कांग्रेस र कम्युनिस्टको विकल्प देखिएन



नेपाल समाचारपत्र, काठमाडौं।

हालै सम्पन्न उपनिर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेस नेताको निवासमा एक छलफल कार्यक्रमको आयोजना गरिएको छ। छलफलमा हालै सम्पन्न उपनिर्वाचनमा जनताले दुई दलबाहेक अरुको विकल्प नखोजेको विषयमा गम्भीर छलफल भएको थियो।

कार्यक्रममा नरहरि आचार्यले हालै सम्पन्न निर्वाचनमा विगतमाझैँ गरी सहानुभूतिका भोट दिने परम्परा अझै कायम रहेको बताउनुभयो। यस पटक नेपाली कांग्रेसले कास्कीमा त्यागी र अनुभवी नेतालाई टिकट दिए पनि श्रीमानको मृत्युपछि श्रीमतीलाई नै नेकपाले टिकट दिएको कारण निर्वाचनमा कुनै फेरबदल नभएको धारणा राख्नुभएको थियो।

उहाँले जनता अझै अन्य दलको खोजीमा नरहेको पनि उपनिर्वाचनका क्रममा देखिएको र गत निर्वाचनमा नेकपाले जितेका स्थानमा कांग्रेस र कांग्रेसले जितेको ठाउँमा नेकपाले जित हात पार्नुले जनता दुवै दलसँग सन्तुष्ट नरहेको प्रमाणको रूपमा निर्वाचनलाई लिनुपर्ने बताउनुभयो।

२०४८ सालदेखिको नेकपाको गढमा कांग्रेसले विजय प्राप्त गर्नुले कुनै पनि दलले यो मेरो पकड क्षेत्र भनेर भन्नुको कुनै अर्थ नरहेको नेता आर्यचले बताउनुभयो। त्यसैगरी प्रदेश नम्बर ३ का कांग्रेसका प्रदेश सांसद भीमसेन खत्रीले उपनिर्वाचनलाई विभिन्न कोणबाट विश्लेषण गर्नुपर्ने बताउनुभयो।

संघीयताको बारेमा जनतामा बुझाउन नसक्दा यो व्यवस्थाप्रति नै वितृष्णा पैदा हुने खतरा बढेर गएको बताउँदै उहाँले भन्नुभयो– ‘जनतालाई दैनिकरूपमा पर्ने समस्यासमेत स्थानीय निकायले समाधान गरिदिनुपर्ने अवस्था देखिएको छ।’

उहाँले अधिकांश अधिकार संघमा केन्द्रित हुँदा प्रदेश र स्थानीय निकायले चाहेर पनि आफूले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो। पार्टीका जन संगठन भताभुंग अवस्थामा रहनुले पनि पार्टी कमजोर हुँदै गएको उहाँले बताउनुभयो।

काठमाडौं कांग्रेसका नेता श्रीविनोद भट्टराईले हिजो कांग्रेस विभाजनको अवस्थामा अपेक्षित नतिजा नआएको बताउनुभयो। यस पटक सम्पन्न उपचुनावमा कास्कीमा गएर नेताहरूले हामी एक छौं भन्ने सन्देश दिए पनि चुनावको परिणाम सोचेजस्तो नआउनुले पार्टीको अवस्था कहाँ छ भन्ने प्रस्ट गरेको बताउनुभयो।

उहाँले पहाडमा पार्टीले केही प्रगति गरे पनि तराईको अवस्था हेर्दा कांग्रेसले मधेश केन्द्रित अभियान नचलाउने हो भने अर्को चुनावमा कांग्रेसका लागि सजिलो अवस्था पटक्कै देखिँदैन त्यसैले मधेशमा पार्टीको अवस्था मजबुत नबनाएसम्म कांग्रेसले सरकारमा सहभागिता जनाउने अवस्था नआउने बताउनुभयो।

काठमाडौं कांग्रेसका पुराना नेता गौरीप्रसाद दवाडीले जनताले रुचाइएका नेतालाई स्थानीय तहमा नउठाएसम्म चुनाव जित्न नसकिने अवस्था रहेको हालै सम्पन्न निर्वाचनले देखाएको बताउनुभयो।

काठमाडौं कांग्रेसका नेता श्यामबहादुर खड्काले यो उपचुनावमा विगतमा हामी हारेको कारणले पनि जनताले हामीलाई यसपटक कसरी मूल्यांकन गरे भनेर हेनुपर्ने अवस्था रहेको बताउनुभयो।

काठमाडौं निर्वाचन क्षेत्र नं.४ प्रदेश ‘ख’ उम्मेदवार साधुराम खड्काले भन्नुभयो– ‘हामी उपचुनावको समीक्षा गर्दैछौं। यतिखेरको परिस्थितिमा जनता सरकारको विपक्षमा थिए। त्यस्तो अवस्थामा पनि हामीले संख्या धेरै बढाउन सकेनौं। हाम्रो नेपाली समाज भावनामा बग्ने र दुई चार महिनामा बिर्सने खालको छ।’

नेपाली कांग्रेस काठमाडौंका सदस्य रामचन्द्र घिमिरेले यो उपचुनावमा प्रतिनिधिसभाको प्रभाव बढी देखिएको बताउँदै चुनावका दौरानमा नेपाली कांग्रेसको पक्षमा राम्रो कुरा सुनिएको थियो तर परिणाम भने विपरीत आउनुको कारण खोज्नु पर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्