भक्तपुर र धुलिखेलमा चाईल्ड प्रोटेक्सन, रिकगनिशन एण्ड रेसपोन्स् तालिम



न्युज अफ नेपाल, काठमाडौं ।

भक्तपुर र धुलिखेल अस्पतालका वाल रोग सम्बन्धि चिकित्सक र नर्सहरुको लागि एक दिने सिपिआरआर तालिम सम्पन्न भएको छ ।

नेपाल पेडियाट्रीक सोसाईटी (नेपास) र पेडियाट्रीक नसिङ्गएसोसियसन (पिनान) को आयोजना भक्तपुर र धुलिखेलको दुई अस्पतालका बाल विभागमा कार्यरत वाल रोग सम्बन्धि चिकित्सक र नर्सहरुको लागि एक दिने चाईल्ड प्रोटेक्सन, रिकगनिशन एण्ड रेसपोन्स् (सिपिआरआर) तालिम सम्पन्न भएको हो ।

सो द चाइल्ड मे लिभ यूके र हेल्थ एक्सचेन्ज नेपाल यूके को सहयोगमा भक्तपुर स्थित सिद्धि स्मृति बाल तथा महिला अस्पताल र काठमाडौं विश्वविद्यालयको शिक्षण अस्पताल धुलिखेलमा उक्त तालिम दिइएको हो ।

भक्तपुरमा दिईएको तालिममा काठमाण्डौ, ललितपूर र भक्तपूरका विभिन्न अस्पतालमा कार्यरत २४ जना चिकित्सक तथा नर्सहरु सहभागि थिए ।

सो तालिममा नेपाल तथा संयूक्त अधिराज्य (यूके) मा कार्यरत चिकित्सक तथा नर्सहरु द्वारा सहजिकरण गरिएको थियो ।

काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालमा दिइएको तालिममा सो अस्पतालको बाल विभागमा कार्यरत चिकित्सक, नर्स तथा बाल स्वास्थ्य सम्बन्धि पोष्ट ग्राजुएट तहमा अध्ययनरत चिकित्सक तथा नर्सहरु गरि ३१ जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजिकरण गर्ने नेपाल पेडियाट्रीक सोसाईटीका चिकित्सक डा. रामहरि चाँपागाईले जानकारी दिएअनुसार एकदिने तालिममा सम्बन्धित डाक्टर तथा नर्सहरुलाई बाल अधिकार तथा बाल सरोकारका विभिन्न पक्षहरु, नेपालमा भएका विद्यमान कानुनहरु, वलवालिकामा हुने विभिन्न हिंसा, दुरब्यवहार तथा विभिन्न मानसिक तथा शारिरिक चोटपटक पत्ता लगाउने तरिका तथा सो को रोकथामको लागि नेपालको विद्यमान ब्यवस्थाको वारेमा जानकारी गराइएको थियो ।

यो तालिममा संयूक्त अधिराज्य (यूके) को अनुभव समेत आदान प्रदान भएको यूकेमा कार्यरत वालरोग विशेषज्ञ डा. जमुना आचार्यले बताउनुभयो ।

बाल अधिकारको विश्वब्यापि अवधारणा र विभिन्न अभिसन्धिहरुमा नेपालपक्ष रकेको तथा नेपालमा समेत विभिन्न सवैधानिक एवं कानुनी बन्दोवस्त भै सकेको परिप्रेक्षमा बालबालिकाको वृहत्तर संरक्षणको लागि वालवालिकामा समर्पित चिकित्सक तथा नर्सहरुको क्षमता अभिवृद्वि कार्यक्रमलाई सबै प्रदेशमा संचालन गर्न प्रयासरत रहेको नेपाल पेडियाट्रीक सोसाईटी (नेपास) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्