन, उनीहरूका घर मात्र ढलेनन्, नेपालका पुराना ऐतिहासिक धरोहर पनि कति ढले कति क्षतिग्रस्त अवस्थामा पुगे। यही परिप्रेक्ष्यलाई समेटेर सडक नाटकमार्फत सरकारलाई खबरदारी गर्दै आम नागरिकलाई सचेत गराइएको नाटकमा एम्नेस्टी इन्टरनेसल नेपालको सहयोगमा शैली थिएटरका कलाकारले अभिनय गरेका थिए। नाटक भूकम्प आएको अवस्थाबाट शुरू हुन्छ, जसलाई कलाकारको अभिनय र संगीतबाट कलात्मक एवं प्रतीकात्मक तरिकाले देखाइएको थियो।

त्यो प्रकोपबाट कमलमान (सुवास सुवेदी)को घर भत्किन्छ। उसको आयस्रोत रहेको पसल पूरै भत्किएकाले ठूलो नोक्सान हुन्छ। समयमै उद्धार प्राप्त नहुँदा उसकी श्रीमतीको घरभित्र थिचिएर मृत्यु हुन्छ। केही समयपछि सन्तानका निम्ति भनेर राहत लिन नेपाल सरकारका विभिन्न निकायमा पुग्छ।

पूरै प्रमाण हुँदासमेत उसले राहत पाउँदैन भने उसकैअघि घर नोक्सान नभएका शक्तिशाली मान्छेले भने राहत पाउँछ। हाकिम (रोबिन तामाङ)ले आफूलाई पैसा दिए कमलमानलाई राहतको पैसा दिने प्रस्ताव राख्छ। तर ऊ मान्दैन र यो शहरको मेयरलाई सुनाउन जनतासँग मेयर कार्यक्रमतर्फ लाग्छ।

हाकिम इन्जिनियर (विशाल घिमिरे) र ठेकदार (सृष्टि आचार्य)लाई पनि काम दिलाउने प्रस्तावमा पैसाको खेल खेल्छ। उसलाई पुरातात्विक ऐतिहासिक धार्मिक महत्व जोगाउनभन्दा पनि पैसा र कमिसनको खेलतर्फ ध्यान हुन्छ। एक दिन भूकम्पको पराकम्पन आउँछ।

उसले नै बनाउन लगाएको एक सार्वजनिकस्थल ढलेर उसको छोरा (निर्भीक भट्टराई)को मृत्यु हन्छ। बल्ल आएर हाकिमलाई आप्mनो गल्ती महसुस हुन्छ।
‘आप्mनो घरमात्र बलियो बनाएर हुँदैन, पूरै समाज बलियो हुनुपर्दो रहेछ।’ –कमलमान आफ्नो परिस्थिति मेयरसामु सुनाउँछ।

मेयर (सगुन पोखरेल)ले सहयोग गर्ने बचन दिँदै भन्छन्– ‘भूकम्पले हाम्रो घर, धरोहर ढाल्यो। तर हामी भ्रष्टाचार नगरी पुनस्र्थापनातिर लाग्नु छ। किनभने हामी बलियो छौं। हाम्रो मन ढलेको छैन।

कुनै लोभ, डर, करकापले हाम्रो मन ढलेन भने हामी फेरि बलियो समाज निर्माण गर्छौं।’ नारायण न्यौपानेको लेखन तथा निर्देशनमा तयार पारिएको नाटकमा देवेन्द्र बब्लु, डेनी भट्ट र सम्भव सुवेदीले पनि विभिन्न भूमिका निर्वाह गरेका थिए। आयोजकका अनुसार यो सडक नाटक राजधानीका तीनै शहरका विभिन्न सार्वजनिक स्थानमा मञ्चन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्