नेपालको १३ वर्षे साग फुटबल इतिहासः कति सफल, कति असफल ?



न्युज अफ नेपाल, काठमाडौं ।

सन् १९८४ मा नेपालबाटै सुरु गरिएको सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो । त्यसपछि सागको ३५ वर्षे इतिहासमा नेपालले थप दुई पटक स्वर्ण जितेको छ । यसबीचमा पाकिस्तानले सर्वाधिक चार पटक साग फुटबलमा स्वर्ण जितेको छ ।

सन् २०१६ मा भारतमा भएको पछिल्लो संस्करणमा भने पाकिस्तानले सहभागिता जनाएन । यस पटक पनि पाकिस्तानले खेलेन । नेपालमै भइरहेको १३ औं साग फुटबलमा स्वर्णपदक जितेर पाकिस्तानको कीर्तिमान बराबरी पुर्‍याउने अवसर नेपाललाई छ । नेपालले सन् १९९३ र सन् २०१६ मा पनि फुटबलमा स्वर्ण जितेको थियो ।

पाकिस्तानसँगै अन्तिम समयमा भारत पनि नआएपछि यस पटक राउण्ड रोविनका आधारमा फुटबलका खेलहरु भएका थिए । जसमा नेपाल र भुटान लिगको पहिलो, दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । नेपाल लिगमा अपराजित थियो भने भुटानले नेपालसँग मात्र हारेको थियो ।

यस पटक भुटानको खेलबाट सबै प्रभावित भएका छन् । भुटानले फाइनल यात्रा तय गर्दै रजतपदक पक्का गरिसकेपछि प्रधानमन्त्रीले समेत यो अपेक्षाभन्दा बढी भएको भन्दै ट्विट गरेका थिए । यसक्रममा भुटानले बंगलादेश माल्दिभ्स र श्रीलकाजस्ता टोलीलाई हराएको हो । नेपालसँग भने ४–० ले पराजित भएको थियो । भुटानको चाहना फाइनलमा नेपाल नपरोस् भन्ने थियो । तर घरेलु टोली नेपाल अपराजित रहेर फाइनल पुग्यो अन्तिम खेलमा बंगलादेशलाई हराउँदै । उक्त खेल जितेको भए बंगलादेश फाइनल पुग्ने थियो । समूह चरणको नतिजा र घरेलु मैदान र दर्शकको फाइदा नेपाललाई फाइनलमा हुनेछ ।

त्यसैले यस पटक फुटबलमा स्वर्ण जित्ने सबैको अपेक्षा छ । २० वर्षअघि रंगशालमा भएकै आठौं सागको फाइनलमा नेपाल पराजित हुँदा खेलाडी रहेका वालगोपाल महर्जन नै अहिले टिमका प्रशिक्षक छन् । उनले फाइनल पुगेपछि अपराजित रहेर स्वर्ण जित्ने प्रतिक्रिया दिएका थिए ।

यस्तै, पाकिस्तान र भारतपछि नेपाललाई पनि सागमा लगातार दुई स्वर्ण जित्ने अवसर छ । भारतले सन् १९८५ को दोस्रो र सन् १९८७ को तेस्रो सागमा स्वर्ण जितेको थियो । पाकिस्तानले १९८९ को चौथो र १९९१ को पाँचौं संस्करण जितेको थियो । पाकिस्तानले सन् २००४ को नवौं र सन् २००६ को दशौं संस्करण पनि लगातार स्वर्ण जितेको थियो ।

पाकिस्तानले सर्वाधिक ४ स्वर्ण जित्दा नेपाल र भारतले समान ३ स्वर्ण जितेका छन् । यस पटक स्वर्ण जितेमा नेपालले पाकिस्तानको कीर्तिमान बराबरी गर्नेछ ।

भुटान भने पहिलो पटक साग फुटबलको फाइनल पुगेको हो । नेपाललाई हराउन सके भुटानले ऐतिहासिक स्वर्ण जित्नेछ । यस्तै, श्रीलंका र माल्दिभ्सले पनि अहिलेसम्म स्वर्ण जित्न सकेका छैनन् ।
अहिलेसम्म साग फुटबलमा स्वर्ण जित्ने टिम

१९८४– नेपाल
१९८५ – भारत
१९८७ – भारत
१९८९ – पाकिस्तान
१९९१ – पाकिस्तान
१९९३ – नेपाल
१९९५ – भारत
१९९९ – बंगलादेश
२००४ – पाकिस्तान यू(२३
२००६ – पाकिस्तान यू(२३
२०१० – बंगलादेश यू(२३
२०१६ – नेपाल यू(२३

प्रतिक्रिया दिनुहोस्