एकीकृतरूपमा माडीको विकास: मुख्यमन्त्री पौडेल   



न्युज अफ नेपाल, चितवन ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको माडीलाई एकीकृतरूपमा विकास गरिने बताउनुभएको छ ।

माडी नगरपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भारतसँग सीमा जोडिएको प्रदेश नं ३ को माडीलाई एकीकृत विकास गर्दै मुख्य नाकाको रूपमा विकास गरिने बताउनुभयो । उहाँले माडीको विकासका लागि प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री स्थानीयस्तरमा हुँदै आएको विकासको मोडेल परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । “हामीले आजसम्म पैसामात्र बाँड्यौँ, अब पैसामात्रै बाँडेर होइन, विकासका आयामहरु बाँडेर दिगो विकासका लागि अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

स्थानीयस्तरका राजनीतिक दल, सामाजिक कार्यकर्ता मिलेरमात्रै समृद्ध समाज निर्माण गर्न सकिने उहाँले धारणा राख्नुभयो । “स्थानीय सरकार बलियो बनाउन मैले जिन्दगीभर लड्दै आएँ”, उहाँले भन्नुभयो, “त्यसकारण पनि सिंहदरबारमा बसेर गाउँको विकास गर्नुहुँदैन भन्ने मान्यतामा म दृढ छु ।” सिंहदरबारमा बसेर गाँउको विकास गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको उहाँको भनाइ थियो ।

कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्