मापदण्डविपरित सडक निर्माण गरिएको भन्दै सडक कार्यालयमा धर्ना



सरोज यादव, इटहरी ।

रानी–विराटनगर–इटहरी–धरान सडकको इटहरी खण्डमा मापदण्ड भन्दा साँघुरो सडक बनाएको भन्दै विरोधमा उत्रिएको संघर्ष समितिले सो सडक योजनाको कार्यालयमा धर्ना दिएको छ ।

इटहरीको आइतबारेमा रहेको रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालयमा पुगेका संघर्ष समितिका अभियन्ताहरुले कार्यालयको गेटमा एक घण्टा धर्ना दिएका हुन् । सडकको बीचबाट दुवतर्फ ८२ फुट कायम गरेर सडक बनाउनु पर्नेमा ६५ फुट मात्र कायम गरेर नाला निर्माण गर्न थालेपछि अभियन्ताहरु आन्दोलित भएका हुन् ।

यस विषयमा इटहरी उपमहानगरपालिका लगायतका सरोकारवाला निकायलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएकाले आज धर्नाको कार्यक्रम गरिएको संघर्ष समितिका संयोजक मदन चुडालले जानकारी दिनुभयो ।

उहाँले सरोकारवाला निकायले यस विषयमा अझै पनि चासो नदेखाएमा योजनाको कार्यालयमा तालान्दी गर्ने चेतावनी दिनुभयो । यता रानी विराटनगर इटहरी धरान सडक योजनाका इञ्जिनियर गौतमकुमार देवले भने सडक ८५ फुट कार्यम गर्नुपर्ने भएपनि नाला भने ६५ फुटमा नै बनाउनु पर्ने भएकाले पहिलो चरण अन्तरगत नाला निर्माणको काम अघि बढाइएको जानकारी दिनभुयो ।

उहाँले सुरुमै ८५ फिट खाली गराउँदा अघि बढ्दै गरेको काम समेत रोकिने भएकाले पहिलो चरणको काम सकेपछि ८५ फुट नै खाली गराएर काम गर्ने बताउनुभयो ।

रानी–विराटनगर–इटहरी–धरान सडकलाई सिक्स लेन बनाउनका लागि विभिन्न खण्डमा काम भइरहँदा इटहरीको मुख्य चौक क्षेत्रमा विवादका कारण रोएिको थियो । मुख्य बजार क्षेत्रमा रहेका धेरै घरहरु भत्कने भन्दै स्थानीयले विरोध जनाएपछि काम हुन सकिरहेको थिएन । अन्ततः दुवैतर्फ गरि ६५ फुट सडक क्षेत्र कायम गरेर काम शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्